किशोरीलार्इ एसिड हान्‍ने जीवन स्केच नमिलेपछि ढुक्क थिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
किशोरीमाथि एसिड आक्रमण प्रकरण
काठमाडौं : दुई किशोरीमाथि एसिड प्रहार गर्ने जीवन विकले प्रहरीद्वारा सार्वजनिक गरिएको स्केचमा आफ्नो हुलिया नमिलेपछि आफू पक्राउ नपर्नेमा ढुक्क रहेको बयान दिएका छन्।

प्रहरीले प्रत्यक्षदर्शीले बताएका आधारमा आक्रमणकारीको स्केच बनाएर सार्वजनिक गरेको थियो। प्रहरीका अनुसार स्केचमा सुन्तला रङको हुड लगाएको हुलिया उल्लेख गरिए पनि जीवनले एसिड प्रहार गर्न जाँदा खैरो रङको हुड लगाएका रहेछन्।

महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी रमेश थापाका अनुसार जीवनले आफ्नो सिरानीमुनि उक्त स्केच छापिएको पत्रिका लुकाएर राखेका रहेछन्।

'प्रहरीले स्केचमा हुलिया मिलाउन सकेको रहेनछ भनेर पत्रिकामा छापिएकै दिन पनि उनी आफैं मज्जाले हाँसेका रहेछन्', थापाले भने, 'स्केच नमिलेपछि पक्राउ नपर्नेमा ढुक्क हुँदाहुँदै पनि प्रहरी देख्नासाथ आफूलाई नै खोजेको हो कि भन्ने भानमा उनमा पर्ने गरेको रहेछ।'

एसएसलसी परीक्षाका लागि ट्युसन पढ्न गएका बेला गत फागुन १० गते बिहान वसन्तपुरस्थित ट्युसन सेन्टरमा जीवनले संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार गरेका थिए।

डीएसपी थापाको टोली विशेष सूचनाका आधारमा पक्राउ गर्न टोखास्थित किरण महर्जनको घरमा पुग्दा जीवन खाना खाएर सुतिसकेका थिए। प्रहरीले 'हामी तिमीलाई पक्राउ गर्न आएका हौं, तिम्रो नाम जीवन विक होइन?' भनेर सोधेपछि जीवन एकछिन अक्क न बक्क परेका थिए। 'संगीतालाई चिन्छौ' भनेर सोधेपछि जीवनले सबै कहानी आफैं बताएका थिए।

जीवनले सोधपुछका क्रममा आफ्नो लक्ष्य संगीतामाथि भए पनि सीमासमेत घाइते भएकोमा दु:ख पनि व्यक्त गरेका थिए। उनी घटनापछि बजारबाट पत्रिका किनेर कोठामा ल्याई पटकपटक पढ्थे। राति सुत्दा पनि पत्रिका पढेर आनन्द लिई निदाउने गरेको बयान उनले प्रहरीलाई दिएका थिए। एसिड आक्रमणबारे समाचार छापिएका सबैजसो पत्रिका जीवनले कोठामा सजाएर राखेका थिए।

प्रहरीले 'किन यति धेरै पत्रिका राखेको' भन्दा जीवनले 'संगीताको रूपको घमण्ड तोड्न पाएपछि आफूलाई आनन्द भएको र सन्तुष्टिका लागि पत्रिका पढ्ने गरेको बताएका थिए। पक्राउ परेपछि जीवनले प्रहरीसामु भने, 'मलाई बदला लिनु थियो लिएँ। के गरूँ के गरूँ हुन्थ्यो, पत्रिका पढेर संगीताको रूप बिग्रिएको फोटो हेरेपछि आनन्द लाग्थ्यो, सधैं पढेर सुत्थें।'

प्रहरीका अनुसार २०७० मंसिरमा न्युरोडस्थित आफ्नै चिया पसलमा भेट भएका राजेश प्रधानले भारतीय सेनामा भर्ती गराइदिने आस जीवनलाई देखाएका रहेछन्। भारतको सिक्किम पुगेर ५० हजार भारु सकिएपछि रित्तो हात फर्किएका जीवनमा जागिर खाने धोके भने मेटिएको थिएन।

घटनापछि बिहान सबेरै उठेर दौडिने, कहिले ठमेलसम्म आएर फर्किने गरेको बयान पनि उनले दिएका छन्। जीवनले पत्रिकामा एसिड प्रकरणमा छापिएका मुख्य बुँदासमेत टिपेर राख्दै आएका थिए। प्रहरीका अनुसार फागुन ११ गतेदेखि जीवन कहिले जंगलतिर जाने त कहिले साथीको डेरामा जाने गर्थे।

जीवनले बयानमा आफ्नो टार्गेटमा अन्य व्यक्ति पनि रहेको खुलाएका छन्। उनले भारतीय सेनामा भर्ती गराइदिने आश्वासन दिएका राजेश प्रधान, झोछेंमा बस्दा आफ्नो घाँटी निर्चोर्न आउने संगीताका भाइ सन्तोषसँग पनि बदला लिने सोच बनाएका थिए।

महाशाखाका एसएसपी पुष्कर कार्कीले आफूहरूले जीवनलाई पहिलेदेखि नै शंकाको घेरामा राखेको बताए। उनले भने, 'जीवनले यूटीएलको नम्बर लिएकाले त्यो नचलेका कारण अफ्ठ्यारो भइरहेको थियो। संगीता गम्भीर घाइते भएकाले उनलाई धेरै सोध्न पनि अफ्ठ्यारो भइरहेको थियो। संगीता बोल्न थालेपछि जीवनको नाम खुल्यो, त्यसपछि हामी तीव्र खोजीमा लाग्यौं।'

जीवनविरुद्ध ज्यान मुद्दा
प्रहरीले संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार गरेको अरोपमा पक्राउ परेका जीवनविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गरेको छ।

महानगरीय प्रहरी परसर हनुमानढोकाका प्रवक्ता डीएसपी दिनेश अधिकारीका अनुसार मुलुकी ऐनको ज्यानसम्बन्धी महलको ज्यान मार्ने उद्योगअन्तर्गतको अपराधमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट १५ दिनको अनुमति लिइएको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z