मलेसियामा बेचिन्छन् नेपाली
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
क्वालालम्पुर : नेपालको गाउँबाट काम गर्न मलेसिया पुगेको युवाले देश र परदेशमा गरी कम्तीमा ६ ठाउँ दलालको सिकार बन्नुपर्छ।

गाउँमा कामदार संकलन गर्ने, काठमाडौंमा मेनपावरसँग सम्पर्क गराइदिने र मेनपावर कम्पनीको सिकार बन्ने नेपाली कामदार मलेसियामा स्थानीय एजेन्ट, काम दिने कम्पनी र भिसा थप गर्ने एजेन्ट गरी अर्को तीन ठाउँमा किनबेच हुन्छन्।


मलेसियामा आफ्नो श्रममात्र बेचेर पुग्दैन यी कामदारले, एजेन्टको इसारामा एउटाबाट अर्को कम्पनीमा बेचिनुपर्छ। विद्रोहको मसिनो आवाजमात्रै निकाल्न खोजे अध्यागमन कानुनमा सोझै जेलको छिँडी। बँधुवा मजदुरजस्तो जीवन बिताइरहेका छन् मलेसियामा लाखौं नेपाली युवा।

मलेसियामा कैदी जीवन बिताइरहेका अधिकांश नेपाली अध्यागमन कानुन उल्लंघन गरेको आरोप खेपिरहेका छन्। आफू काम गरेको क पनीमार्फत सरकारलाई मासिक १५४ रिंगिट लेबी तिरे पनि कम्पनीले नक्कली भिसा स्टिकर लगाइदिँदा धेरै नेपाली जेल परेका छन्। प्रहरीले पक्राउ गरेपछि बल्ल थाहा हुन्छ, आफ्नो पासपोर्टमा लागेको भिसा नक्कली हो।

रेस्टुराँमा काम गर्न पुगेका झापा गोलधापका राजीव गुरुङले सरकारलाई नियमित लेबी बुझाइरहेकै थिए। तर उनको भिसा नक्कली रहेछ। 'चिनियाँ एजेन्टले भिसा थप गर्न रकम लगेको थियो, तर सबै नक्कली रहेछ, पक्राउ गरेपछि थाहा पाएँ', लिंगिङ थुनुवाघरमा उनले बिलौना पोखे।

पाल्पाका शेरबहादुर बारघरेलाई नेपाली क पनीले भनेको थियो, एयरपोर्टमा कागज नदेखाउनू, एजेन्टलाई दिनू। एक लाख १० हजार तिरेर मलेसिया पुगेका उनको खर्च उठ्नु त परै जाओस्, कमाएको १२ सय रिंगिट पनि दलालले भिसाका लागि चप्काइदियो। नक्कली भिसा आरोपमा उनी थुनिए।

सुनसरीका महेश साह काम छाडेर घर फर्किने भएपछि एयरपोर्टमा विमान चढ्नुअघि पक्राउ परे नक्कली भिसाकै आरोपमा। सबै आवश्यक शुल्क तिरेर कम्पनीमार्फत लागेको उनको भिसा नक्कली नै रहेछ। झापा बैगुनधराका राजकुमार सापकोटा पनि नक्कली भिसाकै कारण थुनिए। एकदुईको मात्र होइन, मलेसिया पुगेका सयौं नेपालीको समग्र पीडाको प्रतिनिधि कथा हुन् यी।

सबैभन्दा बढी नेपाली श्रमिक काम गर्ने मलेसियामा यसै वर्षमात्र दुई लाख युवा थपिएका छन्। करिब १० लाख नेपाली युवाले मलेसियामा श्रम बेचिरहेका छन्। संसारभर भएका नेपालका ३५ वटा कूटनीतिक नियोगमध्ये मलेसियाको नेपाली दूतावासले यो वर्षमात्र ६० करोड राजस्व संकलन गर्ने भएको छ।

नेपाली राजदूत डा.निरञ्जनमानसिंह बस्न्यात यस्ता ठगीबारे मलेसिया सरकारलाई जानकारी गराएको र आइन्दा श्रम स्वीकृति नदिने नीति बनाएको बताउँछन्।

यसबारे दूतावासले थुप्रै पत्र लेखेर नेपाल सरकारलाई जानकारी पनि गराएको छ। तर परिणाम शून्य। अर्को मुलुकमा श्रम गरेर देशलाई रेमिटेन्स पठाइरहेका आफ्ना युवामाथि दिनहुँजसो भइरहेका ठगीका घटना नियन्त्रण गर्न सरकारले कुनै कदम चालेको छैन।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z