इन्धन उपलब्ध गराइदिन ४२ वटा जलविद्युत् आयोजनाको माग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
निर्माणका क्रममा रहेका ४२ जलविद्युत् आयोजनाले तत्काल इन्धन उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन्।

दैनिक ८० हजार लि बढी इन्धन उपलब्ध गराउने हो भने निर्माणमा जान सकिने बताउँदै उनीहरुले अत्यावश्यकीय सेवा अन्तर्गत राखेर भए पनि निर्णय गरिदिन सरकारसँग माग गरेका हुन् । सरकारी तथा निजी क्षेत्रले हाल साना तथा ठूला गरी ४२ आयोजना निर्माण गरिरहेका छन् । त्यसमा सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको माथिल्लो ताकाकोसी जलविद्युत् आयोजना पनि इन्धन अभावका कारण प्रभावित भएको छ।

सरकारले सो आयोजनालाई इन्धन उपलब्ध गराउने निर्णय गरिसकेको छ । पहिलो चरणमा सो आयोजनाले छ हजार लि इन्धन पाएको छ । सो आयोजनालाई आगामी २०७३ चैतसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउन निर्देशनसमेत दिएर इन्धन उपलब्ध गराइएको छ।

निर्माणाधीन आयोजनाले बिनाअवरोध काम गर्न पाए आगामी दुई वर्षभित्र एक हजार मेगावाट विद्युत् उत्पादन हुन सक्ने प्रक्षेपण गरिएको छ । सरकारले एक वर्षभित्र विद्युतभार कटौती गर्ने योजना अगाडि सारिरहेका बेला निर्माणाधीन आयोजनाले इन्धन पाए ५० प्रतिशतभन्दा बढी सफलता प्राप्त गर्न सकिने प्रवद्र्धकको विश्वास छ।

आव २०७२÷०७३ भित्र निर्माण सम्पन्न हुने आयोजनाले १२ हजार लि र आव २०७३ र ०७४ भित्र सम्पन्न हुने आयोजनाले दैनिक ४८ हजार लि इन्धन माग गरेका छन् ।

उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले केही आयोजनाले इन्धन प्राप्त गरिसकेको र अन्य आयोजनालाई पनि मिलाएर इन्धन दिइने बताए। ऊर्जामन्त्री रायमाझीले माथिल्लो तामाकोसी, कुलेखानी तेस्रो र चमेलियालाई इन्धन उपलब्ध गराउने निर्णय भइसकेको उल्लेख गरे। ती आयोजनालाई नेपाल आयल निगमको थानकोट डिपोबाट इन्धन उपलब्ध गराइनेछ। भूकम्पले प्रभाव नपारेको भए २०७३ साउनसम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने थियो ।

मन्त्रालयका अनुसार निर्माणमा रहेका साञ्जेन मासिक ३० हजार लि, रसुवागढी ५० हजार लि, मध्यभोटेकोसी ३० हजार लि, त्रिशूली ३ ‘ए’ ८४ हजार लि र कुलेखानी तेस्रोले १५ हजार लि इन्धन माग गरेका छन्। माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेका अनुसार निर्माण सहज हुन मासिक करिब ५० हजार लि इन्धन आवश्यक पर्छ।

निर्माणमा रहेका आयोजना सम्पन्न गर्न सरकारसँग परिणाम नै तोकेर इन्धन माग गरिएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष खड्गबहादुर विष्ट बताउनुहुन्छ । दसैँ, तिहार, छठ जस्ता चाडबाड सकिई निर्माणको समय सुरु भएकाले इन्धनको माग बढी हुने उनको भनाई छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z