नेपाली कामदारमाथि हुने यातनाबारे छानबिन गर्न मलेसियाली सांसदद्वारा माग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं-मलेसियाका एक सांसदले त्यहाँका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा 'नेपाली कामदारमाथि हुने गरेको यातना र दुर्व्यवहार' सम्बन्धमा मलेसिया सरकारसमक्ष छानबिन गर्न माग गरेका छन्।



मलेसियाको प्रभावकारी दल 'डेमोक्रेटिक एक्सन पार्टी' का तर्फबाट सिलङोर राज्यको सेरडाङबाट निर्वाचित ओङ किन मिङले नेपालीमाथि हुने गरेको यातनाका विषयमा छानबिन गरी सत्थतथ्य बाहिर ल्याउन मंगलबार माग गरेका हुन्।

चिनियाँ मूलका सांसद मिङले नेपाल रिपब्लिक मिडियाको अनलाइन संस्करण माइरिपब्लिका डट कममा प्रकाशित 'मलेसियामा नेपाली कामदारलाई नांगै बनाई यातना दिने गरेको' समाचार उद्वृत गर्दै सरकार समक्ष छानबिनको माग गरेका हुन्। उनले पीडितहरूले लगाएको आरोपलाई 'एकदमै डरलाग्दो' बताएका छन्।

'यो मानवअधिकारको गम्भीर हनन मात्र होइन, यसले मलेसियाको विश्व छविलाई बिगार्दै लान्छ,' मलेसियाली अनलाइन फ्रिमलेसियाटुडे डट कमले आफ्नो समाचारमा मिङको भनाइ उद्धृत गरेको छ।

बिनाभिसा मलेसियामा बसेका नेपालीलाई पक्राउ गरी जेल र घरफिर्ती केन्द्रमा यातना दिने गरेको समाचार नागरिक र रिपब्लिका दैनिकले प्रकाशन गरेका थिए। मलेसियाको जेल र घरफिर्ती केन्द्र हुँदै नेपाल फर्केका नेपालीले त्यहाँ आफूहरूलाई पटकपटक नांगै बनाई यातना दिने गरेको बताएका थिए। नांगै हुन नमाने मलेसियाका प्रहरी र अधिकारीले कुट्ने उनीहरूले बताएका थिए।

पीडितहरूका अनुसार मलेसियाका प्रहरीले जेल र घरफिर्ती केन्द्रमा नांगै बनाई नृत्य, कसरत, पिचमा लडिबुडी, घुँडा र कुहिनाले टेकी हिँड्न, उठबस गराउँथे। यस्तो यातना पाउनेहरू प्राय सबै पहाङ बेन्तोङ जेल र सिमिनिया क्याम्प (घरफिर्ती केन्द्र) बाट फर्कनेहरू छन्। पहाङ बेन्तोङ जेल र सिमिनिया क्याम्प दुवै मलेसियाको सिलङोर राज्यमा छन्।

सिलङोर राज्यबाट सांसदमा निर्वाचित मिङले घटनालाई गम्भीर मानव मानवअधिकारको हनन बताउँदै छानबिन गर्न माग गरेका हुन्। 'घरफिर्ती केन्द्रमा विदेशीमाथि हुने गरेको दुर्व्यवहार यो पहिलोपटक बाहिर आएको होइन। गत वर्ष पनि अल जजिरा टेलिभिजनले '१०१ इस्ट' वृत्तचित्रमा मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा आप्रवासी कामदारलाई कसरी दुःख दिइएको छ भन्ने देखाएको थियो जसलाई सारा विश्वले हेरेको थियो,' मिङले भनेका छन्।

यस्तै 'मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा नेपाली कामदारलाई यातना दिएको' विषयमा मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिले मलेसियास्थित नेपाली राजदूतलाई भेटी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्। मलेसियाको क्वालालम्पुरका रहेको काउन्सिलका प्रतिनिधि घटनाका बारेमा आधिकारिक जानकारी बुझ्ने नेपाली दूतावास पुगेका थिए। 'नेपाल सरकारको आधिकारिक पत्र आएपछि सत्यतथ्य बुझेर जानकारी गराउँछौं भनेको छु,' मलेसियाका लागि नेपाली राजदूत निरन्जनमानसिंह बस्नेतले टेलिफोनबाट नागरिकसँग भने।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z