टर्किस जहाजका यात्रु भन्छन्, ‘मरिसकेका थियौं तर बाच्यौं’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पाइलटले भगवान बनेर हामीलाई बचाए
काठमाडौं : टर्किस एयरलाइन्सको जहाज स्पेनको बार्सिलोनबाट अधिकांश युरोपियन पर्यटक बोकेर उडेको थियो । जहाजमा मसहित करिब १५ जना नेपाली यात्रुहरु पनि थियौं ।

बार्सिलोनाबाट उडेको टर्किस एयरको एयर बस ए ३३० स्तानबुल एयरपोर्टमा तीन घण्टामा अवतरण गरेको थियो । त्यहाँ हामीलाई चार घण्टासम्म ट्रान्जिटमा राखेर मध्यरातमा नेपालका लागि उडाइएको थियो ।

टिएचवाई ७२६ नम्बरको उडानबाट हामीलाई बुधबार बिहान ६ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गराउने सन्देश दिइएको थियो । स्तानबुलबाट उडेको जहाजमा म सँगै अर्का नेपाली यात्रु बस्नुभएको थियो । स्तानबुलबाट जहाज उडेपछि हामी बिहानै घर पुग्ने खुसीले रमाएका थियौं ।


जहाजको सिस्टमले तोकिएको समयभन्दा चाँडो ६ बजेर २५ मिनेटमै अवतरण हुने सन्देश दिएपछि चाँडै घर पुग्ने खुसीमा थियौं । बिहानै घर पुग्ने खुसीमा रमाएका हामीले यो दुर्घटनाको सामना गर्नुपर्ला भन्ने सोचेका पनि थिएनौं ।

जहाज काठमाडौं पस्नै लाग्दा उचाईमै थियो । काठमाडौं छिरिसकेपछि जहाज उचाईमै रहेका बेला पाइलटले सात पटकसम्म घुमाए । जहाज काठमाडौंको आकाशमा घुमिरहँदा एयर होस्टेसले त्रिभुवन विमानस्थलकोभिजिबिलिटी कम भएकाले अवतरण गर्न समस्या भएको जानकारी गराइन् ।

जहाज उचाईंमै रहँदा एक्कासी त्रिभुवन विमानस्थलको धावनमार्ग खुल्यो । धावनमार्ग खुलेपछि पाइलटले तत्कालै जहाज अवतरण गराउने निर्णय लिएर जहाजलाई त्रिभुवन विमानस्थलतर्फ अघि बढाए ।

पाइलटले जहाज अवतरण गर्न लागेको सन्देश दिएपछि पुनः एक्कासी त्रिभुवन विमानस्थलमा हुस्सुले छोप्यो । हुस्सुले धावनमार्ग ढाकिएपछि पाइलटले अवतरण हुन लागेको जहाजलाई तत्कालै ओभर सुट गराएर उचाईमा पुर्‍याए ।

ओभर सुट गरेर जहाजलाई आकाशमा लगेपछि पुनः विमानस्थलको हुस्सु हटेर धावनमार्ग खुल्यो । धावनमार्ग खुलेको मौकामा पुनः पाइलटले जहाजलाई ल्यान्ड गराउने सन्देश दिए । ल्यान्ड गराउने क्रममा धावनमार्गमा जहाज पसिसक्दा पुनः करिब १० सेकेन्ड धावनमार्ग हुस्सुले ढाकेर अध्याँरो भयो । जहाज धावनमार्गमा पसेपछि हामी ढुक्क भएका थियौं ।

जहाज सामान्यरुपमा अवतरण नभएको खबर पाएर एयरहोस्टेस आत्तिएको देखेपछि हामीसमेत आत्तिन पुग्यौं । एयरहोस्टेस आत्तिँदै रोइरहेकी थिइन् । एयरहोस्टेस रुन थालेपछि यात्रुमा समेत कोकोहोलो मच्चियो । अवतरणका क्रममा टायर खुलेको आवाज सुनेपनि जहाज धावनमार्ग बाहिर गएको थाहा पाएपछि सबै यात्रुमा खैलाबैला मच्चियो ।

झ्यालबाट चिहाउँदा जहाज घाँसै मैदानमा लड्खडिँदै गरेको देखेपछि यात्रुबीच रुवाबासी शुरु भयो । म जहाजको एक्जिटर नजिकै बसेको थिएँ । मेरो नजिकै बसेकी एयर होस्टेस आत्तिएपछि यात्रुहरु ढोका खोल्न भन्दै चिच्याउन थाले ।

तर, पाइलटले भने जहाजलाई केही नभएको भन्दै अझै यात्रुलाई आश्वस्त बनाइरहेका थिए । जहाज घाँसे मैदानमा जोतिएको १० मिनेटसम्म पाइलटले यात्रुलाई सिटमै बस्न आग्रह गरे । पाइलटले बस्न भनेलगत्तै जहाजमा धुवाँ आउन शुरु भएकाले श्वास फेर्न समस्या भएकाले यात्रुलाई श्वास फेर्न समस्या भयो । त्यसपछि मात्र इमरजेन्सी ढोका खोलियो ।

पाइलटले हेन्डक्यारी सिटमै छोडेर आफूमात्रै निस्कन भनेपछि जहाजका ५÷६ वटा इमरजेन्सी ढोकाबाट पालैपालो बाहिर निस्क्यौं । जहाजमा आगो लाग्न शुरु भइसकेको अवस्थामा अधिकांश यात्रुले होसहवास गुमाइसकेका थिए ।

धावनमार्गमा गएको भए जहाजमा ठूलो आगो लाग्ने थियो । घाँसे मैदानमा लगेकाले हाम्रो ज्यान जोगियो । केही मिटर परको आयल निगमको तेल भरिएको ट्ंयाकीमै जहाज ठोक्किएको भए त्यसले हुने दुर्घटनाको कल्पना पनि गर्न सक्दिनँ ।

हामीलाई बचाउन पाइलटले भगवानको रुप लिए जस्तो लाग्छ । एयरहोस्टेस जस्तै पाइलटले पनि आत्तिएर जहाजको नियन्त्रण गुमाएको हामी कोही पनि जीवित रहँदैन थियौं । हाम्रो ज्यान जोगिनुमा भाग्यको भन्दा पाइलटको बहादुरी ठूलो छ । मरिसकेका हामीले पुर्नजन्म पायौं, हामीलाई बचाउने पाइलट भगवानकै अर्का रुप हुन् ।

अहिले म घरैमा आराम गरेर बसिरहेको छु । मलाई अहिले लाग्छ जहाजमा तेल पनि सकिन लागेको अवस्थामा पाइलटसँग जहाजालाई त्रिभुवनमा विमानस्थलमा अवतरण गराउने बाहेक अर्को विकल्प थिएन ।

यहाँबाट अन्यत्र लैजाँदा नजिक भनेको भारतको कुनै विमानस्थल थियो । जहाजमा टायर नखुलेको या मौसमको समस्याबारे म केही भन्न सक्दिनँ । तर जहाजलाई ठूलो दुर्घटनाबाट कुशलता देखाएर पाइलटले भगवनकै रुप लिए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z