म्याच फिक्सिङमा संलग्न पाँच नेपाली फुटबलर आजीवन प्रतिबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : पैसा लिएर म्याच फिक्सिङ गरेको अभियोग लागेका पाँचजना नेपाली फुटबलरलार्इ एसियाली फुटबल महासंघले आजीवन प‍्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

एसियाली फुटबल महासंघको अनुशासन समितिले शुक्रबार नेपाली फुटबलरहरुमाथि आजीवन प्रतिबन्ध लगाउने निर्णय सार्वनजिक गरेको हो ।


एएफसीले जारी गरेको विज्ञप्तीमा नेपाली फुटबलर अन्जन केसीसहितका खेलाडीहरु सन् २००८ देखि सन् २०१२ सम्ममा भएका दर्जनबढी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने क्रममा म्याच फिक्सिङमा संलग्न भएको प्रमाणित भएकाले प्रतिबन्ध लगाइएको उल्लेख छ ।

एएफसीले म्याच फिक्सिङमा संलग्न भएको प्रमाणित गर्दै ताजकस्तानका रेफ्री मुर्ताजोएभ पार्भिजलार्इ पनि आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

'अनुशासन समितिबाट एक अफिसियलसहित चार नेपाली खेलाडीलार्इ म्याच फिक्सिङ गरेको पुष्टि भएपछि फुटबल गतिविधिमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरिएको छ', विज्ञप्तीमा भनिएको छ, 'नेपाली अफिसियल अन्जन केसीसहित नेपाली राष्ट्रिय टिमका खेलाडीहरु सन् २००८ देखि २०१२ सम्म भएका मैत्रीपूर्ण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका क्रममा विकास सिंह क्षेत्री, सन्दीप रार्इ, रितेश थापा र सागर थापा एएफसीको आचारसंहिता नम्बर ६० र ६९ अनुसार दोषी पाइएका छन् ।'

पाँचै खेलाडीहरुमाथि यसअघि अक्टोबर १६ मै अस्थायी प्रकृतिको प्रतिबन्ध लगाइसकेको थियो । एएफसीका अनुसार यो आजीवन प्रतिबन्ध नेपालस्थित महानगरीय अपराध महाशाखा र एसएफसीको समन्वयमा एक वर्षसम्म चलेको अनुसन्धानपछि लगाइएको हो ।

विश्व फुटबल महासंघ फिफाले पछिल्लो समय भ्रष्टाचार र खेल मिलेमतो प्रकरणलार्इ कडाइकासाथ अनुसन्धान अघि बढाएर कारबाही थाल्ने क्रममा नेपाली खेलाडीहरु पनि प्रतिबन्धमा परेका हुन् । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z