यस्तो डाक्टर मैले देखेकै छैन!
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
डा. गोविन्द केसीलाई भेट्दा मलाई सधैँ शंका लाग्छ – मान्छे यतिसम्म निष्ठावान्, सरल र प्रतिबद्ध हुनसक्छ र!
‘नमस्ते, म डा. गोविन्द केसी!'
छ वर्षअघि कुनै एक शुक्रबारको दिन ‘नागरिक' कार्यालयको रिसेप्सनमा भेट भएका थिए उनी। सामान्य कमिज, पाइन्ट र कोटमा आएका ती दुब्लापातला व्यक्ति झट्ट हेर्दा डाक्टरजस्ता देखिन्थेनन्।

टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ भन्दा त झन् पत्याउनै गाह्रो। त्यति सरल, त्यति सामान्य।
उनको हातमा फोटो एल्बम थियो, हाइटीका भूकम्पपीडितहरूको जसमा उनी आफैं उपचारमा तल्लीन थिए। कुनै तस्बिरमा पालमुनि उपचार गरिरहेका थिए त कुनैमा सडकमै बिरामी जाँचिरहेका थिए। अत्यन्त भयावह अवस्थाका ती बिरामीलाई अत्यन्त जीर्ण हालतमा उपचार गरिरहेका डा. केसी प्रायः सबै तस्बिरमा असिनपसिन देखिन्थे। लामो समय अनवरत खटिएकाले आफैं बिरामी परेझैँ। एल्बम सर्सती पल्टाउँदा लाग्थ्यो, उनी कयौँ रातदेखि सुतेकै छैनन्।
यस्तो डाक्टर मैले देखेकै थिइन।

Dr KC 1
‘म भर्खरै हाइटीबाट फर्केको, त्यहाँका भूकम्पपीडितहरूको उपचार गरेर,' नागरिकको मिटिङ रुममा एल्बमका तस्बिर देखाउँदै डा. केसीले भने, ‘नेपाल पनि भूकम्पको जोखिममा रहेको मुलुक हो, जुनसुकै बेला यहाँ धेरै जना हताहत हुनसक्ने जोखिम छ। तर, जोखिम व्यवस्थापनमा हाम्रो तयारी शून्य छ। कुनै दिन हाइटीमा जस्तै भुइँचालो गए न हामीसँग तत्काल उद्धार गर्ने क्षमता छ न तत्काल स्वास्थ्य सेवा पुर्यााउने जनशक्ति।'
‘तपाईं के चाहनुहुन्छ त?' मैले सोधेँ।
‘हाइटीका यी तस्बिरसहित म त्यहाँको जोखिम व्यवस्थापनबारे नेपालको सन्दर्भ जोडेर लेख लेख्न चाहन्छु,' उनले जबाफ दिए।
‘तपाईं कसरी पुग्नुभयो त त्यहाँ उपचार गर्न?' अर्का साथीले सोधे, ‘अरू पनि डाक्टर गएका थिए कि?'
‘नेपालबाट म एक्लै गएको हुँ,' उनले भने, ‘यस्तो प्राकृतिक विपत्तिका बेला जुनसुकै मुलुकमा घाइतेको उपचार गर्न समस्या हुन्छ। उनीहरूलाई तत्काल राहत र स्वास्थ्य उपचार पुर्यानउन सकिन्न। डाक्टरहरूको कमी हुन्छ। औषधिको अभाव हुन्छ। त्यही भएर अलिकति भए पनि होस्टेमा हैंसे गर्न सकिएला कि भनेर गएको।'
म छक्क परेँ। एउटा मेडिकल डाक्टर, वरिष्ठ हाडजोर्नी विशेषज्ञ जो आफ्नै अन्तरआत्माले घच्घच्याएर सातसमुद्रपारिका बिरामीलाई उपचार गर्न धाइरहेका छन्।
पैसाका लागि मरिमेट्नेहरूको भिडमा यस्तो डाक्टर मैले देखेकै थिइनँ।
अर्को छक्क पार्ने विषय, उनी आफ्नो कामको प्रचारप्रसार गराउन ‘नागरिक' कार्यालय आएका थिएनन्। बरु उनी हामीलाई बारम्बार अनुरोध गरिरहेका थिए, ‘मैले यस्तो गरेँ, उस्तो गरेँ भनेर प्रचार गर्नुपर्दैन है, मलाई त्यस्तो मन पर्दैन।' उनी यतिमात्र चाहन्थे, हाइटीमा जस्तै भुइँचालो नेपालमा पनि जानसक्छ र त्यसका लागि सरकारले बेलैमा उद्धार र स्वास्थ्य उपचारको पर्याप्त बन्दोबस्त गर्नुपर्छ। उनी त्यसैमा आफूले जानेबुझेका कुरा बाँड्न चाहन्थे।
व्यक्तिगत प्रचारका लागि पत्रिकाको कार्यालय धाउनेहरू त अनेक भेटेको थिएँ तर आफूलाई किनारमा राखेर विषयवस्तुमा मात्र चर्चा गर्न चाहने व्यक्ति मैले देखेकै थिइन।
मैले साथी किरण भण्डारीलाई सोधेँ, ‘गोविन्द केसी भन्ने टिचिङ अस्पतालका डाक्टर आउनुभएको छ, उहाँ हाइटीमा उपचार गरेर फर्कनुभएको रे, तिमी चिन्छौ?'

उनले डा. केसीको नामसम्म सुनेका रहेछन्। राजनीतिदेखि प्रशासन, आर्थिक र सामाजिक विषयवस्तुमा पृष्ठभूमिसहितको ज्ञान राख्ने पत्रकार किरणले भने, ‘डा. केसी भन्ने एक परोपकारी डाक्टर छन् जो वर्षको दुई–तीनचोटि आफ्नै तलबबाट औषधिमूलो बोकेर दुर्गम क्षेत्रमा बिरामी उपचार गर्न गइरहन्छन्। तर, मैले मान्छे चिनेको छैन। हाइटी गएका यी डाक्टर उनै हुन् कि होइनन् बुझ्नुपर्छ।'

उनले त्यसपछि नेपाल मेडिकल एसोसिएसनका तत्कालीन अध्यक्ष डा. केदारनरसिंह केसीलाई फोन गरे। डा. केदारनरसिंहले उनको अनुमान पुष्टि गरिदिए। भने – ‘यी डाक्टर अद्भूत छन्।'
‘रिपब्लिका' का साथी विकास संग्रौलाले पनि डा. केसीका बारेमा धेरै कुरा सुनेका रहेछन्। रुकुम, जाजरकोटमा झाडाबान्ता प्रकोप फैलिएका बेला उनी आफैँ औषधिको भारी बोकेर त्यहाँका गाउँ गाउँ चहारेका रहेछन्। उनलाई त्यहाँका केही स्वाथ्यकर्मीले भनेका रहेछन् – ‘गोविन्द केसी भन्ने एक विचित्रका डाक्टर हुनुहुन्छ, उहाँ गधामा औषधिको भारी बोकाएर बिरामी उपचार गर्न गाउँ आउनुभयो, यो कुरा बाहिर प्रचार गर्न पनि मान्नुहुन्न। तपाईंहरू खोजेर लेख्नु न उहाँको बारेमा।'

सम्पर्कमा रहेका धेरैबाट धेरै कुरा सुनेपछि हामीले सोच्यौँ – हाइटीको अनुभवमात्र होइन, नेपालकै दुर्गम भेग डुलेर गरिब जनतालाई उपचार गर्दै हिँड्ने यी व्यक्तिको ‘प्रोफाइल' गरिनुपर्छ। तर, सबैले भनेजस्तै डा. केसी प्रचार भनेपछि चार कोस टाढा भाग्दा रहेछन्। भने, ‘मैले प्रचारका लागि यो सब गरेको होइन, अखबारमा आउँदा राम्रो देखिन्न।'
निकै जोड गरेपछि उनी हाइटीको तस्बिरसहित भुइँचालोको वीभत्स रूप र नेपालको जोखिममाथि हामीसँग कुरा गर्न राजी भए। कुराकानीका क्रममा नेपालभित्र उनले गरेका ‘स्वास्थ्य यात्रा' बारे कोट्ट्याउन खोज्यौँ। तर, उनी खासै खुलेनन्।

भोलिपल्ट नागरिक शनिबारको पहिलो पृष्ठमा उनको हाइटी अनुभव छापियो, जसलाई साथी सुरेन्द्र पौडेलले लेखेका थिए।

पहिलो लेखले डा. केसीको व्यक्तिगत योगदानलाई पूर्णरूपमा समेट्न सकेको थिएन। महिनाभरि काम गरेर कमाएको तलब जोगाएर गाउँका निमुखा बिरामीको ओखती गर्दै हिँड्ने डाक्टरको उचाइको दाँजोमा निकै होचो थियो त्यो। जो दिनरात टिचिङ अस्पतालभित्र बिरामीकै उपचारमा दत्तचित्त भएर लागिरहेका हुन्छन्, जसले पूरा जिन्दगी नै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थी र बिरामीमा समर्पित गरेका छन्, जसको निम्ति बिरामीको सेवा नै सबभन्दा ठूलो कर्म हो, त्यस्तो व्यक्तिको निस्वार्थ योगदानको दाँजोमा हाम्रो ‘कभरेज' सामान्य थियो।
संयोगले त्यो बेला हामी ‘नागरिक' को पहिलो वार्षिकोत्सवनिम्ति ‘नागरिक नायक' को खोजीमा थियौँ, जो आआफ्नो क्षेत्रबाट निस्वार्थ भावले समाजको हितमा समर्पित छन्। किरणले फेरि घच्घच्याए। उनको भनाइ थियो – ‘डा. गोविन्द केसीजस्ता निस्वार्थी अरू हुनै सक्दैन। उनी हाम्रो नागरिक नायक विशेषांकका सच्चा प्रतिनिधि हुन्।'

हामीले उनको भनाइसँग सहमत हुँदै डा. केसीको ‘प्रोफाइल' गर्यौँर, जसलाई साथी सुरेन्द्रले नै लेखे। त्यही प्रोफाइल रिपोर्टिङ क्रममा थाहा भयो – डा. केसी त नेपालका ७५ जिल्लामध्ये ७२ वटामा पुगिसकेका रहेछन्, आफ्नो उही ‘स्वास्थ्य यात्रा'का क्रममा। त्यतिबेला नपुगेका जिल्ला पनि अहिलेसम्म त टेकिसके होलान्।

उनको बानी कस्तो रहेछ भने, वर्षभरिको तलबबाट आफ्नो दैनिक खर्च कटाएर बाँकी रकम दुर्गम भ्रमणको निम्ति जोगाएर राख्ने। उनी कम्तीमा वर्षको दुईचोटि त्यही पैसाले सामान्य ओखतीमुलो किनेर गाउँ घुम्न निस्किहाल्छन्। भ्रमण क्रममा बिरामीको उपचार मात्र गर्दैनन्, गाउँमा अत्यन्त कम सुविधाबीच स्वास्थ्य सेवा उपलब्ध गराइरहेका स्वास्थ्यकर्मीलाई तालिम पनि दिन्छन्। र, यो काम गर्न उनलाई कसैले अह्राएको हैन। उनी आफ्नै विवेकबाट यसमा लागेका हुन्।

साँच्चै, यस्तो डाक्टर मैले देखेकै छैन!

सादा जीवन बाँच्ने उनको व्यक्तिगत खर्च भन्नु केही छैन। उनी शाकाहारी हुन्, त्यसमाथि एकदमै अल्पहारी। उनको न काठमाडौंमा घर छ, न मोटर, न त मोटरसाइकल। बिहेबारी गरेका छैनन्। टिचिङ अस्पतालको ‘डक्टर्स क्वार्टर' मै बस्छन्। उनले चाहेका भए काठमाडौंका कुनै पनि महँगा निजी अस्पतालमा उच्च तलबको जागिर पाउन सक्थे। आइओएम र टिचिङप्रति कतिसम्म इमानदार छन् भने उनले बाहिरका अस्पताल र क्लिनिकमा कहिल्यै काम गरेनन्। उनको क्लिनिक भन्नु नै बिरामीको घर हो। स्वास्थ्य भ्रमणका क्रममा उकालोओरालो हिँड्दा जहाँ बिरामी भेट्छन्, त्यहीँ उनको क्लिनिक सुरु हुन्छ। उनले गोठमा उपचार गरेका छन्, भान्सामा उपचार गरेका छन्। कति बिरामीलाई त यात्रा क्रममा चौतारोमुनि नै उपचार गरेका छन्।
‘निजी अस्पतालमा गएँ भने टिचिङमा आउने गरिब बिरामीलाई पर्याप्त समय दिन पाउँदिन,' उनी भन्छन्, ‘बेलाबेला गाउँ डुल्ने फुर्सत पनि हुन्न। म अहिले जस्तो छु, त्यसैमा सन्तुष्ट छु। डाक्टरका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सजिलो भइरहेको छ।'

यस्तो भन्ने डाक्टर मैले देखेकै छैन ।

स्वास्थ्य भ्रमणमा निस्कँदा उनको ध्यान हाडजोर्नीका बिरामीमा मात्र केन्द्रित हुँदैन, जसका उनी विशेषज्ञ हुन् । उनी त निमोनियादेखि सुत्केरीसम्मको उपचार गर्छन् । गाउँमा लडेर घाइते भएका तर डाक्टरको मुख नदेखेर हात बंग्याएर बसेका बिरामीलाई उनी काठमाडौं डाक्छन् । टिचिङ अस्पतालमा त्यस्ता बिरामीलाई आफैँ उपचार गर्छन् । टाढाटाढा गाउँबाट कागजको थोत्रो चिर्कटोमा किरिमिरी अक्षरले 'डा. गोविन्द केसी' लेखेर आएका बिरामी थुप्रै छन् उनको वार्डमा । उनकै नाम खोजीखोजी आउने त्यस्ता बिरामी प्रायः ओखतीमुलोको पैसासमेत तिर्न नसक्ने निम्न आर्थिक हैसियतका हुन्छन् । त्यस्ता बिरामीलाई उनी सहुलियतमा उपचार गराउन हरसम्भव पहल गर्छन् ।

'हुनेखाने धनीहरूले त उपचार गर्न जो पनि डाक्टर पाउँछन्, तर निमुखा गरिबको निःशुल्क उपचार गर्ने डाक्टर कम छन्,' उनको भनाइ छ, 'म त्यस्तै बिरामीको डाक्टर बन्न चाहन्छु ।'

यस्तो भन्ने र गर्ने डाक्टर मैले देखेकै छैन।

***

उनै डा. गोविन्द केसी आइतबारबाट टिचिङ अस्पताल परिसरभित्र अनशन बसिरहेका छन् ।

उनले न कुनै पदको माग राखेका हुन् न त तलबसुविधा बढाउने । दस बुँदामा बाँडिएका उनका सबै मागको निचोड एउटै छ – देशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर सुनिश्चित होस् । तीन करोड नेपाली जनताको जीवनसँग जोडिएको यस क्षेत्रमा कसैले पनि आफ्नो व्यक्तिगत स्वार्थको निम्ति खेलबाड गर्न नपाओस् ।

उनी भन्छन् – 'सरकारले निश्चित व्यापारिक समूहलाई पोस्न आइओएमको क्षमताले धान्नै नसक्ने गरी मेडिकल कलेजहरूलाई सम्बन्धन दिन बन्द गरोस् ।' र, यो डा. केसीमात्र होइन, आइओएमको संस्थागत आवाज पनि हो जसले आफ्नो प्राज्ञिक र भौतिक क्षमता नभएकाले थप मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरिसकेको छ । सरकार भने केही मेडिकल कलेजको स्वार्थसिद्धिमा कसरी लिप्त छ भने उसलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको भविष्यको चिन्तै छैन ।

हाल मनमोहन मेमोरियल, पिपल्स डेन्टल, नेपाल प्रहरी र काठमाडौं नेसनल कलेज सम्बन्धनको पर्खाइमा छन् । चालु मेडिकल कलेजहरू नै आइओएमको क्षमताभन्दा बढी भएकाले थप भित्रिँदा चिकित्सा शिक्षामा अराजकता आउनसक्छ । जथाभाबी कलेज खोल्दै जाने हो भने त्यसले उत्पादन गर्ने चिकित्सक जनशक्तिको अवस्था कस्तो होला ! के त्यस्ता डाक्टरको हातमा हामी आफ्नो ज्यान अर्पण गर्न तयार छौँ ?

त्यसमाथि सबै मेडिकल कलेज काठमाडौंमै थुप्रिने हो भने दुर्गम ग्रामीण क्षेत्रका बासिन्दाले कहिले सहज स्वास्थ्य सेवा पाउने ? अहिले नै काठमाडौंमा सातवटा मेडिकल कलेज सञ्चालित छन् । यो भनेको सवा दुई करोड जनसंख्या भएको नयाँदिल्ली बराबर हो । स्वास्थ्य सेवाको परोपकारी सोच राखेर ती कलेज खुल्न चाहेका हुन् भने किन जाँदैनन् कैलाली, कञ्चनपुर ? किन जाँदैनन् ताप्लेजुङ, पाँचथर ?

यसको कारण एउटै छ – ती अस्पताल सेवा होइन, व्यापार गर्न चाहन्छन् । र, डा. केसीको लडाइँ स्वास्थ्य सेवालाई व्यापार बनाउने त्यही प्रवृत्तिविरुद्ध हो ।

जति सरल छन् डा. केसी, त्यति नै सरल छ उनको माग । यही सरल मागले निष्ठा र इमानदारीलाई वाग्मती नदीमा बगाइसकेका धेरै जनाको मुटुमा ढ्यांग्रो ठटाएको छ । त्यही भएर अहिले पाँचौंपटक अनशनमा बस्न बाध्य भएका छन् डा. केसी । अघिल्ला चार अनशनका क्रममा सरकारले उनका माग पूरा गराउने सम्झौता र प्रतिबद्धता नगरेको होइन । सम्झौता र प्रतिबद्धताले निष्ठावान र इमानदारलाई जति पोल्छ, सत्ता र व्यापारको स्वार्थमा लिप्तहरूलाई त्यति नपोल्दो रहेछ । यसैको सिकार भइरहेका छन्, डा. केसी ।

यसपालि त डा. केसीको चुनौती झन् बढेको छ । जुन व्यक्तिको प्रतिबद्धता, निष्ठा र इमानदारीको भर परेर उनले अघिल्लो अनशन तोडेका थिए, अहिले त्यही व्यक्ति उनले भन्ने गरेको 'मेडिकल माफिया'लाई जोगाउने प्रपञ्चमा लागेको छ । प्रधानमन्त्री सुशील कोइरालाले शपथ ग्रहणलगत्तै पहिलो प्रतिबद्धता डा. केसीसँग नै गरेका थिए । उनले भनेका थिए, 'म उहाँका माग पूरा गराउने प्रतिबद्धता व्यक्त गर्छु, यो प्रधानमन्त्रीको बाचा हो, तपाईं विश्वास गर्नुस् ।'

डा. केसीले विश्वास गरे । प्रधानमन्त्री कोइराला भने उही माफियासँग नारिएर सम्बन्धन प्रक्रिया सुरु गराउन पत्राचारमा लागे ।

पुरानो भनाइ छ – भ्रष्टाचार नगरेको हो कि अवसर नपाएको ! कोइरालाका लागि ठ्याक्कै सान्दर्भिक ठहरिन्छ यो । उनी निष्ठावान रहे होलान्, इमानदार भए होलान्, आस्थाका खातिर पद र प्रतिष्ठालाई तिलाञ्जली पनि दिए होलान् । तर, यी सबै कुरा पुराना भए । मेडिकल सम्बन्धनका हकमा उनले आफ्नो निष्ठा, इमानदारी र भ्रष्टाचारप्रति शून्यसहनशीलताको छवि जोगाउन सकेनन् । त्यो छवि जोगाउने एउटै बाटो बाँकी छ – मेडिकल सम्बन्धनको जालो चिर्ने । र, स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको गुणस्तर सुनिश्चित गर्ने ।

डा. केसीले मंगलबार टिचिङ अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, 'प्रधानमन्त्री कोइराला कान कम सुन्नुहुन्छ, म पनि कम सुन्छु, तर म मेडिकल माफियाको चलखेल देख्नसक्छु ।'

'प्रधानमन्त्री, शिक्षामन्त्री, सरकार, त्रिभुवन विश्वविद्यालय, अख्तियार, अदालतजस्ता कुनै पनि संयन्त्र मेरो पक्षमा छैनन्, त्यसैले म जनतासमक्ष आफ्नो कुरा राख्न अनशन बस्दैछु,' पत्रकार सम्मेलनपछि अनशनअघिको 'अन्तिम खाजा' खाँदै उनले भने, 'यसपालि अनशन लामो हुनसक्छ ।'

'अन्तिम खाजा' मा च्युरासेट खाएका उनले त्यसलगत्तै रेजिडेन्ट डाक्टर तथा विद्यार्थीसँग छलफल गरी 'डक्टर्स रुम' मै अनशन थालिहाले, जुन कहाँ गएर कसरी टुंगिन्छ उनी आफैँलाई अत्तोपत्तो छैन ।

साँच्चै, डा. गोविन्द केसीलाई भेट्दा मलाई सधैँ लाग्छ – मान्छे यतिसम्म निष्ठावान, सरल र प्रतिबद्ध हुनसक्छ र ?

उनी त छन् !
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z