‘गोली हानेपछि आत्मरक्षाका लागि जवाफ फर्कायौं’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्साल
मोर्चाका संयोजक भन्छन्–प्रहरीले दमन गर्यो
काठमाडौं : मोरङको पुरानो सदरमुकाम रंगेलीमा बिहीबार युवा संघले गर्ने मधेस जागरण कार्यक्रम मधेसी मोर्चा र युवा संघका लागि प्रतिष्ठाको विषय बन्यो ।
रंगेलीमा युवा संघले कार्यक्रम गरेरै छाड्ने अड्डी कसेपछि मधेसी मोर्चा आफ्नो क्षेत्रमा हुन लागेको कार्यक्रमलाई बिथोल्ने भन्दै निषेधको राजनीतिमा उत्रियो ।
युवा संघका सयौं कार्यकर्ता र हजार भन्दा बढी प्रहरीको सुरक्षाबीच इलाका प्रहरी कार्यालय रंगेली नजिकै भएको कार्यक्रम बिथोल्न मोर्चाका हजारौं कार्यकर्ता सडकमा उत्रिए ।
मोर्चाका कार्यकर्ताहरु घरेलु हतियारले सुसज्जित भएर पानी ट्यांकीदेखि बसपार्कतर्फको बाटो हुँदै युवा संघको कार्यक्रमस्थलतर्फ आएपछि घटना हिंसात्मक भएको प्रहरीको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने समाचार गएपछि मोर्चाले त्यो कार्यक्रम बिथोलिछाड्ने घोषणा गरेर बन्द आह्वान गरेको थियो ।
मधेसी मोर्चाले गरेको यातायात बन्द र हड्तालबीच युवा संघले बुधबार रातिबाटै तयार पार्न थालेको कार्यक्रमस्थलमा बिहीबार बिहानैबाट मोर्चाका कार्यकर्ता पस्न खोजेका थिए ।
तर, प्रहरी र युवा संघका कार्यकर्ताले कडा सुरक्षा गरेपछि मोर्चा र प्रहरीबीच रंगेली बजार र त्यस आसपासका क्षेत्रमा झडप भयो ।
मोरङ प्रहरीका अनुसार पटक पटक युवा संघको कार्यक्रमस्थलमा पस्न खोजेपछि उनीहरुलाई रोकिएको थियो ।
प्रतिष्ठाको लडाइँमा पराजित नहुनका लागि युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीसहितका कार्यकर्ताहरु बुधबारबाटै रंगेली क्षेत्रमा खटिएका थिए ।
कार्यक्रमस्थल तथा रंगेली बजारमा युवा संघका कार्यकर्ता लाठीसहित खटिएका थिए । तर स्थानीप प्रशासन र प्रहरीको सक्रियताले बुधबार पनि सम्भावित झडप टरेको थियो ।
पटक पटक रोक्दा पनि मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्ने उद्घोषसहित सुरक्षा घेरा तोड्न खोजेपछि झडप शुरु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी तारिणीप्रसाद लम्साल आत्मरक्षाका लागि बाध्य भएर गोली चलाउनुपरेको बताउँछन् ।
उनका अनुसार मोर्चाका कार्यकर्ताहरु खुकुरी, लाठी, भाला र तीर बोक्दै अघि बढेपछि झडप हुन पुगेको हो ।
उनका अनुसार रंगेलीको पानी ट्यांकीदेखि बसपार्कको बाटो हुँदै युवा संघको कार्यक्रमस्थलतर्फ मोर्चाका कार्यकर्ता आएपछि गोली चलाउनुपरेको हो ।
‘प्रहरीमाथि कटुवा पेस्तोलबाट मोर्चाका कार्यकर्ताले चार राउन्ड गोली हाने’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘अन्य घरेलु हतियार भाला, तीर, खुकुरी, लाठी र भालासहित आएपछि मानवीय क्षति रोक्न तथा आफ्नो पनि जीवन रक्षाका लागि प्रहरीले गोली चलाएको हो ।’
प्रहरीसँगको झडपका क्रममा रंगेलीकै ६२ वर्षीया द्रौपदी चौधरीको ज्यान गएको छ । प्रहरीले मोर्चाका कार्यकर्ताले उनलाई पनि प्रदर्शनमा सहभागी गराएको जनाएको छ ।
तर, मोर्चाले भने उनी प्रदर्शनमा सहभागी नभइ छिमेकीकहाँ भएको एक पूजा कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा प्रहरीबाट मारिएको दाबी गरेको छ ।
रंगेलीमा भएको प्रहरीसँगको झडपकै क्रममा बरडंगा–२ का ४२ वर्षीय महादेव ऋषिदेवको पनि गोली लागेर ज्यान गएको छ ।
गोली लागेर घाइते भएका उनलाई बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना गराएपछि मृत्यु भएको हो ।
त्यसैगरी रंगेलीकै छिमेकी गाविस डाइनियामा प्रदर्शनमा उत्रेका मोर्चाका अर्का कार्यकर्ताको पनि ज्यान गएको छ ।
झडपका क्रममा डाइनिया निवासी शिवु माझीले ज्यान गुमाएका हुन् । घटनाका क्रममा मोर्चाका ६ जना भन्दाबढी कार्यकर्तालाई गोली लागेको बताइएको छ ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा मधेसी मोर्चाका संयोजक राजकुमार यादव भने फरक दाबी गर्छन् ।
‘हाम्रा कार्यकर्ताहरुले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका थिए’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘हामी निसशस्त्र अवस्थामा जुलुसमा थियौं । शान्तिपूर्ण प्रदर्शन गरिरहँदा प्रहरीले जथाभावी गोली बर्सायो ।’
मोर्चाले उग्र प्रदर्शन गरेपछि सत्तारुढ दल एमालेको भातृ संगठनले आफ्नो कार्यक्रमलाई समेत निर्धारित समयभन्दा चाँडो टुंग्याएको थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले प्रहरीले संयमित भएर परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन सुरक्षा दिएको बताए ।
उनले अवस्था अझ बिग्रिए रंगेली क्षेत्रमा आजैबाट कर्फ्यू लगाउन सकिने बताए ।

###
0 comments
Write Down Your Responses