जिपिएका आधारमा प्रतिशत निकाल्न मिल्दैन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अक्षरांकन पद्धति अर्थात् लेटर ग्रेडिङ सिस्टम भनेको विद्यार्थीको सिकाइको वास्तविक पहिचान गर्ने र त्यसलाई अंकको साटो विभिन्न अक्षरमा संकेत गर्ने पद्धति हो । नेपालको एसएलसी परीक्षामा यस प्रकारको लेटर ग्रेडिङ पद्धति हामीले अघिल्लो वर्षदेखि प्राविधिक विषयमा सुरु गरिसकेका हौँ । समग्र एसएलसी परीक्षामा भने यसै वर्षदेखि यो प्रणाली सुरु भएको हुनाले यसबारे आमविद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका र अन्य सरोकारवाला सबैमा कुनै न कुनै अन्योल या भ्रम रहेको देखिन्छ ।
खासगरी यस पद्धति लागू गर्नुपछाडि विद्यार्थीलाई फेल वा पास भनेर वर्गीकरण गर्नुभन्दा पनि विद्यार्थीको विषयगत दक्षता मापन गरेर निश्चित ग्रेडमा त्यसको मूल्यांकन गर्नु हो । त्यसैले हामीले यसपटकको एसएलसीमा समग्र ग्ेरड नदिई विषयगत ग्रेड प्वाइन्ट दिएका छौँ । विद्यार्थीको विषयगत दक्षता र क्षमताका आधारमा थप अध्ययन गर्ने वा अन्य कुनै पेसा व्यवसायमा लाग्ने हो, त्यसका लागि उसले एसएलसी पूरा गरेको प्रमाणपत्र लिएर अघि बढ्ने बाटो खोलिदिने र विद्यार्थी पास हुँदा फुर्किने र फेल हुँदा हीनताबोध बोकेर बाँच्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले यो पद्धति अँगालिएको हो । तर, भर्खरै एसएलसी परीक्षाको नतिजा प्रकाशनपछि यस पद्धतिको गलत व्याख्या र बुझाइ आमविद्यार्थीदेखि अभिभावक, शिक्षकवर्गमा समेत रहेको देखिँदै छ । हामीले विद्यार्थीलाई उपलब्ध गराएका औसत ग्रेड प्वाइन्टका आधारमा त्यसलाई निश्चित अंकले गुणन गरेर यति र उति प्रतिशत आएको, विगतमा जस्तै यो वा त्यो श्रेणी आएको भनेर व्याख्या गरिँदै गरेको देखिन्छ । तर, यो बिल्कुलै गलत भइरहेको छ । यसको गलत व्याख्या गरिँदै छ । हामीले विद्यार्थीको ग्रेड सिटमा विषयगत ग्रेड प्वाइन्ट दिएका छौँ । तर, समग्रमा यो वा त्यो ग्रेड तोकेका छैनौँ । हामीले १०–१० अंकको अन्तरालमा विभिन्न ग्रेड दिएका छौँ । त्यसका लागि परीक्षार्थीले प्राप्त गर्नुपर्ने उच्चतम ग्रेड प्वाइन्ट दिएका छौँ । यदि कुनै विद्यार्थीले ८० अंक प्राप्त गरेको छ भने उसलाई ८९ अंकबराबरको ग्रेड प्वाइन्ट दिइएको छ ।


 त्यसैगरी यदि कुनै विद्यार्थीले ९० अंक ल्याएको छ भने उसलाई १०० अंकबराबरको ग्रेड प्वाइन्ट दिएका छौँ । त्यसैले अंकलाई ग्रेडिङमा रूपान्तरण गर्दा नै परीक्षार्थीलाई फाइदा पुगिसकेको हुन्छ । यस्तो अवस्थामा पुन: समग्र ग्रेड दिनु त्यति वैज्ञानिक हुँदैन भनेरै हामीले त्यो नदिएका हौँ । कुनै पनि विद्यार्थीको विषयगत क्षमताका आधारमा समग्र ग्रेड दिँदा उसको दक्षता छायामा पर्न सक्छ । समग्र गेडले व्यक्तिको विषयगत दक्षता झल्काउन सक्दैन । यसबाट उसको क्षमता छायामा पर्ने खतरा रहन्छ । त्यसैले हामीले समग्र ग्रेड नराखेका हौँ । हामीले अहिलेसम्म अंक, प्रतिशत र डिभिजनमा विद्यार्थीको क्षमता मूल्यांकन गर्दै र बुझ्दै आएको हुनाले अहिले केही अन्योल हुनु भने बिल्कुलै अनौठो होइन । सायद, त्यसैले होला अहिले ग्रेड प्वाइन्टलाई प्रतिशत वा डिभिजनमा विभाजन गरेर आफैँ डिभिजन र प्रतिशत घोषणा गर्ने लहर नै देखिएको हुन सक्छ । अहिले यो वा त्यो ग्रेड आएको विद्यार्थीले कलेज भर्ना हुन पाउँछ वा पाउँदैन भन्ने विषयमा अनेकथरी भनाइ आइरहेको सुनिन्छ ।


यसलाई हामीले विद्यार्थीले अगाडि अध्ययन गर्ने विषयका आधारमा उसले अहिलेको पाएको विषयगत ग्रेडलाई जोड्ने कोसिस गरेका छौँ । अनिवार्य नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयलाई अलि महत्त्वसाथ जोड दिन खोजिएको छ । यदि कुनै विद्यार्थीले विज्ञान पढ्न चाहन्छ भने उसले न्यूनतम जिपिए २ ल्याएकै हुनुपर्छ र विज्ञान तथा गणित विषयमा सी प्लस र अंग्रेजी विषयमा सी भए पुग्ने व्यवस्था गरिएको छ । त्यसैगरी सामाजिक शिक्षा र नेपालीमा भने डी प्लस भए पुग्छ भनिएको छ । अन्य बाँकी विषयमा भने सामान्य अंक नै भए पनि फरक पर्दैन । त्यसैगरी सिटिइभिटीले भविष्यमा जुन विषय पढ्ने हो, सोसँग सम्बन्धित विषयमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्छ भनेको छ । उसले अन्डर एसएलसीलाई दिने प्राविधिक तालिमचाहिँ जुनसुकै ग्रेड भए पनि हुन्छ भनेको छ । अहिले ग्रेड वृद्धि परीक्षाको विषयमा पनि अन्योल देखिन्छ । विगतको परीक्षा प्रणालीमा पूरक परीक्षा अनिवार्य थियो । तर, अब यो परीक्षा अनिवार्य होइन । आगामी दिनमा थप अध्ययन गर्न चाहने विद्यार्थीले उच्च माध्यमिक शिक्षा परिषद् र सिटिइभिटीले निर्धारण गरेको मापदण्ड हेरेर त्यसका लागि आफूले प्राप्त गरेको विषयगत ग्रेड पर्याप्त छ भने पुनर्परीक्षा दिइरहनु आवश्यक छैन । तर, आफूले प्राप्त गरेको विषयगत ग्रेड अपर्याप्त छ भने उसले आफ्नो ग्रेड वृद्धिका लागि ग्रेड वृद्धि परीक्षामा सामेल हुन सक्छ । (गौतम पाठ्यक्रम विकास केन्द्रका उपसचिव हुन्)
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z