सुत्केरी बचाउन हेलिकोप्टर चार्टर, बच्चाको गर्भमै मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गोरखा : सुत्केरी व्यथाले थलिएकी सिर्दिबास ८ फिलिमकी अनु गुरुङलाई आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको छ। छ दिनदेखि सुत्केरी हुन नसकेर छटपटाइरहेकी २१ वर्षे गुरुङलाई हेलिकोप्टरबाट बिहान १२ बजे थापाथलीस्थित प्रसुति गृह पुर्‍याएर बचाइएको स्थानीय धनबहादुर गुरुङ्गले जानकारी दिए।

गुरुङको ज्यान बचे पनि बच्चाको गर्भमै मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै धनबहादुरले जानकारी दिए। ‘समयमै उपचार नपाएर बच्चाचाहिँ मरेर टुक्रा टुक्रा भएर निस्क्यो । आमाको बल्लतल्ल ज्यान बच्यो’ उनले भने ‘रगतमा ५.६ प्रतिशत मात्र हेमोग्लोबिन रहेकाले आमाको ज्यान पनि मुस्किलले बचेको डाक्टरले भन्दैछन्।’उनलाई गत मंगलबारदेखि सुत्केरी व्याथाले छोएको थियो । तर यातायातको सेवा नभएको र लगातारको वर्षा र हिमपातका कारण समयमै हेलिकोप्टर चार्टर गर्न नसकेर उद्धारमा समस्या भएको धनबहादुरले बताए। ‘चारदिनदेखि रगत बग्न थालेको सुत्केरीको मुस्किलले ज्यान बच्यो’ उनले भने।


गाउँमै भरपर्दो प्रसुती सेवाकेन्द्र नभएको, प्रसुती गराउने दक्ष जनशक्ति नभएको, बजारसम्म पुर्‍याउन यातायातको सेवा पनि नभएको र मौसमको प्रतिकूलताका कारण सञ्चार सम्पर्क पनि नभएको, हेलिकोप्टर ल्याउन पनि नसकिएकाले मुस्किलले सुत्केरीको ज्यान जोगिएको धनबहादुरको भनाइ छ। ‘गाउँमा अस्पताल छैन । स्वास्थ्य चौकी मात्र छ। त्यहाँ अहेब र अनमी मात्र छन् । सुत्केरी गराउन सक्ने जनशक्ति छैन’ उनले भने ‘ब्लिडिङ भइरहेको छ। रोक्ने उपाय केही भएन । उनीहरुले केही उपचार गर्नै सक्दैनन् । चारदिनदेखि हिमपातले सबै टेलिफोन सेवा पनि अबरुद्ध भयो। हेलिकोप्टर बोलाउन, ल्याउन पनि सकिएन । आज अन्तिम अबस्थामा पुर्‍याएर धन्न आमाको मात्र ज्यान जोगाउन सकियो ।’ आमालाई पनि चार पाउण्ड रगत दिएर बचाएको उनले बताए।

हेलिकोप्टर चार्टर गराउँदा एकलाख २० हजार रुपियाँ खर्च भएको उनको भनाइ छ। ‘डकर्मी काम गरेर परिवार पालेको उनको श्रीमानसंग हेलिकोप्टर चार्टर गराउने खर्च थिएन। गाउँलेले पाँच हजार, १० हजार गरेर जम्मा गरेको पैसाले हेलिकोप्टर चार्टर गरेको हो’ धनबहादुर भन्छन् ‘गाउँमा सयकडा चार रुपियाँ, पाँच रुपियाँ ब्याज तिर्नुपर्छ । अब उसले कसरी रिन तिर्छ ?’ हिमाली भेगका बासिन्दाका लागि सरकारले सहयोग गर्नुपर्ने उनले माग गरे।

जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले हिमाली भेगका बासिन्दाका लागि परिवार स्वास्थ्य महाशाखाले आकस्मिक प्रसुती सेवाका अबस्थामा सहयोग गर्न सक्ने बताए । ‘परिवार स्वास्थ्य महाशाखाले सहयोग गर्न सक्छ । त्यसका लागि हाम्रो ठाउँबाट सक्दो सहयोग गर्छौं’ वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले भने ‘जसोतसो एउटा सुत्केरीको ज्यान बचेको छ। उनलाई सरकारी सेवा सुबिधाका लागि हामीले सक्दो सहयोग गर्नेछौं ।’

सदरमुकामबाट ३० कोश टाढा रहेको सिर्दिबास मनास्लु क्षेत्रमा पर्ने गाविस हो । गोरखाको मनास्लु क्षेत्रमा पर्ने सिर्दिबास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसमा यस्ता समस्या बर्षैपिच्छे पटक पटक परिरहन्छ। ‘गएको असार महिनामा पनि यस्तै समस्या भयो । बच्चा मर्यो, आमा मात्र बाँचिन्’ धनबहादुर गुरुङ्ग भन्छन् ‘पोहोर साल यस्तो घटना दुइटा भयो। आफै सक्नेले र मान्छेले रिन पत्याउनेले हेलिकोप्टर चार्टर गर्छन् । नसक्नेले सुत्केरी हुन नसकेर ज्यान गुमाउनु पर्ने अवस्था छ।’ मनास्लु क्षेत्रमा भरपर्दो सुत्केरी गराउन सक्ने दक्ष जनशक्ति सहितको प्रशुती सेवाकेन्द्रको खाँचो रहेको उनले बताए। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z