नाकामा थन्किएका ग्यास बुलेट चुहिएपछि भारतीय आतंकित, भन्छन्- नहटाए आन्दोलन गर्छौँ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
मझरिया (बिहार, भारत) : भारतले गरेको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको अवरोधका कारण वीरगन्जको सीमा नाकामा महिनौँदेखि थन्किएका ग्यासका बुलेटहरु चुहिन थालेपछि बस्ती नै आतंकित भएको छ।
नेपालतर्फ लागेका सयौँ बुलेट त्यहाँको बस्ती नजिकैको सडक छेउ दायाँबायाँ लस्करै राखिएको छ। बुलेटहरु धुलाम्ये भइसकेका छन्। दुई दिन अगाडि ग्यासका बुलेटहरु चुहिएर गन्ध आउन थालेपछि स्थानीय त्रसित बनेका हुन्। अहिले उक्त चुहिएका बुलेट सुरक्षित स्थानतिर लगिएको छ। तर आतंक कम भएको छैन।
एक महिनाअघि भारतको गुजरातबाट इन्दौरतर्फ गइरहेको एउटा ग्यास बुलेट झबुवा जिल्लाको पेट्लावाद नगरनजिकैको गाउँमा पल्टिएर ग्यास चुहिएपछि सुरक्षाका लागि १५ सय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको थियो।
ग्यास अथोरिटी अफ इन्डिया लिमिटेडका प्राविधिकहरुलाई बोलाएर लिकेज बन्द गरेपछि मात्रै खतरा टरेको थियो।
यहाँ चुहिएको ग्यासलाई भने जंगलतर्फ लगिएको भनिएको छ। तर लिकेज बन्द गराउन के कस्तो उपाय अपनाइयो भन्नेबारे कुनै जानकारी दिइएको छैन।
फोटोमा देखिएको स्थान भारतको विहार राज्यमा पर्ने रघुनाथपुर पञ्चायतको मझरियाको हो। यो ठाउँ नेपालको सीमाभन्दा करिब सात किलोमिटर टाढा छ। दसगजामा प्रदर्शनकारीहरु बसेपछि यहाँबाट कुनै पनि मालवाहक गाडी नेपाल पस्न नसकेको महिनौँ भयो।
तर अब आफ्नै बस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दाले आन्दोलनको तयारी थालेका हुन्। स्थानीय बासिन्दा सत्यनारायण साह आन्दोलन गरेर भएपनि यहाँबाट बुलेट हटाउन लगाउने बताए।
उनले भने, ‘हामी त्रसित भएका छौं। खाना समेत पकाउन डराउनु पर्ने स्थिति छ। एकदमै सचेत भएर आगो बाल्न बाध्य छौं।’
यस्तै स्थानीय रहमतुला राइन भन्छन्, नेपाल र भारतबीच के भएको हो मलाई थाहा छैन। तर बस्तीबाट ग्यासका बुलेटहरु हटाउनु पर्छ। हामीले सम्बन्धित पक्षलाई पनि जानकारी गरायौं तर कसैले हाम्रो कुरा सुनेको छैन। दुई चार दिनभित्र बुलेट खाली नभए हामी सडक जाम गर्छौँ।’
उनी थप्छन्, केही दुर्घटना भयो भने त्यसको जिम्मेवारी कसले लिने ?
यता, करिब महिनौँ रक्सौल नाकामा अलपत्र परेको बुलेटका चालक साउद्दिन आफूहरुलाई खान, बस्न समस्या भएको र अब के हुन्छ भने केही जानकारी नभएको बताउँछन्।

###






0 comments
Write Down Your Responses