'भ्रष्टाचारको घोडामा प्रधानमन्त्री'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको 'परफरमेन्स' उपलब्धिहिन र कार्यशौली निर्दयी भएको भन्दै प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालाको चर्को आलोचना गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिनभर बसेको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले सरकार संसदीय दल र पार्टीसँग भन्दा 'कमिसन एजेण्ड'सँग जवाफदेही भएको भन्दै असन्तुष्टि जनाए।

अधिकांश केन्द्रीय सदस्यले यो सरकार इतिहासमै सबैभन्दा 'भ्रष्टाचारी र निर्दय' भएको आरोप लगाए। 'तपाईं भ्रष्टाचारको घोडामा सयर सदाचारी प्रधानमन्त्री हो,' बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङले भने, 'भ्रष्टाचारले तपाईंका मन्त्रीहरू गनाएका छन् तर तपाईंले सदाचारीका कुरा गर्दै हिड्न मिल्छ?'

प्रधानमन्त्रीले पटकपटक मितव्ययिता र सुशासनको कुरा गर्ने गरे पनि सरकार सिमा नाघेर भ्रष्टाचारमा लिप्त भएको उनीहरूको भनाइ थियो। केन्द्रीय सदस्य गगन थापाले सबै मन्त्रीले पार्टीभित्र परामर्श नगरी आफ्ना परिवारका सदस्यलाई मन्त्रालयका नियुक्तिमा अघि सार्ने गरेको बताएका थिए। 'अहिले विभिन्न मन्त्रालयमा हुने नियुक्तिमा 'भाउजुहरू' को क्रियाशिलता छ,' थापाले भने, 'यसले पुष्टि गर्छ अहिलेको सरकार कस्तो छ।'

केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति चर्को विरोध गरेपछि अन्तिममा बोलेका प्रधानमन्त्री कोइरालाले पनि भ्रष्टाचार बढेको स्विकार गरेका थिए। झण्डै दुई दर्जन केन्द्रीय सदस्यले बोलेको बैठकमा अधिकांशले सरकारको कार्यशैलीको विरोध गरेका थिए।

पार्टी सञ्चालनमा वर्तमान नेतृत्व 'असफल' भएको दाबी गर्दै उनीहरूले पार्टीको विधिविधानमा 'जे गर्नु पर्छ भनेको छ त्यो नगर्ने र जे गर्न हुँदैन भनेको छ त्यो गर्ने' प्रवृत्ति नेतृत्वमा देखिएको आरोप लगाएका थिए।

'चार वर्षसम्म विधि र विधानअनुसार पार्टीले कुनै पनि काम गरेन,' थापाले अन्नपूर्णसँग भने, 'तर विधानमा जे गर्न हुँदैन भनेको छ त्यो मात्रै गरेको अधिकांश सदस्यहरूको धारणा थियो।'

केन्द्रीय सदस्य बद्री पाण्डेले संसदीय दलको निर्वाचन भएको एक बर्षसम्म पनि कार्यसमिति समेत गठन नगर्नु नेतृत्वको ठूलो कमजोरी भएको बताएका थिए। उनले पार्टी विधानमा उल्लेख भए अनुसार संसदीय कार्यसमिति गठन गर्न र भ्रातृ संस्थाको अधिवेशन विधान अनुसार गराउन नेतृत्व किन चुकेको भन्दै प्रश्न गरेका थिए।

प्रधानमन्त्रीले माघ ८ गते संविधान जारी गर्छु भन्ने रटान गर्दै आएकाले त्यसका लागि लचकतासमेत प्रदर्शन गर्न सदस्यहरूले सुझाव दिएका थिए। 'माघ ८ मै संविधान ल्याउछु भन्ने तर प्रदेशमा सातभन्दा माथि नै जान्न भनेपछि कसरी सहमति हुन्छ,' केन्द्रीय सदस्य चन्द्र भण्डारीले बैठकमा भने, 'संघीयताका बारेमा सबैका आआफ्ना धारणा छन् तर मिल्नेगरी साझा धारणा बनाउन सके मात्रै संविधान जारी हुन सक्छ।'

बैठकमा एजेण्डाका रूपमा पेस भएको अनुशासन कारबाहीमा परेकालाई फुकुवा गर्ने नगर्ने विषयमा भने अधिकांशले विधिविधानअनुसार अघि बढ्न सुझाव दिए। केन्द्रीय सदस्य गुरु घिमिरे र दिनबन्धु श्रेष्ठले भने अनुशासन समितिको कारबाही पूर्वाग्राही भएको भन्दै तत्काल फुकुवा गर्नुपर्ने बताएका थिए।

केन्द्रीय सदस्य सुजाता कोइरालालगायतलाई केन्द्रीय अनुशासन समितिले गरेको कारबाही फुकुवा गर्ने नगर्ने विषयमा अर्को बैठकमा पदाधिकारीले प्रस्ताव ल्याउने निर्णय भएको छ। बैठकले क्रियाशिल सदस्यता वितरण र नविकरणको म्याद पुस मसान्तसम्म थप गरेको छ। यसअघि मंसिर मसान्तसम्मका लागि क्रियाशिल सदस्यता वितरण र नविकरणको समय तोकिएको थियो।

बैठकमा केन्द्रीय सदस्य नविन्द्रराज जोशीले १२ बँुदे लिखित सुझाव पेस गरेका थिए। उनले पार्टी सभापतिलाई माघ ८ भित्रै संविधान जारी गर्न सुझाव दिएका छन्। बैठकले माघ ८ गते संविधान जारी गर्न पार्टीले अग्रसरता लिने निर्णय गरेको छ।


धर्म निरपेक्षतामा प्रष्ट छौं : कोइराला

प्रधानन्त्री सुशील कोइरालाले आफ्नो पार्टीकै नेतृत्वमा धर्म निरपेक्षता घोषणा भएकाले त्यसमा अलमल गर्न आवश्यक नभएको बताएका छन्। केन्द्रीय सदस्यहरूले पार्टीमा खुमबहादुर खड्कालगायतको एउटा समूह हिन्दु राज्य घोषणा अभियानमा हिँडेको भन्दै धारणा मागेपछि कोइरालाले यस्तो जवाफ दिएका हुन्।

'विषम परिस्थितिमा पार्टीकै नेतृत्वमा धर्म निरपेक्षता घोषणा गरेको हो,' कोइरालाले भने, 'धर्म निरपेक्षता भनेको हिन्दु धर्म विरोधी होइन, सबैको सम्मान गरेको हो, यसमा अलमल हुनुपर्ने कारण छैन।' कोइरालाले समूह बनाएर पार्टी बाहिर धर्म निरपेक्षताको विरोधमा गुटबन्दी गर्न आवश्यक नभएको भन्दै पार्टीभित्रै बैठकमा आएर धारणा राख्नु पर्ने बताएका थिए।

बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले मात्रै धर्मनिरपेक्षताका बारेमा जनमत संग्रहमा जानुपर्ने बताएका थिए। अधिकांश सदस्यले भने यसअघि नै पार्टीले धर्मनिरपेक्षताबारे निर्णय गरिसकेकाले हिन्दु राज्य फिर्ता गर्ने अभियानमा हिँडेकालाई कारबाही गर्नुपर्ने बताएका थिए।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z