'त्यो रात कालो थियो वा रातो ?' म्याग्दीबासीले सम्झे 'चैत ७'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
'बेनी आक्रमणमा मान्छे मात्र मारिए, घाइते भए र मजस्तै अपाङ्ग भएर बाँचेका छन । बालबालिका टुहुरा भए, श्रीमती विधुवा बने, बुढेसकालका आमाबाबु सहाराविहीन छन । ती सबैको आत्माले युद्धलाई घृणा गरिरहने छ ।'

आक्रमणबाट ध्वस्त म्याग्दीको सदरमुकाम बेनी बजार । फाइल तस्विर : ईकान्तिपुर
म्याग्दी, चैत्र ७ - चारैतिर पहाडले घेरेको खोपिल्टो जस्तो बेनीमा पश्चिमबाट पूर्वबग्ने म्याग्दी नदीको किनारामा जिल्ला विकास समिति, जिल्ला प्रशासन र प्रहरी कार्यालयका छतमा भ्यू टावरहरु छन् । यी टावर प्राकृतिक सौदर्य वा सदरमुकामको दृश्यालोकन गर्न बनेका होइन, सैन्य बंकरका अवशेष हुन ।

'युद्ध स्तम्भ' लाग्ने यी भवनका यी बंकरले बेनीबासीलाई त्यो चैत ७ गतेको त्रासदीपूर्ण रात सम्झाई रहन्छ । माप्रा बसेको घाउ कोट्याएर रगत निक्ले जस्तै ।

त्यो रात कालो थियो वा रातो ? तर्क आआफ्ना होलान । तर ०६० चैत ७ गतेको रात बेनीबासीका लागि भने विर्सनै नसक्ने त्रासदीपूर्ण विगत हो ।

बेनी आक्रमणको ११ बर्षमा जिल्लाबासीले त्रासदीपूर्ण विगतको स्मरण गरे । स्थानीय शान्ति समितिको नेतृत्ामा बेनी आक्रमणमा ज्यान गुमाएका मृतात्मको शान्तिको कामना गर्दै र्‍याली गरे । 'फेरी यस्तो नहोस्' भन्ने कामनासहित फोटो पत्रकार अमर बानियाँले भिडन्तपछिको कारुणिक परिस्थिति स्मरण गराउने फोटो पर्दशनी बेनी आक्रमणमा खुट्टा गुमाएका पीडित कृष्णलाल श्रेष्ठले उद्घाटन गरे । बेनी आक्रमणको स्मृति सभामा सवै राजनैतिक दल, प्रहरी, सेना, प्रशासन र सर्वसाधारणको सहभागीता रहेपनि चन्द नेतृत्वको नेकपा माओवादी भने सहभागी भएन ।

'म आफैपनि त्यो आक्रमणमा हतियार बोकेर लडेको थिएँ । तर म त्यो तितो विगत तर्फ र्फकन चाहन्न', नेकपा माओवादीका कार्यकर्ता लालु किसानले भने, 'बैचारिक रुपमा बेनी आक्रमणका राजनैतिक कमिसार नेत्रबिक्रम चन्द 'विप्लव'सँगै भएपनि फेरी त्यस्तो आक्रमणमा हिँड्ने संभावना र जाँगर दुवै छैन ।'

माओवादीले गरेका ९ ओटा सदरमुकाम आक्रमणमध्य सैन्यवल र ब्यापकताको दृष्टिले सवैभन्दा ठूलो बेनी आक्रमणमक्रममा १९ जना सर्वसाधारणसहित १७ प्रहरी, १४ सैनिक र कम्तिमा ९० माओवादी मारिएका थिए । सबै पक्षबाट सयौंको संख्यामा घाइतेको अवस्थाबारे यकिन तथ्याड्ढ कतै पाइँदैन ।

'बेनी आक्रमणमा मान्छे मात्र मारिए, घाइते भए र मजस्तै अपाङ्ग भएर बाँचेका छन । बालबालिका टुहुरा भए, श्रीमती विधुवा बने, बुढेसकालका आमाबाबु सहाराविहीन छन । ती सबैको आत्माले युद्धलाई घृणा गरिरहने छ', पीडित कृष्णलाल श्रेष्ठले भने, 'माओवादीले राहत पाए तर म घाइतेले आजसम्म राहत पाएको छैन । महिनैपिच्छे सीडीअाे कार्यालयमा राहत आयो कि सोध्न जान्छु, छैन मात्र भन्छन । निमुखाको लागि बोल्ने कोही भएन ।'

'जुन उद्देश्यले बेनी आक्रमण भएपनि हामी बेनीबासीका लागि त्यो ०६० चैत ७ गतेको रात त्रासदीपूर्ण र विर्सन नसकिने अयोग्य रात हो । तस्वीरमा मार्फत जनतालाई दिएको आश्वासन पुरा गर्न दवाव पुग्न छ' फोटो पत्रकार अमर बानियाँले सुनाए ।

तत्कालिन प्रमुख जिल्ला धिकारीको संयोजकत्वमा गठित जिल्ला पुनःनिर्माण तथा पुनःस्थापना समितिको प्रतिवेदनमा भवनहरुको मात्र १७ करोड क्षति भयो भने कार्यालयका कागजपत्र एवं जिन्सी सामाग्रीको मुल्यांकन गर्न नसकिएको उल्लेख छ । ध्वस्त भएका अदालत, प्रशासन, प्रहरी र जिविसको मात्र पुर्ननिर्माण गर्न कुल तीन करोड ४१ लाख १७ हजार ४७ रुपैयाँ लागेको छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z