कांग्रेस-एमाले बैठकको निष्कर्ष: 'सोझै मतदान'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : सत्तासीन कांग्रेस-एमाले संविधानसभामा प्रस्तुत संवाद समितिको प्रतिवेदनमा समेटिएका प्रस्तावलाई सीधै मतदानमा लैजाने निर्णय गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान र साँझ बसेको कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक एमाओवादीलगायत दलसँग सहमति सम्भावना नभएको भन्दै संवाद समितिमा समेटिएका प्रस्तावमा मतदानबाट निर्णय गरेर अघि बढ्ने निष्कर्षमा पुगेको हो।


'संवाद समितिले जस्ताको तस्तै पठाएको प्रतिवेदनमा आएका सबै प्रस्ताव संविधानसभामा निर्णयार्थ पेस गनुपर्ने बैठकको निर्णय हो', कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले अन्नपूर्णसँग भने, 'यस विषयमा संविधानसभा अध्यक्षसँग पनि परामर्श गर्ने सहमति भएको छ।'

नियमावलीअनुसार संविधान निर्माण प्रक्रिया अघि बढाउँदा लामो समय लाग्ने भएकाले उनीहरूले संवाद समितिका सबै प्रस्ताव संविधानसभामा निर्णयार्थ पेस गर्न अध्यक्ष सुवास नेम्बाङलाई अनुरोध गर्ने भएका छन्।

'यस विषयमा संविधानसभा अध्यक्षसँग पनि परामर्श गर्नेछौं', खड्काले भने। संविधानसभाले बहुमतबाट निर्णय भएको प्रतिवेदनलाई संविधान मस्यौदा समितिमा पेस गर्नसक्ने उनीहरूको तर्क छ।

बैठकमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संवाद समितिमा आएका सबै प्रस्ताव निर्णयार्थ पेस गरेर बहुमतबाट पारित भएको प्रस्ताव मस्यौदा समितिमा पठाए माघ ८ मै संविधानको मस्यौदा ल्याउन सकिने धारणा राखे।

नियमावलीमा संवाद समितिले पेस गरेको प्रश्नावली नबनाइएको प्रतिवेदन कसरी अघि बढाउने भन्ने प्रस्ट छैन। सभाध्यक्ष नेम्बाङले भने संवाद समितिको प्रतिवेदनमा प्रश्नावली समिति गठन गर्ने तयारी गरेका छन्।

उनले बुधबार कांग्रेस, एमाले, एमाओवादीलगायतका दलका मुख्य सचेतकसँग प्रश्नावली समिति गठन विषयमा परामर्श गरे।

कांग्रेस-एमाले बैठकमा संविधानसभा प्रक्रियामा अघि बढे पनि सहमतिको प्रयास जारी राख्ने सहमति भएको छ। उनीहरूले कांग्रेस-एमालेलगायतले संवाद समितिमा पेस गरेको सात प्रदेशसहितको प्रतिवेदन भने साना दलहरूको मागअनुसार संशोधन गर्ने भएका छन्।

'साना दलहरूको मागअनुसार निर्वाचन प्रणालीमा समानुपातिक २० देखि २५ प्रतिशतसम्म राख्न हामी लचक छौं', बैठकमा सहभागी कांग्रेस मुख्यसचेतक चीनकाजी श्रेष्ठले भने, 'संविधानसभामा निर्णयार्थ पेस हुने प्रस्तावमा सबैको धारणा समेट्ने गरी संशोधन गर्ने सहमति भएको छ।'

दुई दलले प्रस्तावमा थपघट र फेरबदलका लागि साना दलका साथै मधेस केन्द्रित दलहरूसँग पनि छलफल गर्ने छन्। बैठकले एमाओवादी नेतृत्वको ३० दलिय मोर्चालाई आन्दोलनका कार्यक्रम तत्काल स्थगित गरेर वार्ता र सहमतिका साथै विधि र प्रक्रियाअनुसार संविधान निर्माणमा सहभागी हुन आग्रह गरेको छ।

'एमाओवादीलगायत आन्दोलनरत दललाई तत्काल आन्दोलनका कार्यक्रम स्थगित गर्न बैठकले आग्रह गरेको छ', खड्काले भने। संवाद समितिका प्रस्ताव सीधै मतदानमा लैजान सक्ने नियमावलीमा व्यवस्था भएकाले सोहीअनुसार अघि बढ्ने निर्णयमा कांग्रेस-एमाले पुगेको एमाले मु य सचेतक अग्नि खरेलले बताए। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z