अब महिलालाई छुट्टै बस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : सार्वजनिक बसमा पुरुषसँगै यात्रा गर्दा महिलामाथि दुर्व्‍यवहार भएको समाचार सार्वजनिक भइरहेका बेला उनीहरूका लागि अब छुट्टै बस सेवा सञ्चालन हुने भएको छ। यही पुस २० गतेदेखि बागमती यातायात व्यवसायी संघले महिलाका लागिमात्र बस सञ्चालन गर्ने भएको हो।

संघले काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोट चल्ने आफ्ना गाडीमध्ये चारवटा महिलाका लागि मात्रै चलाउने निर्णय गरेको छ। अहिले १४ किलोमिटर लामो यो रुटमा संघका १७ सिटका ४० वटा बस चल्छन्।


संघका अध्यक्ष भरत नेपालका अनुसार महिलाका लागिमात्र चलाइने बसका चालक हाललाई पुरुष भए पनि सहचालक केही महिला रहनेछन्। उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा पछिल्लो समयमा आएर महिलाका लागि केही सिट छुट्ट्याइए पनि त्यो प्रभावकारी र पर्याप्त छैन।

कोचाकोच बसमा पुरुषसँगै यात्रा गर्नुपर्दा महिलाले दुव्र्यवहार र कठिनाइ भोग्नु परेको छ। यिनै समस्याबाट महिलालाई राहत दिलाउन उनीहरूका लागिमात्र बस चलाउन लागिएको नेपालले प्रस्ट पारे।

राज्यले मात्र नभई व्यवसायीले पनि दायित्वबोध गर्दै राम्रा कामको सुरुआत गर्नुपर्छ भन्ने मान्यताका साथ संघले महिलाका लागिमात्र बस सेवा सञ्चालन गर्न लागेको उनले बताए। आफूहरूले जस्तै अन्य सबै समितिले छुट्टै बस चलाइदिए महिला यात्रीले अझै राहत पाउने उनको धारणा छ। संघले ४२ सिटका बस पनि थप्ने तयारी गरिरहेको छ।

राष्ट्रिय यातायात व्यवसायी महासंघले बागमती यातायात व्यवसायी संघको यो निर्णयलाई सकारात्मक रूपमा लिएको छ। महिलालाई लक्षित गर्दै बस चलाउनु राम्रो पक्ष भए पनि कति महिलाले यो सेवा लिन्छन् र टिकाउ हुन्छ कि हुँदैन भन्नेबारेमा सोच्नुपर्ने महासंघका महासचिव सरोज सिटौलाले बताए।

यो सेवालाई निरन्तरता दिन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ। महिला अधिकारकर्मी शर्मिला कार्कीले महिलाका लागिमात्र बस सञ्चालन गर्ने निर्णय सकारात्मक भएको बताइन्। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z