उद्योग तोडफोड गर्ने मोर्चाका कार्यकर्तामाथि मुद्दा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विराटनगर : अराजक गतिविधीमा संलग्न रहेको आरोपमा गत शुक्रबार पक्राउ परेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन जना कार्यकर्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा चलाएको छ ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य मोरङको कटहरी–७ का राधे कामत, बैजनाथपुर–८ का जितनारायण साह र विराटनगर–७ का शंकर सहनीविरुद्ध मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालले बताए ।


कामतको संलग्नतामा कटहरस्थित नेशनल सिमेन्ट उद्योगको परिषरमा रहेका सातवटा गाडी र दुईवटा मोटरसाइकल तोडफोड गरिएको एसपी लम्सालले बताए ।

त्यस्तै मोरङको रंगेलीबाट बिरामी बच्चा बोकेर विराटनगरतर्फ आउँदै गरेको रंगेली बचत तथा ऋण सहकारी संस्थाको को १ च ७३७९ नम्बरको एम्बुलेन्स तोडफोडमा पनि कामतको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

साह र सहनीलाई विराटनगर–७ शिवमन्दिर चौकमा बच्चामाथि रड प्रहार गरेको र सर्वसाधारणले चलाएको मोटरसाइकल तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

आन्दोलनका नाममा सार्वजनिक स्थलमा आतंकनै सिर्जना गर्ने खालका गतिविधी गरेको र शान्ति सुरक्षाको अवस्थालाई खलल पु¥याउने कार्य गरेकाले उनीहरु विरुद्ध मुद्दा चलाइएको जानकारी एसपी लम्सालले दिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट शुक्रबार ११ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये आठजना छुटिसकेका छन् ।

घटनामा दोषी देखिएकालाई कानुनी कारवाही अघि बढाउँदै संलग्न नरहेकाहरुलाई छाडिएको एसपी लम्सालले बताए ।

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले आन्दोलनकारीका नाममा अराजकता मच्चाएर पुर्या‍इएको नोक्सानीको क्षतिपूर्ति समेत घटनामा संलग्नबाटै भराइने बताए ।

‘आन्दोलनका नाममा गैरजिम्मेवारपूर्ण काम भएको छ,’ प्रजिअ कार्कीले भने, ‘कुन घटनामा कसकसको संलग्नता हो, उसैबाट क्षतिपूर्ति असुलेर कानुन अनुसारको कारवाही गरिने छ ।’ 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z