नेपाल - चीन व्यापार: दुवै देशको मुद्रा प्रयोग गर्ने सहमति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : नेपाल र चीनबीच द्विपक्षीय व्यापारमा दुवै देशको मुद्रा प्रयोग गर्ने सम्झौता भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाको चीन भ्रमणको क्रममा दुई देशका केन्द्रीय बैंकबीच द्विपक्षीय व्यापार तथा भुक्तानीमा दुवै मुद्रा प्रयोग गर्न सहमति भएको छ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार भुक्तानी व्यवस्थालाई सहजीकरण गर्न दुई देशका केन्द्रीय बैंकका गभर्नरबीच यस्तो सम्झौता भएको हो। सम्झौताले चिनियाँ युआन तथा नेपाली रुपैयाँबाट दुई देशबीच भुक्तानी गर्न सकिने विषयमा बाटो खुला गरेको छ। हालसम्म दुई मुलुकबीचको व्यापारमा हुने भुक्तानी अमेरिकी डलरमा मात्र हुने गरेको छ।

सिन्ह्वाका अनुसार पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दुई क्षेत्रका मुद्राको प्रयोग अन्तरक्षेत्रीय व्यापारको भुक्तानीका लागि प्रयोग गर्न सकिनेछ।'

सम्झौता छिटो कार्यान्वयनमा आएमा भुक्तानीको विषयमा सहज हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले बताए। 'अहिलेसम्म डलरमा भुक्तानी गर्नुपर्ने अवस्था थियो', उनले भने,'यसले चीनमा व्यापार गर्न व्यवसायीलाई सहज बनाएको छ।'

नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षदेखि चिनियाँ ऋणपत्रमा लगानी गर्ने निर्णय गरिसकेको छ। राष्ट्रबैंकले चिनियाँ केन्द्रीय बैंकमार्फत चिनियाँ ऋणपत्रमा लगानी गरेको छ।
सम्झौताले चिनियाँ युआन र नेपाली रुपैयाँबाट दुईदेशबीच भुक्तानी गर्न सकिने विषयमा बाटो खुला गरेको छ। हालसम्म दुई मुलुकबीचको व्यापारमा हुने भुक्तानी अमेरिकी डलरमा मात्र हुने गरेको छ।
गभर्नर डा. खतिवडाको चीन भ्रमणको क्रममा चिनियाँ ऋणपत्रमा लगानी गर्ने ऋणपत्रको सीमा बढाउने विषयमा पनि सहमति भएको राष्ट्र बैंक सम्बन्ध स्रोतले जानकारी दियो। विभिन्न विषयमा सम्झौता भए पनि यसको विस्तृत विवरण शुक्रबार आउने राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले जानकारी दिए।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालको चीनसँगको द्विपक्षीय व्यापार हरेक वर्ष बढ्दै गएको देखिएको छ। चालू आर्थिक वर्षको चार महिनामा चीनबाट १६ अर्ब रुपैयाँको सामान भित्रिएको छ। अघिल्लो वर्ष यस्तो आयात १३ अर्ब रुपैयाँको थियो।

नेपालमा पनि अहिले संख्या र लगानी दुवैका आधारमा चिनियाँ लगानी बढ्दै गएको छ। गत वर्ष नेपालमा विदेशी लगानीमा स्थापना भएका कम्पनीमा चिनियाँ सबैभन्दा धेरै छन्। राष्ट्र बैंकका गभर्नर खतिवडाको चीन भ्रमणका क्रममा भएको सम्झौताले दुई देशबीच भुक्तानीको विषयमा समस्या समाधान भएको सिन्ह्वाले जनाएको छ।

गभर्नर डा. खतिवडाको चीन भ्रमणको क्रममा दुई देशबीच आतंकवादी क्रियाकलापबाट आर्जन भएको सम्पत्तिको विषयमा एकअर्को देशलाई जानकारी दिने विषयमा पनि सम्झौता भएको छ।

यसले आतंकवादी क्रियाकलापबाट आर्जन भएको सम्पत्ति एकअर्कोको देशमा जानको लागि रोक्ने विश्वास गरिएको छ। यस्तै नेपालले चिनियाँ बैंक नेपालमा खोल्नको लागि पनि आग्रह गरेको छ।

चीन भ्रमणको क्रममा राष्ट्र बैंकका गभर्नर डा. खतिवडाले पीबीओसीका गभर्नर चौसियाओछुवानसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै अन्य अधिकारीसँग पनि भेटवार्ता गरेका थिए।

एक हजार र पाँच सय नोटको प्रतिबन्ध हटेन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला पाँच सय र एक हजार दरका भारु खुला गर्ने विषयमा सहमति भए पनि यसका लागेको प्रतिबन्ध अझै हटेको छैन। दुई देशका सरकार प्रमुखको उपस्थितिमा सम्झौता भएको एक महिना बितिसक्दा पनि प्रतिबन्ध हटेको सूचना राष्ट्र बैंकले अझै दिएको छैन।

राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले भारतीय केन्द्रीय बैंकबाट प्रतिबन्ध हटेको जानकारी नआएका कारण सूचना जारी नगरेको बताए। 'भारतीय केन्द्रीय बैंकले प्रतिबन्ध हटाएको लिखित जानकारी राष्ट्र बैंकमा पठाउनुपर्ने हुन्छ', उनले भने 'उताबाट प्रतिबन्ध हटाएको जानकारी हामीलाई पठाएपछि सूचना जारी गरेर प्रतिबन्ध हटाउने छौ।'

एक महिनाअगाडि २५ हजार भारतीय रुपैयाँसम्म एक हजार र पाँच सय भारुको नोट बोक्न सकिने सम्झौता भएको थियो। भारतले ठूला नोट सञ्चालनमा नेपालमा लगाएको प्रतिबन्धले भारतमा रोजगारी गर्न जाने नेपाली तथा भारतबाट नेपालमा घुम्न आउने भारतीय पर्यटक समस्यामा पर्ने गरेका छन्। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z