१६२ यात्रु बोकेको एयर एशियाको विमान समुद्रमा खस्यो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
१६२ यात्रु बोकेको एयर एशियाको विमान समुद्रमा खस्यो

ग्राफिक्स malaysiakini बाट साभार
इन्डोनेशियाबाट सिंगापुर जाँदै गरेको एयर एशियाको विमान ‘एयरबस ए ३२०–२००’ समुद्रमा खसेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एयरलाइन कम्पनी एयर एशियाले क्यूजेड ८५०१ कल साइन भएको विमान सम्पर्कविहिन भएको जनाएको छ ।
विमानमा ५ जना चालकदलका सदस्यसहित १६२ यात्रु सवार थिए । जसमध्ये १५६ जना इन्डोनेशियाली, तीन जना दक्षिण कोरियाका साथै सिंगापुर, फ्रान्स र मलेशियाका एकएक जना रहेको एयरलाईन्स कम्पनीले जनाएको छ ।
इन्डोनिशियाको समाचार एजेन्सी अन्तराले ‘राष्ट्रिय खोज तथा उद्दार एजेन्सी’ लाई उद्धृत गर्दै विमान बेलिटुङ टापुदेखि १४५ किमी टाढा समुद्रमा खसेको जनाएको छ ।
खराब मौषमका कारण विमानले एयर ट्राफिक कन्ट्रोलरलाई वैकल्पिक मार्गका बारेमा सोधेको र त्यसलगत्तै सम्पर्कविहिन भएको इण्डोनेशियाली अधिकारीहरुले जनाएका छन् ।
चीनको सीसीटीभीले पनि बेलिटुंग टापु नजिक विमानको अवशेष देखिएको बताएको छ । यद्दपी एयर एशियाले भने यसको पुष्टि गरिसकेको छैन ।
स्थानीय समय अनुसार इण्डोनेशियाको सुराबायाबाट विहान ५ः३५ मा उडेको विमान ४२ मिनेटपछि सम्पर्कविहिन भएको थियो । उडान तालिका अनुसार उक्त विमान सिंगापुरमा स्थानीय समय अनुसार विहानको ८ः३० बजे पुग्नुपर्ने थियो ।
इन्डोनेशियाको एयर एशियामा ४९ प्रतिशत लगानी मलेशियामा मुख्यालय भएको एयर एशियाको छ ।
विमानका चालकको ६ हजार १०० घण्टा र प्रथम अफिसरको २ हजार २७५ घण्टा उडानको अनुभव भएको पनि एयरलाइन्सले जनाएको छ ।
३२ हजार फिटको उचाइँमा उडिरहेको विमानको रुटमा बाक्लो बादल भएकाले विमान बायाँ तर्फ मोडिएकोसम्म सूचना आफूलाई भएको इन्डोनेशियाली अधिकारीले बताएका छन् ।
यसअघि मलेशियाको राष्ट्रिय विमान सेवा मलेशिया एयरलाइन्सका दुई वटा विमान ‘एमएच ३७०’ र ‘एमएच १७’ यसै वर्ष दुर्घटनामा परिसकेका छन् ।
२३९ जना यात्रु र चालकदलका सदस्य बोकेको ‘एमएच ३७०’ विमान गत मार्च महिनामा क्वालालम्पुरबाट बेजिंग जाँदै गर्दा वेपत्ता भएको थियो जसको अहिलेसम्म केही पत्ता लागेको छैन ।
त्यसैगरी २९८ यात्रु बोकेको ‘एमएच १७’ विमान युक्रेनमा मिसाइल आक्रमणमा परी दुर्घटना भएको थियो ।


###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z