नाकाबन्दीबारे कूटनीतिज्ञहरूबाट भारतीय स्पष्टीकरण माग
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपालमा विद्यमान मानवीय संकटमा भारत जिम्मेवार हो?
काठमाडौं: नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरूले भारतसँग स्पष्टीकरण मागेका छन्।


भारतीय राजदूत निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी जापान, जर्मनी, अन्य युरोपेली र अमेरिकी राजदूतले आपूर्ति व्यवधानपछि नेपालमा पुनर्निर्माण तथा मानवीय मिसनमा समेत अवरोध उत्पन्न भएको भन्दै त्यसको निकासबारे भारतको धारणा जान्न खोजेका थिए। प्राप्त जानकारीअनुसार एक युरोपेली राजदूतले नेपालका नागरिक समाज, सञ्चार र महत्वपूर्ण राजनीतिक व्यक्तित्वहरूले नाकाबन्दी भारतीय कार्य भएको भन्दै त्यसबारे भारतको धारणा पनि जान्न खोजेका थिए।

स्रोतका अनुसार युरोपेली संघमा आबद्ध देशका राजदूतले नेपालका मिडिया, प्रमुख राजनीतिक दलका नेता र बुद्धिजीवी ‘नेपालमा राष्ट्रिय संकट उत्पन्न हुनुका पछाडि भारत नै जिम्मेवार छ भन्छन् नि’ भनेर भारतीय राजदूत रन्जित रेलाई सोधेका थिए।रेले रक्सौलबाहेक अरू नाकाबाट आपूर्ति भइरहेको र सात सय ट्रक नेपाल भित्रिरहेको जानकारी दिँदै मुख्य नाका रक्सौल नाकामा मधेसी मोर्चाले आन्दोलन गरेकाले त्यहाँबाट आपूर्ति हुन नसकेको स्पष्टीकरण दिएका थिए।

भेटमा सहभागी कूटनीतिज्ञका अनुसार राजदूत रेले दुई साताअघि रक्सौल-वीरगन्ज नाकामा एक भारतीय नागरिकको मृत्यु भएपछि नेपाल-भारत सम्बन्धमा तनाव आएको बताएका थिए।राजदूत रेले उपभोग्य वस्तुहरूसहित सात सय ट्रक दैनिक नेपाल भित्रिरहेको र त्यसमा भारतीय पक्षको पूर्ण सहयोग रहेको बताए।

रेले नेपालको समस्या नेपालले सुल्झाउने हो भन्दै मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक बिन्दुमा पुगे समस्या आफैं समाधान हुने पनि बताए। उनले औषधिलगायत अन्य वस्तुहरू वैकल्पिक नाकाबाट नेपाल भित्र्याउन भारत तयार रहेको बताए।

अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण र नाकाबन्दीविरुद्ध भारतभित्रै र नेपालमा पनि व्यापक रूपमा भारतीय व्यवहारको आलोचना हुन थालेपछि राजदूत रेले आफ्नो भूमिका र चाहना स्पष्ट गर्न दिवाभोजसहितको अन्तरक्रिया आयोजना गरेका हुन्।राजदूतहरूले नेपालले झेलिरहेको मानवीय संकटबारे गम्भीर चिन्ता पनि जनाए।

भारतीय नाकाबन्दीका कारण नेपालमा जनजीवन कष्ट बन्दै गइरहेका बेला भारतीय राजदूत रेले काठमाडौंस्थित अन्य मुलुकका कूटनीतिज्ञलाई बोलाएर भारतको नेपालबारेको धारणा सुनाएका हुन्।राजदूत रेले राजदूतहरूलाई भारतले कुनै नाकाबन्दी नलगाएको प्रतिक्रिया दिए।

नेपाली जनताले अहिले बेहोरिरहेको सास्तीबारे भारत पूर्ण जानकार रहेको उनको भनाइ थियो।मधेसमा भइरहेको आन्दोलन नेपालको आन्तरिक राजनीतिक मामिला भएकाले नेपाल आफैंले हल गरोस् भन्ने पक्षमा भारत रहेको राजदूत रेले कूटनीतिज्ञहरूलाई बताए।
 नाकाबन्दीले उत्पन्न मानवीय संकटबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञले भारतसँग स्पष्टीकरण मागेका हुन्।
सो क्रममा जापानी, युरोपेली युनियन र अमेरिकी राजदूतले नेपालमा इन्धन संकट गहिरिएका कारण पुनर्निर्माण प्रभावित भएको तथा मानवीय संकट गहिरिएकोमा आफूहरू चिन्तित रहेको राजदूत रेसमक्ष बताएका थिए।राजदूत रेले नेपालमा विद्यमान संकट भारतका कारण नभई नेपालकै आन्तरिक राजनीतिक समस्याले उत्पन्न भएको राजदूतहरूलाई बताएका थिए।

स्रोतका अनुसार भारतीय राजदूत रेले आन्दोलनरत मधेस केन्द्रित दल र सरकारबीच पटक—पटक वार्ता भइरहेको, छिट्टै समाधान निस्कने र अहिलेको नेपालको संकट हल भएर जाने भारत सरकारको आशा रहेको पनि बताए।बैठकमा अमेरिकी राजदूत एलाइना बी तेप्ल्जि, चिनियाँ राजदूत ऊ चुन्ताई र दूतावासका उपप्रमुख चेङ जी, अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइट, जर्मन राजदूत माथ्थियस मायर, जापानी राजदूत मासासी ओगावालगायत एक दर्जन मुलुकका राजदूत सहभागी थिए।

राजदूत निवासमा भएको भेटवार्ताबारे जिज्ञासा राख्दा भारतीय दूतावासका प्रवक्ता अभय कुमारले उक्त बैठकबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिए।नेपालस्थित अन्तर्राष्ट्रिय समुदायले भारतले लगाएको नाकाबन्दी नभनी सीमामा देखिएको अवरोधका कारण उत्पन्न मानवीय संकट र भूकम्पपीडितहरूलाई परेको समस्याबारे आफ्नो धारणा राख्दै आएको छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z