सगरमाथा ५० वर्षयताकै तातो , ७० देखि ८० वर्षमा हिमनदी सबै बिलाउने अनुमान
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: विश्‍वकै सर्वोच्च चुचुरो सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ।चिनियाँ वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन्।


चाइनिज एकेडमी अफ साइन्स र हुनान विज्ञान तथा प्रविधि विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हिमनदी साँघुरिँदा तिब्बततर्फ बग्ने नदीनालासमेत संकटमा पर्नसक्ने देखिएको छ। तापक्रम मापन यन्त्रले उपलब्ध गराएका तथ्यांक विश्लेषण गरी यस्तो तथ्य सार्वजनिक गरिएको वैज्ञानिकहरूले बताएका छन्।

सगरमाथावरिपरिको क्षेत्रमा भने तुलनात्मक रूपमा वातावरणीय अवस्था सुध्रिएको वैज्ञानिकहरूको निष्कर्ष छ। 'वरिपरि हरियाली बढेको छ र पारिस्थितिक प्रणालीमा सुधार आएको छ', वैज्ञानिकहरूले भनेका छन्। विश्वमा बढिरहेको तापक्रमको असर सीधा हिमाली क्षेत्रमा परेकाले उच्च हिमाली भेगसमेत तातिन थालेको उनीहरूको निष्कर्ष छ।

सगरमाथा क्षेत्रमा अरू विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले पनि हिउँ पग्लिने र हिमनदी साँघुरिने क्रम बढ्दै गएको प्रतिवदेन सार्वजनिक गरेका छन्। युरोपेली, जापानी र अमेरिकी वैज्ञानिकहरूले हालै गरेको संयुक्त अध्ययनले आगामी ७० देखि ८० वर्षमा सगरमाथाका हिमनदी सबै बिलाउने अनुमान गरेको छ।

विश्वव्यापी रूपमा उत्सर्जन भइरहेको हरित गृह ग्यासका कारण सगरमाथालगायतको तापक्रम तथा हिउँ पग्लिने क्रम बढेको हो। भारत र चीनबाट उत्सर्जन हुने ब्ल्याक कार्बन तथा कार्बनडाइअक्साइडका कारण पनि सगरमाथाको हिउँ विश्वमै सबैभन्दा छिटो पग्लिरहेको वैज्ञानिकहरूको निष्कर्ष छ।
आगामी ७० देखि ८० वर्षमा सगरमाथाका हिमनदी सबै बिलाउने अनुमान गरिएको छ।
चिनियाँ प्रतिवेदनमा उल्लेख छ, 'मानवीय गतिविधिका कारण उत्सर्जन भइरहेको कार्बन नै सगरमाथामा हिउँ पग्लिनुको मुख्य कारण हो।' हाल फ्रान्सको राजधानी पेरिसमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेनल (कोप २१) मा पनि सबैभन्दा चर्को छलफलको विषय भनेकै तापक्रमको वृद्धिदर घटाउनु हो।

तापक्रमको वृद्धिदर घटाउन सके वातावरणीय प्रणाली बचाउन सकिने वैज्ञानिकहरूको निष्कर्ष छ। हाल पेरिसमा विश्वको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्न दिन नहुनेमा अधिकांशको जोड छ। सगरमाथालगायत हिमालको हिउँ पग्लिने क्रम बढेको विषय नेपाललगायत हिमाल भएका देशले पेरिसमा उठाइरहेका छन्।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z