पाँच सात दिनमै निकास आउँछ : भारतीय विदेशमन्त्री
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
इल्डर ब्रदर हौं, मानवीयता गुमाएका छैनौं
काठमाडौं : भारतीय विदेशमन्त्री सुस्मा स्वराजले तीन महिनायता नेपालमा देखिएको समस्या पाँच सात दिनमै समाधान हुने बताएकी छन् ।


भारतीय राज्यसभामा सोमबार भएको नेपालबारेको बहसमा सहभागी सांसद्हरुले उठाएको प्रश्नको जबाफ दिँदै विदेशमन्त्री स्वराजले नेपाली सत्तापक्ष र मधेसी दलबीच आफूहरुले सहमतिको वातावरण बनाएकाले पाँच सात दिनमै समस्याको समाधा हुने बताएकी हुन् ।

‘एक साताअघि आएका नेपालका परराष्ट्रमन्त्री कमल थापालाई राजनीतिक सहमतिबाट निकास निकाल्न भनेका छौं’, उनले भनिन्, ‘मधेसीलाई पनि वार्ताबाटै समाधान खोज भनेका छौं । राजनीतिक सहमतिको वातावरण बनाइसककोले र्इश्वरले चाहेमा पाँच सात दिनमै यसको हल निस्कन्छ ।’

उनले नेपालको समस्या समाधानका लागि नेपालमा संसदीय टोली पठाउन पनि आफूहरु तयार भएको बताइन् । ‘मधेसमा देखिएको समस्या हल हुनेबित्तिकै सीमानामा रोकिएका ट्रक पठाउँछु भनेका छौं’, उनले भनिन्, ‘यो समस्यामा संसदीय टोली नेपालमा पठाउन तयार छौं । अहिलेको समस्याको समाधन हुँदा मधेसीलाई न्याय मिलोस र जनतालाई पनि कष्टबाट राहत पाउन् ।’

‘बिग ब्रदर’ होइनौं ‘इल्डर ब्रदर’ हौं
सांसद्हरुको जबाफ दिने क्रममा विदेशमन्त्री स्वराजले भारतले कुनै पनि स्वतन्त्र देशमा हस्तक्षेप गर्न नचाहेको जिकिर गरिन् ।

उनले वैशाख १२ को भूकम्पको प्रसंग निकाल्दै नेपालमा भूकम्प गएको ६ घण्टामा भारत काठमाडौंमा उत्रेर भूकम्पपीडितहरुलाई तातो खाना खुवाएको भावनात्मक कुरा गरिन् ।

‘अंग्रेजीको गलत अनुवाद ‘इल्डर ब्रदर’ को स्वभाव थियो, विग ब्रदरको होइन’, उनले भनिन्, ‘हामीले भूकम्पपीडितलाई इल्डर ब्रदरको भूमिका खेलेर तातो खाना खुवायौं । दबाई दिएर घाइतेको उपचार ग¥यौं । जुन काम अरु कुनै देशले गनए सक्दैन थिए ।’

मानवीयता गुमाएका छैनौं, औषधि गइरहेको छ
विदेशमन्त्री स्वराजले सांसद्हरुले नेपालमा नाकाबन्दी गरेर लाखौं बालबालिका र वृद्धा वृद्धाको ज्यान लिन लागेको संगीन आरोप लगाएपछि आक्रोशित मुद्रामा प्रस्तुत भएकी स्वराजले आफूहरुले मानवीयता नगुमाएको जिकिर गरिन् ।

‘सीमानामा मधेसी मोर्चाको धर्नाले औषधि जान नसकेको अवस्थामा हामीले नेपालाई औषधि एयर लिफ्ट गर्न भनिसकेका छौं’, उनले भनिन्, ‘हामीलाई मानवीयता गुमाएका मानिस भनियो । एयर लिफ्ट गरेर लाने औषधिको लिस्ट माग्दा नेपालले दिएन । लिस्ट आएमा २४ घण्टामा दबाइ दिन्छौं भन्दा पनि नेपालले सुनेन ।’

नेपालमा औषधिको ट्रक जलाउँदा पनि आफूहरुले रि–रुट गरेर औषधिका ट्रक पठाइरहेको दाबी गर्दै स्वराजले सीमानमा अहिले पनि ११२०६ ट्रक खडा रहेका जानकारी दिइन् ।

मधेसी अघि बढ्द दिँदैनन्, हामी पछि हट्न दिन्नौ
नेपाली सीमामा मधेसीले नै अवरोध गरेकाले नाकाबन्दी भएको दाबी गर्दै उनले अहिले पनि नेपालमा अाैषधिका ४ सय ट्रक गइरहेको उल्लेख गरिन् ।

‘मधेसीको नाकाबन्दीले हाम्रो भूमिबाट ट्रक अघि बढ्न सक्दैनन् । मधेसीले नाकाबन्दी गरेका छन्’, उनको भनाइ थियो, ‘हामीले पनि पछि हट्न दिँदैनौ, यदि नाकाबन्दी खुल्यो भने तत्काल नेपाल पठाउन हामीले पछि आउन दिएका छैनौं ।’

सामान्य अवस्थामा दैनिक १५ सय ट्रक नेपाल जाने बताउँदै स्वराजले अहिले पनि नेपालमा दैनिक साढे ४ सय ट्रक गइरहेका दाबी गरिन् ।

‘पेट्रोल र दबाइवाला ट्रकलाई नेपाल जान दिएका छौं । आइतबार ८६४ ट्रक सुनौली र जोगबनीबाट नेपाल गएका छन्’, उनले आइतबारको तथ्यांक सुनाइन्, ।

बैबाहिक अंगिकृतको अधिकार खोसियो
नेपालको संविधान जारी भएपछि भारतले असन्तुष्टी जनाएको अंगिकृत नागरिकताको कुरा राज्यसभामा पनि उठेको छ । सांसद्हरुले रोटीबेटीको सम्बन्ध रहेको नेपालसँग मोदी सरकारले झगडा बढाएको जनाउँदै त्यसबारे प्रश्न उठाएका थिए ।

सांसद्हरुको प्रश्नको जबाफ दिँदै स्वराजले अन्तरिम संविधानमा रहेको बैबाहिक अंगिकृत नागरिकताको व्यवस्था नयाँ संविधानले खोसेको प्रति असन्तुष्टी जनाइन् ।

‘अन्तरिम संविधानमा बिबाह गरेर नेपाल जाँदा बैबाहिक अंगिकृत नागरिकता मिल्थ्यो’, उनले भनिन्, ‘तर नयाँ संविधानमा बैबाहिक अंगिकृत नागरिकताको अधिकार खोसियो । यसलाई सम्बोधन गरेर नेपालले भारतसँगको रोटी बेटीको सम्बन्ध बचाइराख्नुपर्छ ।’

सांसद्हरुले नेपालमा भारतले एकथोक गर्न खोज्दा अर्कैथोक भएको भन्दै मोदी सरकारको व्यंग्य गरेपछि स्वराजले त्यसबारे तिखो जबाफ दिइन् ।

‘भारत सरकार एकथोक गर्न खोज्दा नेपालमा अर्को थोक भएको छैन । हात्तीको जस्तो देखाउने र खाने दाँत फरक छैन । हामी जे भनिरहेका छौं, त्यही गरिरहेका छौं’, उनले भनिन्, ‘नेपालमा हामीले मधेसी र संस्थापनबीच कुरा मिलाउने प्रयासमै हामी छौं ।’

नेपालमा भारतको नाकाबन्दी पहिलो होइन

संसदलाई सम्बोधन गर्दै विदेशमन्त्री स्वराजले नेपालमा नाकाबन्दी पहिलो नभएको जिकिर गरिन् ।

रोटी बेटीको सम्बन्ध रहेको नेपालसँग मोदी सरकारले सम्बन्ध बिगारेको आरोप आफ्नै पार्टीका सांसद्ले लगाएपछि उनले भारतीय कांग्रेसले यसअघि पनि नाकाबन्दी गरेको स्मरण गराइन् ।

‘कांग्रेस सत्तामा हुँदा नेपालमा सवा वर्षसम्म नाकाबन्दी गरेको हो’, उनले भनिन्, ‘नेपालमा यसअघि पनि नाकाबन्दी भएको कुरा कसैले नभुल्नु ।’

नेपाली नेताहरु दैनिक दिल्ली धाउँथे
विदेशमन्त्री स्वराजले आफूहरुले दिएको सल्लाह नेपाली नेताहरुले नसुनेको आक्रोश पोखिन् । उनले दैनिक दिल्ली धाउने नेपाली नेताहरुलाई सम्झाउँदा पनि उनीहरुले आफूहरुलाई नजरअन्दाज गरेको आरोप लगाइन् ।

‘नेपाली नेताहरुसँग हामीले पटक पटक छलफल गरेका छौं, सत्ता पक्षका शेरबहादुर देउवा र विद्या भण्डारीसँग पनि छलफल भएको छ’, उनले भनिन्, ‘प्रत्येक दिन दिल्ली धाउने सबै नेताहरुसँग कुरा गरेका थियौं । प्रतिपक्षी दलका  प्रचण्ड र बाबुरामसँग छलफल भएको थियो । तर बिनाबहस संविधान पारित भयो ।’

आफूहरुको सुझावको अवमूल्यन गर्दै बहस नै नगरी संविधान जारी गर्दा अहिले समस्या आएको उनको भनाइ थियो ।

बहसै नगरी संविधान ल्याइयो
‘बिना बहस अन्तरिम संविधानमा भएको अधिकार कटौती गरेर संविधान ल्याउँदा समस्या भयो’, उनले भनिन्, ‘यदि मधेसको आन्दोलन हिंश्रक भयो भने भारतलाई प्रत्यक्ष असर पर्नेछ । त्यहीकारण मित्रको हिसाबमा सल्लाह दियौ । वार्ताबाट समाधान खोज भनेका हौं ।’

भारतीय जनता पार्टीको मातृ संस्थाका आरएसएसको तर्फबाट प्रतिनिधित्व गरेका सांसद्ले नेपालमाथि नाकाबन्दी नगर भनेको कुरामा उनले आक्रोश पोखिन् ।

मधेसीलाई गोली हानौं कि ट्रकले किचौं
विदेशमन्त्री स्वराजले पटक पटक नेपाल स्वतन्त्र देश भएकाले आफूहरुले उसको सार्वभौमसत्ताको पूर्ण सम्मान गर्ने उल्लेख गरिन् ।

‘नेपाल स्वयत्त देश हो । हामी नेपालको स्वयत्तताको पूरा सम्मान गर्छौं । हामी हस्तक्षेप गर्दैनौं, सल्लाह मात्र दिन्छौं’, उनले भनिन्, ‘भारतले नाकाबन्दी गरेको छैन, मधेसीले नै गरेका हुन् ।’

सीमानामा मधेसी बसेर अवरोध गरेकाले सामानका ट्रक पठाउन नसकिएको उनको भनाइ थियो ।

‘मधेसी बसेर नाकाबन्दी गरेका छन् । हामीले कसरी गाडी पठाउनु ?’, उनको प्रश्न थियो, ‘कि गोली चलाएर पठाउँ कि मधेसीलाई कुल्चेर ट्रक पठाउँ । कसरी पठाउँ ? त्यहीकारण राजनीतिक रुपमा समाधान निकाल भनेका हौं ।’
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z