भारतले नेपाल सीमामा फौज बढाउने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नयाँदिल्ली : भारतले नेपाल-भारत एक हजार आठ सय ५० किलोमिटर लामो सीमामा सशस्त्र सीमा बल (एसएसबी) को संख्या बढाउने भएको छ। 'आतंकवादी गतिविधि निर्मूल गर्न' भारतले नेपालसँगको सीमामा सुरक्षा बलियो पार्न लागेको भारतीय स्रोतले जनाएको छ।

नयाँदिल्लीले नेपाल-भारत सीमामा रहेका सशस्त्र सीमा बलको संख्या तत्काल वृद्धि गर्ने तथा गुप्तचर विभागलाई समेत सीमामा अझ व्यापक बनाउने स्रोतले जनाएको छ। 'आतंकवादीले भारत प्रवेश गर्न नेपालको सीमा प्रयोग गर्नसक्ने सम्भावना' लाई नियन्त्रण गर्न एसएसबीको संख्या बढाउन लागिएको स्रोतको दाबी छ।

नेपाल-भारत सीमामा पाकिस्तानी गुप्तचर संस्था आईएसआईको गतिविधि तथा मदरसाका क्रियाकलापबारे निगरानी गर्नसमेत एसएसबीको संख्या बढाउन लागिएको बुझिएको छ। भारतीय गृह मन्त्रालयले एसएसबीको गुप्तचर विभागको क्षमता नेपाल-भारत सीमामा दोब्बर पार्नेसमेत स्रोतले जनाएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले सीमा क्षेत्रमा भइरहेका आतंकवादी गतिविधिका कारण भारतले एसएसबीको संख्या बढाउन लागेको हुनसक्ने उल्लेख गरेको छ।

भारतीय परराष्ट्र मन्त्रालयले भने नेपाल-भारत सीमामा सुरक्षा बढाउने कुनै तत्कालीन रणनीति नभएको जनाएको छ। 'यस्तो कुनै निर्णय भएको छैन', मन्त्रालय स्रोतले भन्यो। उसले यसबारे गृह मन्त्रालयले काम गरिरहेको हुनसक्ने भने अस्वीकार गरेन।

गृह मन्त्रालयले काम गरिरहेको उक्त प्रस्तावअनुसार एसएसबीले नेपालसँगको सीमामा कम खतरापूर्ण हतियार प्रयोगमा ल्याउने तयारीसमेत गरेको छ। यसअघि भारतले भुटानसँगको सीमामा पनि उत्तरपूर्वी क्षेत्रका आतंकवादी गतिविधिलाई निगरानीमा राख्न सुरक्षा बलियो बनाएको थियो।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z