रगतको मूल्य बढाउने तयारी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : गत महिना रक्त अल्पताबाट थलिएकी बाजुरा जुगाडाकी २५ वर्षीया वसन्ती रोकायाको रगत अभावमा ज्यान गयो। चार महिनाकी गर्भवती वसन्ती उपचारका लागि अस्पताल पुर्‍याइए पनि चाहिए जति रगत नपाउँदा ज्यान गुमाउन बाध्य भइन्।

बयलपाटा अस्पताल पु:याउँदा वसन्तीको शरीरमा हेमोग्लोबिनको मात्रा चार थियो। अस्पतालले दुई पोका रगत दिए पनि उनलाई पुगेन।

जिल्ला अस्पताल अछाममा रगत अभावले एचआईभी संक्रमित विनायक गाविस २ का ४२ वर्षीया नन्दकला विकले पनि ज्यान गुमाइन्। आफन्तले बी पोजेटिभ रगत खोज्दाखोज्दा नन्दकलाले ज्यान गुमाएकी हुन्।

रगत अभाव र दान गरिएको रगतको उचित व्यवस्थापन अभावमा वसन्ती र नन्दकलाले जस्तै बर्सेनि सयौं बिरामीले ज्यान गुमाइरहेका छन्। रगत अभावमा दिनहुँ सुत्केरी अस्पतालमा छटपटाइरहेका छन्।

बिरामीको आफन्त रगत खोजीमा भौंतारिरहेका छन्। मागअनुसार रगत आपूर्ति कसरी गर्न सकिन्छ भन्नेमा गृहकार्य गर्नुपर्नेमा सरकार भने यसको मूल्य बढाउने तयारीमा छ। राजधानीलगायत मुलुकभर रगतको चरम अभाव भइरहेका बेला सरकारले गुणस्तरीयता कायम गर्ने भन्दै रगतको मूल्य बढाउने तयारी गरेको हो।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) की निर्देशक डा. मनिता राजकर्णिकारले रगत परीक्षणका लागि भित्रिएको नयाँ उपकरण, रगत प्रदान गर्ने स्तरीय झोला, भौतिक पूर्वधार र अन्य सामग्रीका कारण रगतको मूल्य बढाउने विषयमा छलफल भएको बताइन्।

'सबैको सुझाव लिइसकेपछि मात्र हामी निर्णय गर्छौं', उनले अन्नपूर्णसँग भनिन्, 'सुरक्षित रगत बिरामीसम्म पुगोस् भन्नका लागि मूल्यमा पनि हेरफेर गर्नुपर्ने हुन्छ। हामीले विश्व स्वास्थ्य संगठनको सुझाव आधार मान्दै छलफल गरेका हौं।'

राजधानीका ठूला निजी अस्पतालको दबाबमा परेर सरकारले मूल्य बढाउने तयारी गरिरहेको स्रोतले दाबी गरेको छ। 'केही यस्ता निजी अस्पताल छन् जसले आफ्नो सेवा स्तरीय भएको र रगत परीक्षण पनि अत्याधुनिक ल्याबबाट हुँदा खर्च धेरै भएको भन्दै त्यसको लागत बढाउन रगतको मूल्य बढाउन स्वास्थ्य अधिकारीलाई दबाब दिएका छन्', स्रोतले भन्यो, 'त्यही कारण रगतको व्यवस्थापन नगरी मूल्य बढाइँदैछ।'

हाल ६ सय ४० पर्ने एक पोका रगतलाई सात सय ८० रुपैयाँ पुयाउने विषयमा नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य अधिकारीबीच छलफल भइरहेको छ। रक्त सञ्चार केन्द्रले रगत संकलन, भण्डारण, परीक्षण, उपकरण, ओसापोसारका लागि प्रयोग हुने साधन, स्वास्थ्यकर्मीलाई तालिमखर्च भन्दै बिरामीबाट एक पोका रगतको ६ सय ४० रुपैयाँ लिइरहेको छ। अन्य सरकारी र निजी अस्पतालले भने आफू अनुकूल रगत बिक्री गरिरेहका छन्।

रगत व्यवस्थापनमा ध्यान नदिई सरकारले मूल्य बढाउने तयारी गरेको भन्दै रक्तदाताले विरोध जनाउन थालेका छन्। रक्तसञ्चार सेवाको मूल्य बढाउने विषयमा शुक्रबार राजधानीमा आयोजित बैठकमा उनीहरूले मागअनुसारको रगत व्यवस्थापन नगरी रगतको मूल्य मात्र बढाउन खोजेको भन्दै विरोध गरेका हुन्।

दुई तिहाइ रगत खेर

सरकारले रगत व्यवस्थापनमा ध्यान नदिँदा रक्तदाताबाट प्राप्त करिब दुई तिहाइ रगत खेर जाने गरेको छ। रक्तसञ्चारको सेवालाई सुलभ र सहज बनाउने जिम्मा पाएको ब्लड बैंकको लापरबाहीका कारण रगत खेर जाने गरेको हो।

ब्लड बैंक भने अस्पतालले रगतको संस्थागत जिम्मा नलिई बिरामी पक्षलाई रगत लिन पठाउँदा प्राप्त रगतको सदुपयोग हुन नसकेको बताउँछ। बैंककी निर्देशक राजकर्णिकारले भने प्राप्त रगत सुरक्षित राख्‍न एक स्थानबाट अर्को स्थानमा ओसारपोसार गर्दा र अस्पतालमा पठाएको रगत समूह नमिलेपछि प्रयोगमा नआउँदा रगत खेर जाने गरेको बताइन्। अस्पतालमा माग हुने चार सय पिन्ट रगत दैनिक उपलब्ध गराए पनि डेढ सय पिन्ट मात्र प्रयोगमा आउने गरेको उनको भनाइ छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z