‘मुकुन्दे’ भन्छन्,पाल्न सके पो बिहे गर्नु !!
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पूर्व पश्चिम रेलसेवा विस्तार लगायत देश विकास गर्ने ‘मुकुन्दे’का योजनै योजना 
जर्मन उपन्यासकार हर्मन हेस्सेले एउटा चर्चित उपन्यास विश्व साहित्यलाई उपहार छाडेर गए । ‘सिद्धार्थ’ जसको नाम हो । यस उपन्यासको मुख्य पात्र सिद्धार्थले कमलालाई भनेका छन्,कमला ! केही मानिसहरु हावाको ईशारामा नाच्ने वजनहिन सुकेका पात जस्ता मात्रै हुन,भुइँमा नखसुन्जेल हावाको ईशारामा उड्छन् र उडानको दम्भ मनमा संगालेर बाँच्छन् ।’ यस्तै–यस्तै,आजभोली डिल्लीबजारको चिया दोकानतिर भेटिनेहरु मध्यै कैयौंले मुकुन्द घिमिरे ‘मुकुन्दे’लाई पनि ‘हावा’ भन्छन् । लामो समयसम्म दाह्री पालेर पोते भिर्दै, रत्नपार्क तिर टहलिनेहरुको टाईमपासको माध्यम बन्ने मुकुन्दे आजकाल त्यहाँ छैनन् ।

भोजपुरको खार्तम्छामा २०३५ सालमा जन्मेका मुकुन्देलाई पछ्याउँदै हामी घट्टेकुलोमा पुग्यौं । घट्टेकुलो चोकवाट केहि मिटर भित्र छिरेपछि गौतम बुद्धका जस्ता आँखाको आकृति भएको हरियो गेट भित्र थियो ‘मुकुन्दे निवास’ । धनिमानीहरुको बाथरुमजत्रो थियो उनको डेरा,जसमा उनले १७ बसन्त ब्यतित् गरिसकेका छन् । तपाईलाई हावा भन्छन् नी ? ‘तिनीहरुलाई सेम टु यु भन्न चाहन्छु ।’ निर्धक्क मुडमा मुकुन्द बोले । ‘हावा ल्याउन खोजेको छु,त्यतिवेला मलाई हावा भन्नेहरुलाई सुकेको पात जस्तै उडाउन चाहन्छु ।’ यति भन्दै गर्दा पार्टिको मुहारमा आक्रोशको भाव चढिसकेको थियो ।

भोजपुरको विरेन्द्र मावि कुलुङबाट २०५० सालमा एसएलसी पास गरेका पार्टि ओभरसीयर को पढाई पुरा गरेपछि मात्र काठमाडौं छिरेका थिए । पुर्वाञ्चल ईन्जिनीयरीङ क्याम्पस धरानबाट आई.ए सरहको ओभरसीयर पास गरेको सर्टिफीकेट देखाउँदै पार्टिले भने ‘यो तालिम जस्तै हो,तर यो सर्टिफीकेट भएपछि बिबिएस पढ्न कसैले रोक्न सक्दैन ।’
तत्कालिन प्रधानपञ्च लिला प्रसाद पार्टिका तीन श्रीमतीमध्ये कान्छितिरका जेठा सन्तान मुकुन्दले तत्कालिन विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा (अहिलेको संविधानसभा भवन) मेकानिकल ओभरसियरको रुपमा ६ महिना जागीर खाएको अनुभव साट्न भ्याए । ‘एयर कन्डिसन ओभरसीयरको रुपमा ६ महिना अस्थायी सरकारी जागीर खाएको रेकर्ड छ, तर त्यतिवेलाका इन्जिनीयरहरु मेरा बुवाकोमा गएर ढोग्न तयार भएको देखेर जागीर भन्दा राजनीति ठूलो जस्तो लाग्यो ।’ पार्टिले राजनीतितिरको आकर्षणको कारण केलाउन खोजे । ‘त्यतिवेला मलाई सरकारको उच्च अधिकारीभन्दा अहिलेका माओवादी नेता लिलामणी पोखरेल जस्तै बन्न मन लाग्थ्यो’ उनले जागीरप्रतिको विकर्षण र राजनीती प्रतिको आकर्षणको अर्को पोयो फुकाए । कुरा २०५८ तिरको हो, स्थानीय चुनाव लड्न भनेर उनि राजधानी छाडेर गाउँतिर लागे ।
गाउँ फर्केपछी स्थानीय चुनावको माहोल बनाउन सक्रिय भए,तर उनले भोजपुरको एउटा गाविसमा बनाएको माहोलले के अर्थ राख्थ्यो र ? माओवादी जनयुद्ध दिन दुगुना रात चौगुनाको रफ्तारमा कुदीरहेको थियो । स्थानीय चुनाव भएन । पार्टि पुन: काठमाडौं फर्किए ।
mukunda-2मान्छेको स्वभाव फरक–फरक हुन्छ,केही न केही नगरी बस्नै नसक्ने पार्टि स्थानीय चुनाव लड्न नपाएपछि विदेश जाने सपना मनभरी साँचेर मेनपावर तिर धाउन थाले । ‘त्यतिवेला दुवई जाने सपना थियो,तर म्यानपावर धाउँदा दु:ख पाएका मान्छेको हालत देखेपछि मेरो मन बेचैन भयो ।’ अँध्यारो कोठाबाट उनले ढोकावाहिर हेरे,ठाउँ–ठाउँमा प्वाल परेको पर्दावाट मधुरो उज्यालो भित्र छिर्दै थियो । म्यानपावरले दु:ख दिएका हरुको उद्धारका लागी भन्दै उनि ‘बैदेशिक रोजगार सहयोग केन्द्र’ नामक संस्था खोलेर सक्रिय भए । ‘यसै क्रममा बैदेशिक रोजगार भन्ने पत्रिका पनि प्रकाशन गरेको थिएँ ।’ पार्टिले पत्रकार हुँदाको आफुलाई संझिए । त्यहि क्रममा पार्टि एकपटक भोजपुर पुगेका थिए । यो २०५९ को कुरा हो । ‘युवाहरुलाई वैदेशिक रोजगारीमा जान सहयोग गरेको र पत्रिका निकालेर पार्टीको विरोध गरेको भन्दै मैले त्यतिवेलाका युद्धरत पक्षवाट पिटाई खाएँ’यो वाक्य बोल्दै गर्दा उनको आक्रोशको पारो चढेर निकै माथि पुगीसकेको थियो ।
त्यसपछि फेरी शान्ती खोज्न काठमाडौं फर्केका पार्टिले पहिलो एक्सन स्वरुप आफ्नै पासपोर्ट जलाईदिए । श्रम विभाग अगाडी गएर पासपोर्ट जलाउने क्रममा पक्राउ परेका घिमिरे केहि दिनपछि रिहा भए । ‘पासपोर्ट जलाएको घटना राम्ररी सेलाउँन नपाउँदै म काठमाडौंका चोक–चोकमा गएर राजा र माओवादी मिल्नुपर्छ भनेर भाषण गर्ने अभियानमा लागें ।’ पार्टिले जिन्दगीको अर्को टर्निङ प्वाईन्टको पोयो फुकाए ।
जब मुकुन्द पार्टि राजधानीका चोक–चोकमा भाषण गर्न थाले त्यसपछि उनको जिन्दगीले पलपलमा नयाँ मोड लिन शुरु गर्‍यो । मुकुन्दले कहिले लोकतन्त्र आएपछि ज्ञानेन्द्र र माओवादी मिलेको भन्न थाले, कहिले माओवादी ले युद्ध जितेको हैन ज्ञानेन्द्र संग मिलेर शान्ति प्रक्रियामा प्रवेश गरेको भने । यस्तोमा २०६३ सालभरी उनी रत्नपार्कको पिपलको रुखको फेदीमा बस्थे र नानाभाँती तर्क गरिरहन्थे । ‘जव माओवादीले ममाथि कुटपीट थाले, तब मैले भुई छाडेर रत्नपार्कको पिपलको रुखमा बस्न थालेँ,यो २०६३ पछिको कुरा हो ।’पार्टिले भने ।
आम मान्छेको नजरमा मुकुन्द पार्टि चटकी मान्छे हुन । उनि के मात्र गर्दैनन् । दोस्रो संविधानसभाको निर्वाचनपछिको उप–निर्वाचनमा काठमाडौं–२ बाट चुनाव लड्ने तयारी गर्दै गर्दा घिमिरे पक्राउ परे । ‘राष्ट्रिय झण्डाको स्वरुप विगारेको भन्दै प्रहरीले पक्राउ गर्‍यो,अहिले पनि त्यहि मुद्धा लडिरहेको छु ।’ घिमिरेले भने । त्यतिवेला हनुमानढोका पुर्‍याइएका घिमिरेलाई तत्कालिन डिएसपी शरद कुमार ओलीले सोधे ‘तपाईको नाम केहो ?’‘लाखौं नेपाली जनताले चिन्ने मुकुन्देलाई तपाई नचिन्ने ? तपाईको नाम चैं केहो, डिएसपी साव ?’ घिमिरेले ओलीलाई प्रतिप्रश्न गरे । ‘त्यसपछि मलाई मानसीक परिक्षणका लागी भन्दै डिएसपीले पाटन पठाईदिए । घिमिरेले तितो यथार्थ संझिए ।
मानसिक रोग अस्पताल पाटन पुगेपछि फेरी पार्टिले अर्को हंगामा मच्चाईदिए । उनको स्वास्थ्य परिक्षण गर्न आउने डाक्टरलाई पार्टिले सोधे ‘डाक्टर साव, तपाई मसँग एकपटक चेस खेलेर हेर्नुस ।’ त्यसपछि डाक्टरले पार्टिको मानसिक स्वास्थ्यबारे यकिन गर्न सकेनन् ।
‘म आजभोली ३६ बर्षमा हिंडीरहेको छु ।’ यसो भन्दै गर्दा पार्टिको अनुहारमा शुरुवाती चरणमा देखिएको आक्रोशको पारा घटिसकेको थियो । भोजपुरमा बावु–आमा र भाईहरुका परिवार बस्छन् तर मुकुन्द भने २०६४ पछि घर फिर्केका छैनन् । ‘म संग जनधन छैन,घर जाँदा लैजाने कोशेलीपातको जोहो पनि नगरी के घर जानु ?’ घिमिरेले जन्मथलो नफिर्नुको कारण खोले । ‘गाउँमा मेरो नाममा पाँच रोपनी जमिन छ,लालपुर्जा यतै ल्याएको छु ।’ जन्मथलोको ममतासँग भुमीको साईनो सोझ्याए उनले ।
mukunda-4
रत्नपार्क जस्तै अर्को पार्क ‘फेसवुक’
रत्नपार्क छाडेपछी मुकुन्दको दु:ख विसाउने चौतारी आजकाल सामाजिक संजाल बनेको छ । ‘बरको बिरुवा हुर्केपछि म बस्ने चौतारो भत्काईयो, आजभोली फेसवुकमा गुनासो पोख्छु ।’ घिमिरेले भने । जिवीका धान्न पुग्ने परिभाषीत आयस्रोत नभएकाले फेसवुक बाटै हारगुहार गरेर विहान बेलुकाको हातमुख जोर्छन पार्टि । फेसबुक चलाउनको लागी एकजना शुभचिन्तकले उनलाई स्मार्टफोन दिएका छन् ।
सामाजिक संजाल र डिल्लिबजारका चिया दोकानमा बसेर गफ चुट्ने ‘मकुन्दे’ आफुलाई न कांग्रेस निकट मान्छन न कम्युनिष्ट । ‘म राजावादी पनि हैन,र्‍याडिकल डेमोक्र्याट हुँ ।’पार्टिले आफ्नो बास्तविक धार बोले । मुकुन्द पार्टिको आजका सव प्रयत्नहरु राजनीतीमा आउनकै लागी हो । विपि भन्दा डेमोक्र्याट,मदन जस्तै पपुलर,र विरेन्द्र जस्तै जेन्टल बन्ने सपना साँचेका छन् पार्टिले । ‘केजरीवाल स्टाईलले जिरोवाट हिरो हुने र मोदी जस्तै जम्ने मेरो लक्ष्य हो ।’ मुकुन्दले थपे । मोदी जस्तो जम्ने सपना देख्ने मुकुन्देलाई राजनीतीका हरेक केस्रा कसरी थाहा हुन्छ ? पंतिकारको प्रश्न भुंईमा खस्न नपाउँदै उनले भने ‘डिल्लीबजारको ध्रुवको पसलमा आउने सवै पत्रिकाहरु पढेर राजनीती बारे अपडेट हुन्छु ।’
धार्मिक मन
कोठा खोल्ने बेलामा मुकुन्द पार्टिले जनैमा बाँधेको साँचो निकाले, र निहुरीएर ताल्चा खोले । नेपाली सेनालाई धार्मीक सेनाको रुपमा ब्याख्या गर्ने पार्टि डिल्लिवजार–बागवजार तिरका बाटामा पर्ने मन्दिरलाई नमस्ते गरेर मात्र अगाडी बढ्छन् । ‘धर्म छैन भन्ने हामीलाई थाहा छ,तर भन्न मिल्दैन किनकी धर्मले अनुशासनमा बाँधेका युवाहरु कुवाटोमा लाग्छन् र समाज बिग्रन्छ ।’ उनले धार्मिक अनुशासनको सटिक विश्लेषण गरे । धार्मिक मनका पार्टिले यदि राजनीतीक गतिवीधी मार्फत उदाउन सकेमा नेपाललाई पुर्व–पश्चिम रेलमार्गबाट जोड्ने सपना देखेका छन् । ‘ट्याक्टरले खेत जोत्ने,हेलीकप्टरले बिउ–बिजन छर्ने गरी नेपाली कृषी क्षेत्रको विकास गर्नु मेरो अर्को लक्ष्य हो ।’ पार्टिले काल्पनिक योजना पस्किए ।

‘मुकुन्दे’का योजना
२०५२ सालमा माओवादीले शुरु गरेको जनयुद्धका एक सहयोद्धा थिए पार्टि । ‘त्यतिवेला पदम राईसँग मिलेर मैले धरानतिर जनयुद्धको पोष्टर टाँस्ने काम गरेको थिएँ ।’ उनले जनयुद्धका सारथीको रुपमा आफुलाई पुष्टि गर्न खोजे । लामो समय उनि माओवादी आन्दोलनमा टिक्न सकेनन् । माओवादीले हिंसाको कुरा उठाएको भन्दै उनि छोटो समयमै बाहीरीएका थिए ।
‘अब मेरो पार्टी राष्ट्रिय गणतन्त्र पार्टी हुन्छ ।’ निर्भीकताको भावमा पार्टिले भावी योजना बारे बोले । उनले राष्ट्रियता गणतन्त्र र समाजवाद प्रति समर्पित पार्टी बनाउने लक्ष्य पालेका छन् । ‘अहिले भट्याउने एक्लैछु,देउसीरे भन्ने कोही छैन ।’ पार्टिले पार्टी गठन र परिचालनमा चुनौतीको पोयो फुकाए । उनि थप्दै थिए दुई पाँच सहयोग गर्ने मान्छेहरु पनि तयार भैसकेका छन् । काम गर्नेनै भाग्यमानी ठहरीने कुरा पार्टि राम्ररी जान्दछन् । ‘यो देशको पक्षमा काम गर्ने मान्छे कोही नभएकाले त्यो भाग्मानी मैं हुन्छु की जस्तो लाग्छ ।’ भविष्य प्रति विश्वस्थ हुँदै पार्टिले भने ।
हातमा ओभरसियरको सर्टिफीकेट भएपनि मुकुन्द पार्टि जागीर खाने पक्षमा छैनन । ‘साधारण जागीरमा अडीन सकिन्न, मलाई राष्ट्रपति कसले दिने ?’ पार्टिले जागीर प्रतिको विकर्षण सुनाए । बरु अनसन र जेल बस्न तयार हुने पार्टिलाई जागीरको मतलवै छैन । भाग्यले आफ्नो भागमा छुट्ट्याईदिएको लफडा भोग्दा भोग्दै पार्टिले ३६ बसन्त भोगिसके तर आजसम्म स्त्रि भोग गर्न पाएनन् । ‘विहे गर्ने रहर छ,तर आर्थिक अभावले गर्दा पाल्न सक्ने हैसीयत छैन ।’ उनले आफ्नो बास्तविकताको अर्को पोको फुकाए । उनलाई नै पाल्न सक्ने खालकी केटीमान्छे पाएमा भने विहे गर्न राजी छन् पार्टि । ‘रत्नपार्क छाडेर बल्ल सामाजिक जिवनमा फर्कंदै छु,समाजले पत्याउन थालेपछि अवश्य विवाह गर्नेछु ।’ उनका सव आदर्श एउटी महिला पाउने आशामा टुंगीयो । (फोटो :गोकर्ण लामीछाने)

###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z