स्वर्गद्वारीमा केबलकार बन्नेः विस्तृत अध्ययन सकियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
प्युठान, मंसीर १९ – केबलकार विस्तृत अध्ययन समूहले स्वर्गद्वारीको केबलकार निर्माण अध्ययन पूरा गरी निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ । समूहले पर्यटकीय तथा धार्मिक तीर्थस्थल स्वर्गद्वारी आधार शिविर भिगृदेखि आश्रमसम्म ३.५ किलोमिटर लामो केबलकार निर्माण उपयुक्त रहेको भन्दै प्रतिवेदन बुझाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार विकास आयोजनाले विस्तृत सम्भाव्यता अध्ययन सकेर निर्माण प्रक्रिया अगाडि बढाउनका लागि सिफारिस गरेको मन्त्रालय योजना महाशाखाका वरिष्ठ अधिकृत डोरेन्द्र निरौलाले जानकारी दिए ।

 “केबलकार निर्माणका लागि मन्त्रालयले केही दिनभित्रै निजी क्षेत्रसँग प्रस्ताव माग्ने तयारी गरेको छ । उनले भने, “स्वर्गद्वारीमा केबलकार निर्माण गर्न निजी क्षेत्रसँग प्रस्तावना माग्दैछौँ । समुद्री सतहबाट दुई हजार १२१ मिटर उचाइमा रहेको स्वर्गद्वारी धार्मिक रुपमा विश्वमा प्रसिद्ध छ । “सांस्कृतिक रुपमा मात्रै नभई यहाँको केबलकार धार्मिक तथा राष्ट्रिय गौरवको विषय हो ।” राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोख्रेलले भने, “भिगृबाट स्वर्गद्वारीसम्ममा केबलकार र प्युठान जानका लागि विमानस्थल बनाउने महत्वकांक्षी लक्ष्य रहेको छ ।”

 उपाध्यक्ष पोख्रेलले केबलकार निर्माणपछि स्वर्गद्वारीमा वार्षिक आन्तरिक र बाह्य पर्यटकमा वृद्धि हुने बताए । हाल वार्षिक दुई लाखसम्म पर्यटक आउने गरेकामा केबलकार निर्माण भएपछि १५ लाख पर्यटक स्वर्गद्वारी दर्शनका लागि आउने अध्ययन प्रतिवेदन समितिले दिएको छ । आयोजनाका लागि रु एक अर्ब लाग्ने अनुमान गरिएको वरिष्ठ अधिकृत निरौलाले जानकारी दिए । मन्त्रालयले सार्वजनिक–निजी साझेदारी मोडलमा निर्माण गर्ने गरी विस्तृत अध्ययन पूरा गरेको छ । आयोजना निर्माण सुरु भएको १८ महिनामा निर्माण सक्ने लक्ष्य रहेको छ । भिगृका स्थानीय ईश्वरी रेग्मीले भन्नुभयो, “यसभन्दा पहिला स्वर्गद्वारी आश्रम प्रमुखले केबलकार निर्माणविरुद्ध अदालतमा रिट दायर गरेपछि समस्या भएको थियो ।

” स्वर्गद्वारी आश्रम प्रमुख भागवतानन्द गिरीले केबलकार निर्माणले मन्दिर परिसरको भौगोलिक वातावरण बिग्रिने र स्वरुपमा परिवर्तन हुने भन्दै सर्वोच्च अदालतमा केबलकार निर्माणको विरुद्धमा रिट दायर गरेका थिए । “सर्वोच्चले स्थानीयको पक्षमा निर्णय गरेपछि केबलकार निर्माणको बाटो खुल्यो”, स्थानीय रेग्मीले भने । सोह्र सय रोपनीमा फैलिएको आश्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत भालुवाङ–प्युठान–रोल्पा सडकखण्डको भिगृबाट १३ किलोमिटरको यात्रापछि आश्रममा पुग्न सकिन्छ । यहाँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे, अन्नपूर्ण, मनास्लु, सिस्नेजस्ता हिमशृङ्खलासमेत अवलोकन गर्न सकिने भएकाले पनि केबलकार राष्ट्रिय चासोको विषय बनेको छ । आश्रमबाट माडी नदीमा जानका लागि जमिनमुनिबाट समेत गुफाको बाटो रहेको छ । पाँच पाण्डवहरू स्वर्ग जाँदा अन्तिम रात यहीँ बास बसेकाले यस स्थानको नाम स्वर्गद्वारी रहन गएको धार्मिक विश्वास रहिआएको छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z