कोरियामा मासिक १ देखि ३ लाख रुपैयाँसम्म कमाउँछन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक रोजगार गन्तव्य हो । नेपाल र कोरियाले २००७ मा रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता गरेपछि नेपाली युवाहरू यहाँ आउन थालेका हुन् । कोरियामा नेपाली कामदारको संख्या र समस्या बढ्दै गएपछि सरकारले चार वर्षअघि श्रम सहचारीको व्यवस्था गरेको थियो । अहिले त्यहाँ श्रमसहचारीको जिम्मेवारी अनिलकुमार गुरुङले सम्हालिरहेका छन् । कोरिया आएदेखि नै विभिन्न औद्योगिक क्षेत्रमा पुगेर नेपाली कामदारको अवस्था बुझिरहेका गुरुङ कामदारहरूबीच लोकप्रिय पनि छन् । श्रम सहचारी गुरुङ कोरियाली सरकार तथा रोजगारदाताको नजरमा नेपाली कामदार मेहनती तथा लगनशील रहेको बताउँछन् । २०४६ सालमा निजामती सेवामा प्रवेश गरेर विभिन्न मन्त्रालयमा कुशल कार्यसम्पादन गरिसकेका गुरुङ नेपालका लागि ईपीएस कोटा बढाउन समेत पहल गरिरहेका छन् । एक वर्ष वैदेशिक रोजगार विभागको निर्देशकसमेत रहेका गुरुङसँग कोरियामा रहेका नेपाली कामदारका विविध विषयमा साप्ताहिकका लागि देवेन्द्र सम्बाहाम्फेले सोलमा गरेको कुराकानीको सारसंक्षेप :
तपाईंको न्यूनतम अवधि सकिएको छ र म्याद पनि थपिएको छैन, कामदारहरूमा अन्योल छाएको छ नि ?


मेरो कार्यअवधि पूरा भएको छ, तर पनि म्याद थप्नुपर्दैन । अर्को व्यवस्था नभएसम्म म नेपाली कामदारको हितमा लागिरहनेछु ।

दुई वर्षको अवधिमा नेपाली कामदारको अवस्था कस्तो पाउनुभयो ?

दक्षिण कोरिया नेपाली कामदारहरूका लागि आर्कषक गन्तव्य हो । यहाँ नेपाली कामदारहरूले मासिक १ लाख देखि ३ लाख रुपैयाँसम्म कमाएको हामीले पाएका छौं । खाने तथा बस्ने व्यवस्था कम्पनीले नै उपलब्ध गराउँदै आएका छन् । वाषिर्क रूपमा बोनसलगायतका विविध सुविधा छन् । बिरामी पर्दा विश्वको उत्कृष्ट स्वास्थ्यसेवा प्राप्त गर्न सकिन्छ । कडा रोग लागेकाहरू पनि उपचारपश्चात निको भएर काममा फर्किएका छन् । समष्टिगत रूपमा कामदारहरूको अवस्था सन्तोषजनक नै देखिन्छ ।

एमनेस्टीले इन्टरनेसनलले कोरियामा प्रवासी कामदारको स्थिति दयनीय रहेको जनाएको थियो ।

मैले एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनसम्बन्धी समाचारहरू पढेको थिएँ । यस विषयमा मलाई औपचारिक रूपमा कुनै जानकारी छैन ।

वास्तविक समस्याचाहिँ के हो त ?

दक्षिण कोरिया औद्योगिक राष्ट्र हो । यसको विकास तीव्र गतिमा भैरहेको छ, तसर्थ यहाँ विकासको गतिसँगै काम गर्नुपर्ने हुन्छ । खास गरेर नेपाली कामदारलाई भाषाको समस्या हुने गरेको छ । अन्यचाहिं संस्कृतिक भिन्नता र मौसमसम्बन्धी समस्या देखिएका छन् ।

आफ्नो दुईवर्षे कार्यकालको मुख्य उपलब्धि केलाई मान्नुहुन्छ ?

दुई वर्षमा मैले मुख्यत: ईपीएस कोटा बढाउने, नेपाली कामदारहरूलाई श्रम कानुनका बारेमा जानकारी गराउने तथा त्यसबाट फाइदा लिने एवं समस्यामा परेका कामदारहरूका बारेमा सम्बन्धित निकाय समक्ष समाधानका लागि अनुरोध गर्दै आएको छु । अस्वाभाविक मृत्यु तथा दुर्घटनाबाट जोगिनेजस्ता विषयमा पनि त्यत्तिकै ध्यान दिएको छु । त्यसका सकारात्मक परिणामहरू देखिएको यहाँका सबैलाई जानकारी भएकै कुरा हो । नेपाली कामदारहरूका लागि पनि सञ्चयकोषको व्यवस्था होस् भनेर सम्बन्धित निकायमा पहल गरेका छौं । नेपाली कामदारको मृत्यु भए मृतकको शव नेपाल पठाउने खर्च सम्बन्धित रोजगारदाता वा बिमा कम्पनीले बेहोर्नुपर्ने विषयमा पनि सम्बन्धित निकायसमक्ष आग्रह गरेको छु र केही सकारात्मक संकेत समेत देखिएका छन् ।

पाँचौं भाषा परीक्षामा अपेक्षाभन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन् । कोरिया सरकारसँग तपाईंहरूले कोटा बढाउन आग्रह गरेको होइन र ?

संख्याका हिसाबले गत वर्षभन्दा कम उत्तीर्ण भएको देखिए पनि अन्य देशको तुलनामा धेरै नेपाली परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाली कामदारहरू परिश्रमी, इमान्दार तथा लगनशील हुनाले पनि कोरियाली रोजगारदाताहरूले मन पराउँछन् भने कोटा बढाउने विषयमा कोरियाली सरकारसमेत सकारात्मक देखिएको छ । आगामी दिनहरूमा नेपाली कामदारहरूको संख्या वृद्धि हुने अपेक्षा राखेका छौं ।

कामदारको माग हरेक वर्ष बढेकै छ, तर उत्तीर्ण संख्या कम छ । कोरिया सरकारले ईपीएस नीति परिवर्तन गर्न लागेको हो ?

कुनै पनि बस्तु वा सेवाको आवश्यकता जति हुन्छ माग पनि त्यति नै हुने हो । ईपीएस राम्रो प्रणाली हो, किनभने यसमा छनौट प्रक्रिया पारदर्शी हुन्छ भने स्वदेशी तथा प्रवासी कामदारहरूमा समान कानुन लागू हुन्छ । दुई सरकारबीच हुने सहमतिका कारण यसमा कुनै बिचौलिया हुँदैनन् । यो नीतिमा परिवर्तनमा आउने कुरा हालसम्म मेरो जानकारीमा आएको छैन ।

अन्य देशको तुलनामा नेपाली महिला कामदारको संख्या पनि कमै छ नि ?

कोरियामा रहेका सम्पूर्ण प्रवासी कामदारमध्ये पुरुषको संख्या ९२ प्रतिशत तथा महिला कामदारको संख्या ८ प्रतिशत छ । सरसर्ती हेर्दा रोजगारदाताहरू पुरुष कामदारलाई बढी प्राथमिकतामा दिन्छन् । केही क्षेत्रमा भने महिला कामदारको माग हुन्छ । मागअनुसार कामदारको संख्या कायम हुने हो । कतिपय देशका महिला कामदार नै नभएको अवस्थामा नेपाली कामदारहरूको संख्यालाई कम मान्नु हुँदैन । तथापि हामीले समय-समयमा सम्बन्धित निकायमा पनि यस बिषयमा कुरा राख्दै आएका छौं ।

अन्य वर्षको तुलनामा वर्ष २०१४ मा नेपाली कामदारको मृत्युदर कम रह्यो, होइन ?

विगतका वर्षहरूमा नेपाली कामदारहरूको अत्यधिक संख्यामा मृत्यु भएपछि नेपाली समुदायले यसतर्फ विविध प्रयास प्रारम्भ गरेको थियो । सबैको सामूहिक प्रयासमा संचेतनामूलक कार्यक्रमले गर्दा नै यो वर्ष नेपाली कामदारको मृत्युदरमा कमी आयो । यस विषयमा नेपाल तथा कोरियाका विभिन्न् सरकारी तथा गैरसरकारी निकायको प्रयास उल्लेखनीय रह्यो ।

कामदारको बिमा रकमसम्बन्धी नयाँ नियम कामदारको हितविपरीत रहेको भन्दै मजदुर संगठनहरूले विरोध गरिरहेका छन् । यस्तो अवस्थामा यहाँको सरकारलाई यहाँ रहेका १५ देशका श्रम सहचारीले केहि सल्लाह दिनुभएन ?

सम्बन्धित निकायहरूले समय-समयमा हामीलाई विविध बिषयमा छलफलका लागि बोलाउने गरेका छन् । त्यस्ता अवसरमा विविध विषयमा छलफल हुने गरेको छ ।

अन्य देशको दाँजोमा नेपालको लेबर मार्केटिङ कमजोर छ भन्ने सुनिन्छ नि ?

कोरियामा नेपाली कामदारको संख्या दिनानुदिन बढ्दो छ । नयाँ प्रवेश गर्ने मात्र होइन, सीबीटी उत्तीर्ण गरेर आउने तथा प्रतिबद्ध कामदार (एउटै कम्पनीमा ४ वर्ष १० महिना पूरा गरेर पुन: सोही कम्पनीमा र्फकने) को संख्या पनि निकै बढी छ । यो हाम्रो लेबर मार्केटिङको परिणाम पनि हो । हालसम्म कोरियामा प्रवेश गर्ने नेपाली कामदारको संख्या २६ हजारभन्दा बढी भैसकेको छ र आउँदा दिनहरूमा यो संख्या क्रमश: वृद्धि हुँदै जाने अपेक्षा गरेका छौं ।

यहाँ कार्यरत नेपाली कामदारलाई के सुझाव दिनुहुन्छ ?

कोरियामा नेपाली कामदारहरू अत्यन्तै मेहनती तथा सीपयुक्त रहेको विषयमा दुईमत छैन । कोरियामा सिकेको सीप स्वदेशमा लगेर नेपालको विकासमा लगाउन म सबैसँग हार्दिक अनुरोध गर्दछु । वैदेशिक रोजगारीबाट स्वदेश र्फकने नेपालीहरूका लागि स्वदेशभित्रै रोजगारी सिर्जना गरी उनीहरूको सीप सदुपयोग गर्ने विषयमा केही गृहकार्यसमेत अघि बढेको जानकारीमा आएको छ । सरकारको यो नीतिलाई कामदारहरूले सदुपयोग गरे देशमै रोजगारीको क्षेत्र बढ्ने कुरामा दुईमत हुँदैन ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z