शालिग्रामको चोरी निकासी रोकिएन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बेनी (म्याग्दी)-विश्वमै अत्यन्त दुर्लभ मानिएको बहुमूल्य धार्मिक शिला शालिग्राम चोरी सिकारीको कारण कालीगण्डकी नदीबाट लोप हुने अवस्थामा पुगेको छ।

संसारभरि अन्त कतै नपाइने तर कालीगण्डकी नदीको कागबेनीदेखि रिडी(गुल्मी) सम्मको खण्डमा मात्रै पाइने दुर्लभ शिला शालिग्राम म्याग्दीको गलेश्वरदेखि मुस्ताङको कागबेनीसम्मको भागबाट व्यापकरुपमा चोरी निकासी हुने गरिएको छ।

चार वर्षअघि म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले शालिग्रामको चोरी निकासी नियन्त्रण गर्न शालिग्राम संरक्षण अभियानका लागि समिति बनाएको भए पनि अहिले त्यो समिति निस्क्रिय अवस्थामा रहेको छ।

गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादु्र केसीको अगुवाइमा २०६८ सालमा शालिग्राम संरक्षणका लागि पहल भएको थियो। त्यतिबेला भारतीय मूलका तीन व्यक्तिले शालिग्राम चोरी निकासी गर्ने गरिएको भेटिएको थियो।

अहिले पनि यस कार्यमा भारतीय मूलका व्यक्ति नै सक्रिय रहेको गलेश्वर शिवालयका मूल पुजारी यामप्रसाद आचार्यले बताए। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा भने यस विषयमा कुनै उजुरी नपरेको  प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

हिन्दूधर्मावलम्बीले शालिग्रामलाई भगवान् विष्णुको अंश मानी पूजा गर्ने गर्दछन्। शालिग्रामलाई विभिन्न मन्दिर वा घरमा राखेर पूजा गर्ने गरिन्छ। शालिग्रामको जलमा तुलसीपत्ता मिसाएर खाने हो भने मनोविकास र पेटसम्बन्धी सम्पूर्ण रोग निको हुने आयुर्वेदिक उपचार पद्दतिमा उल्लेख गरिएको छ।

त्यसको साथै शालिग्रामभित्र सुन हुने भएकाले पनि यसको व्यापक मात्रामा चोरी निकासी हुने गरेको शालिग्राम शिलाका अध्येता पंरङ्गराज शास्त्रीले बताए। रासस
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z