के के छ सरकारी अनुदान ? कसरी लिने ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
ग्रामीण क्षेत्रका अलवा शहरी भेगमा पनि सरकारले सोलार जडानका लागि ऋणको व्याज र जडानमा अनुदान सहयोग प्रदान गरेको छ। यद्यपी सरकारको यो अनुदान सहयोग लिनेको संख्या भने उल्लेख्य बढ्न सकेको देखिँदैन।

यस आर्थिक वर्षभित्रै शहरी भेगमा करिब ४ हजार घरधुरीलाई अनुदान प्रदान गरी सोलार जडान गर्ने सरकारी लक्ष्य रहे पनि हालसम्म भने ५० जनाले जडान गरिसकेको र ५० जना सहुलियत ऋण लिने प्रक्रियामा रहेका छन्।

व्यक्तिगत तथा संस्थागत तवरले सरकारले शहरी भेगमा समेत सोलार जडानका लागि अनुदानको व्यवस्था गरेको छ।  वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार करिब ५० घरधुरीले अनुदानमा सोलार जडान गरिसकेका छन्। सेतोपाटीसित कुराकानी गर्दै उनले भने ‘सुरुवात गरेको समय धेरै भइसकेको छैन, सर्वसाधारणहरु बुझ्ने क्रममै छन्।’

कतिपयलाई प्रक्रिया झन्झट लाग्ने हुँदा पनि अनुदान लिनेतर्फ नलागेको हुन सक्ने उनले बताए। यद्यपी अहिले प्रक्रियागत रुपमा धेरै सहज बनाइएको उनको भनाई छ। ‘विद्युतीय संकटका बेला सौर्य उर्जालाई प्रबद्र्धन गर्नका लागि शहरी क्षेत्रमा पनि सहुलियत प्रक्रियालाई सहज बनाइएको छ’ उनले भने। सौर्य उर्जालाई सर्वसाधारणले पनि प्राथमिकता दिएमा उर्जा संकटलाई केही हदरसम्म न्यूनीकरण गर्न सकिने धितालको भनाई छ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले सिभिल बैंक र एनएमबी बैंकसित सहकार्य गरी सोलार जडान गर्नेहरुका लागि सहुलियत ब्याजमा ऋण दिने व्यवस्था समेत गरेको छ। यद्यपी ति बैंकमा समेत सोलार जडानका लागि सहुलियत ब्याजमा ऋण लिन खोज्नेहरु निकै न्यून मात्रै देखिएका छन्। एनएमबी बैंकमा सोलार जडानका लागि २३ जनाको मात्रै प्रक्रिया अघि बढिरहेको बैंकले जनाएको छ। त्यस्तै सिभिल बैंकमा २५ जनाको ऋण प्रक्रिया अघि बढिरहेको सम्वन्धित अधिकारीले जानकारी दिए। त्यसो त ऋण नलिइकन सोलार जडान गर्न चाहनेहरुले पनि जडानमा सरकारी अनुदान पाउने छन्।

सोलार जडानका लागि सरकारी अनुदान लिन खोजेका उपभोक्ताहरुले भने प्रक्रिया झन्झटिलो भइकन पनि धितो समेत राख्नुपर्ने बाध्यता भएको भन्दै सरकारी सुविधा आफूहरुका लागि उपर्युक्त नदेखिएको बताउँछन्। त्यस्तै आफूहरुका लागि १ सय वाट भन्दा धेरैको सोलार पनि नचाहिने तर थोरै क्षमताको सोलारका लागि अनुदान नदिइएकोले पनि सरकारी अनुदान आफूहरुका लागि अनुकुल नभएको उनीहरुको बुझाई छ।

के छ सरकारी सहुलियत, कसरी लिने ?

सोलार जडानका लागि ऋण लिन चाहनेहरुले सस्तो व्याजमा ऋण पाउँछन्। १ सय देखि १५ सय वाटसम्मको सोलार जडान गर्न चाहने व्यक्तिहरुले २ दशमलव ५ प्रतिशत व्याजमा एनएमबी तथा सिभिल बैंकबाट ऋण पाउँछन्। त्यसमा १५ हजार रुपैयाँ जडान गर्दा लाग्ने खर्च अनुदानस्वरुप थपिन्छ। केन्द्रबाट सम्वन्धन प्राप्त १ सय १८ वटा कम्पनीमध्ये आफूलाई पायक पर्ने कुनै कम्पनीबाट जडान गर्न सकिने उर्जा प्रबद्र्धन केन्द्रका इन्जिनियर चैतन्य चौधरीले बताए। कम्पनी छनौट गरेपछि कम्पनीले स्थलगत अध्ययन गर्दछ।

ऋण लिनका लागि सबैभन्दा पहिले उपभोक्ताले आफूलाई चाहिने सोलार क्षमताको टुङ्गो लगाई उर्जा प्रबद्र्धन केन्द्रबाट सोलारको अनुमानित लागत, साइज, क्षमता, ब्राण्ड, मूल्यसहितको ‘अडिट प्रपोजल’ लिनुपर्दछ। त्यसपछि सोही प्रपोजल लिएर एनएमबी बैंक वा सिभिल बैंकमा बुझाई निश्चित शर्तहरु पुरा गरी आवश्यक ऋण लिन सकिन्छ। त्यसका लागि नागरिकताको प्रतिलिपी, घरभेटीको लालपूर्जाको कपी (डेरावालको हकमा) घरभाडा सम्झौता, आम्दानीको स्रोत खुल्नेगरी आवश्यक डकुमेन्ट बुझाउनुपर्ने हुन्छ।

सोलार ऋणको प्रवन्धका लागि सिभिल बैंकमा युवराज गुरागाईं (०१ ४१६९०४०) र एनएमबी बैंकमा उज्वलदास (०१ ४१६९०३१)लाई तोकिएको छ। ऋणीले बैंकको ऋण खातामार्फत वा जडान गर्ने कम्पनीमार्फत लिन सक्ने चौधरीले जानकारी दिए। सहुलियत लिएर सोलार जडान गर्ने सम्वन्धमा दैनिक सयौंले बुझ्ने गरे पनि कमैले मात्रै प्रक्रिया चालेको चौधरीले बताए।

उर्जा संकट बढेका बेला सौर्य उर्जालाई भरपुर प्रयोग गर्न सकेमा यसले समग्र मुलुकको अर्थतन्त्रलाई समेत टेवा दिने थियो। दीर्घकालीन समयका लागि पनि सौर्य उर्जा निकै उपयोगी मानिन्छ। सम्वन्धित निकायले लक्षित वर्गसम्म सहजै प्रक्रियाबाट सेवा पुर्याउन सक्ने हो र चेतनामुलक जानकारी दिलाउन सकेमा मुलुकमा सौर्य उर्जाको अझै विकास गर्न सकिने थियो। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z