पासपोर्टको आवदेन अनलाईनबाटै भर्न सकिने, कसरी र कहाँबाट भर्ने?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राहदनी विभागले हिजो आइतबारबाट लागू हुने गरी अनलाईन पासपोर्ट आवेदन दर्ता सुरु गरेको छ।

विभागले अनलाइन आवेदन सुरु गरेसँगै अब सर्वसाधारणले घरमै बसेर पासपोर्टको लागि आवेदन दिन सक्नेछन्। अनलाइन आवेदन भर्ने व्यवस्था भएपनि पासपोर्ट बनाउन र फोटो खिच्न भने विभागमै जानुपर्ने हुन्छ।

अनलाइन आवेदन प्रणालीको उप प्रधानमन्त्री तथा पराराष्ट्र मन्त्री कमल थापाले सुरुआत गरेका हुन्। सेवाग्राहीले अनलाइनमार्फत् नै आवेदन दिनसक्ने भएपछि उनीहरुले भोग्नु परेको विभिन्न समस्याबाट मुक्त हुने र समय बचत हुने परराष्ट्रमन्त्री थापाले दाबी गरे।

६ वर्षअघि एमआरपी निर्माण एवम् वितरण थालिएको सन्दर्भमा यो सेवा लागू हुनु प्रत्यक्ष दर्ता प्रणाली राहदानी वितरणको इतिहासमा कोसेढुङ्गा भएको भन्दै परराष्ट्रमन्त्री थापाले केन्द्रमा मात्र नभई जिल्लामा पनि द्रुतसेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए।

विदेशस्थित दशवटा नेपाली नियोग र राहदानी विभागबाट मात्र यो सेवा लिन सकिने विभागले जनाएको छ। प्रणाली लागू भएसँगै अब सेवाग्राहीले बाहिर फोटो खिच्ने तथा फारम भर्नुपर्ने समस्याबाट छुटकारा पाउने राहदानी विभागका महानिर्देशक लोक बहादुर थापाले बताए।

‘आवेदकले अव कम्प्युटरबाट फारम भरी विभागमा पठाउन सक्नेछन् जसको लागि बाहिर फारम भर्ने तथा फोटो खिच्नुपर्दैन’, महानिर्देशक थापाले भने।राहदानी सेवालाई छिटो छरितो तथा त्रुटीरहित बनाउने अभियान अन्तर्गत यो सेवा आरम्भ गरिएको महानिर्देशक थापाको भनाई छ।

यसको लागि आवेदकले राहदानी विभागको वेवसाईटबाट फरम भरी त्यसको बारकोड र जिल्लाको सिफारिस लिएर सिधै विभागमा आउन सक्ने थापाले बताए।

कसरी भर्ने फारम?
सबैभन्दा पहिले राहदानी विभागको वेबसाईट www.nepalpassport.gov.np खोल्ने । त्यसपछि वेबाईटभित्र रहेको ‘प्री इनरोलमेन्ट’ बटनमा क्लीक गर्र्ने। त्यहाँ फारम कसरी भर्ने भनेर सुझाव तथा सर्तहरु देखिन्छ, त्यो पढ्ने र म सहमत छु भन्ने ‘एग्री’ बटनमा क्लीक गर्ने । त्यसपछि नेक्स्ट बटनमा क्लीक गर्ने। त्यसपछि आउने क्याप्चा भ्यालिडेसन भरेर सबमिट गरेपछि फारम आउने महानिर्देशक थापाले जानकारी दिए।

‘त्यसरी खुल्ने आवेदनमा आफ्नो व्यक्तिगत विवरण भरिसकेपछि दिइएको निर्देशन अनुसार आवेदन दर्ता हुन्छ र त्यसमा बारकोढ जेनेरेट हुन्छ। सोही बारकोड सहितको आवेदन प्रीन्ट गरेर सिधै विभागमा आउनुपर्ने थापाले जानकारी दिए।

बारकोड र जिल्लाको सिफारिस ल्याएर बैंकमा रकम तिरेको भौचरसहित विभाग तथा नियोगमा गएपछि राहदानीको आवेदन पूरा हुने र त्यसको लागि २१ दिनभित्र आवेदक उपस्थित भइ सक्नुपर्ने थापाले जानकारी दिए।

अनलाइन आवेदन कहाँ कहाँ बुझाउन पाइन्छ?
यस्तो अनलाईन आवेदन तथा ‘प्री इनरोलमेन्ट’ सेवा राहदानी केन्द्रीय विभाग काठमाडौँमा बुझाउनु पर्ने हुन्छ। देशबाहिर भने नेपालीहरुको चाप बढी भएका दश स्थान, न्यूयोर्क, वासिंटन डिसी, लण्डन, हङकङ, कतार, मलेसिया, कुवेत, जेद्दाह, रियाद र आवुधाबीमा रहेका नेपाली नियोगबाट पनि यो सेवा उपलब्ध हुने उनले बताए।

अहिले सुरुवाती चरणमा केही सिमित र महत्वपुर्ण स्थानबाट मात्र यो सेवा सञ्चालन गरेका छौं’, उनले भने, ‘अब विस्तारै आवश्यकता हेरर चाँडै नै देशव्यापी बनाउने तयारीमा छौं।’

साथै विभागले गत जेठ २३ गतेको निर्णयानुसार द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी लिन चाहेमा १५ हजार दस्तुर बुझाउनुपर्ने जनाएको छ। त्यसैगरी १२ हजार रुपैयाँ बुझाए दुई दिन र १० हजार रुपैयाँ राजस्व बुझाएमा तीन दिनमा एमआरपी पाइने छ।

विभागका अनुसार अब जिल्लाबाट पनि सेवाग्राहीले पाँचदेखि १५ दिनभित्रमा राहदानी प्राप्त गर्न सक्नेछन्। जिल्लाबाट फारम प्राप्त भएपछि २४ घन्टाभित्रै विभागले राहदानी बनाउने गरेको दाबी गरेको छ। यसअघि विभागले १० हजार दस्तुर लिएर एक सातामा नै राहदानी उपलब्ध गराउँदै आएको थियो।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z