यादव, महतोलाई इटहरी प्रवेशमा रोक ! आक्रोशितले सद्भावनाको झन्डा जलाए (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सुनसरी, मंसिर ११ । मधेसी मोर्चाले सुनसरीको इटहरीमा शुक्रबार गर्ने भनिएको आमसभालाई स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

इटहरीको पश्चिम लाइनमा मोर्चाले कार्यक्रम गर्न बनाएको मन्चमा स्थानीयले पेट्रोल छर्किएर आगो लगाइदिएका हुन् ।

मान्छेलाई जिउँदै जलाउने र राष्ट्रिय अस्मितामाथि धावा बोल्नेहरुलाई कार्यक्रम गर्न नदिने भन्दै स्थानीय युवाहरुले मधेसी मोर्चाको कार्यक्रम बिथोलिदिएका हुन् । उनीहरुले मधेसी मोर्चाका कार्यकर्तालाई इटहरीमा प्रवेश गर्न नदिने बताएका छन् ।

स्थानीयको अवरोधपछि कार्यक्रमलाई सम्बोधन गर्न जाने भनिएका संघीय समाजवादी फोरमका उपेन्द्र यादव, सद्भावना पार्टीका राजेन्द्र महतो इटहरी जान सकेनन् । सुनसरी उपेन्द्र यादवको गृह जिल्ला पनि हो ।

प्रहरीको कडा सुरक्षा घेराबीच मधेसी मोर्चाका स्थानीय नेताहरुले कोणसभा गरेर कार्यक्रम सम्पन्न गरेका थिए ।

स्थानीय बासिन्दाले मोर्चाको कार्यक्रम बिथोली मन्चमा तोडफोड र आगजनी गरेपछि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक ओम अधिकारीको नेतृत्वमा घटना स्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

सुनसरी र मोरङबाट हजारौंको संख्यामा सर्वसाधारणहरु मोर्चाको कार्यक्रम बिथोल्न इटहरीमा भेला भएका थिए ।

आक्रोशित स्थानीय बासिन्दाले कार्यक्रम स्थलबाट सद्भावना पार्टीको झन्डासमेत सडकमा ल्याएर जलाइदिएका थिए । मधेसी मोर्चाको कार्यक्रम बिथोल्न इटहरीका सर्वसाधारणलाई उत्तरी मोङका बासिन्दालेसमेत साथ दिएका थिए । 
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z