झण्डै दोस्रो टीकापुर भएन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं :  ‘भारदहमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि लक्षित गरी चारैतिरबाट अन्धाधुन्धा गोली प्रहार गरेको, इलाका प्रहरी कार्यालय रुपनी र भारतदहलाई चारैतर्फबाट घेरा हाली ढुंगा, गुलेली, सिसाको बोत्तल र पेट्रोल बम प्रहार गरेको’, जिल्ला सुरक्षा समिति सप्तरीको आइतबार बसेको बैठकले निकालेको निचोड हो यो ।

शनिबार राति सप्तरीको भारदह र रुपनीमा पूर्व–पश्चिम राजमार्ग अवरोध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा भएको झडपमा तीनजना मारिएपछि आइतबार जिल्ला सुरक्षा समितिको बैठकले समयमै गोली चलाएकाले दोस्रो टीकापुर घटना हुन नपाएको निचोड निकालेको हो ।


नेपाली सेनासमेत सदस्य रहने जिल्ला सुरक्षा समितिको बैठकले मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपनी र भारदहका प्रहरी कार्यालयमा ‘युद्धको शैली’मा बन्दुक र घरेलु हतियारसहित धावा बोलेपछि आत्मरक्षा गर्ने क्रममा केही प्रदर्शनकारी मारिएको जनाएको हो ।

मधेसी मोर्चाले केन्द्रमा राजमार्ग र सीमानाका केन्द्रित आन्दोलन चर्काउने निर्णय गरेसँगै मोर्चाका सयौं कार्यकर्ताहरु आइतबार दिउँसैबाट राजमार्ग अवरोध गरेर बसेका थिए ।

स्थानीय प्रशासनले पनि अघिल्ला दिनहरुजस्तै पूर्वतयारी गरेर राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरी सवारीसाधन गन्तब्यतर्फ पठाउने क्रममा झडप हुन पुगेको हो ।

सप्तरीको भारदह र रुपनी क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीय प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै आएको छ ।

निषेधित क्षेत्रमा सभा, जुलुस गर्न पाइँदैन । भारदह र रुपनी दुबै स्थानमा जम्मा भएका २ हजार बढी आन्दोलनकारीलाई प्रहरीले हट्नका लागि अपरान्हबाटै माइकिङ गरेको स्थानीय प्रत्यक्षदर्शीहरुको भनाइ छ । तर, उनीहरु राजमार्गबाट टसमस नभएपछि घटना हिंसात्मक बन्न पुगेको हो ।

तीन महिनादेखि चलेको मधेस आन्दोलनका क्रममा सुनसरीको इटहरीबाट सुरक्षानिकायले राजधानी तथा देशका अन्य भागमा स्कर्टिङ गरेर गाडी पठाइरहेका थिए । स्कर्टिङ गर्दा पनि मोर्चाका कार्यकर्ताले हजार बढी गाडीमा ढुंगा बर्साएर क्षतिग्रस्त पारिसकेका छन् ।

मोर्चाका कार्यकर्ताले जलाएको प्रहरीको गाडी । तस्बिर : मनोहर
तिहार र छठका क्रममा आन्दोलन नरम हुँदा राजमार्गमा निर्वाध गुडिरेहका गाडीलाई मोर्चा कार्यकर्ताले काठमाडौंमा नाकाबन्दी गर्ने नाममा अवरोध पुर्या‍एपछि प्रशासनले हटाउन खोज्दा लिएको हिंश्रकरुप लिएर हताहती भएको हो ।

आइतबार रातिसम्म पनि मोर्चाका कार्यकर्ता राजमार्ग कब्जा गरी बसेपछि स्थानीय सुरक्षा निकायले माइकिङक गरेर प्रदर्शनकारीलाई हटाउने प्रयास गरेको थियो ।

जिल्ला सुरक्षा समितिको निचोड अनुसार प्रदर्शनकारीहरु घरेलु हतियार र बन्दुकसमेत लिएर राजमार्गमा उत्रेका थिए । प्रहरीले हटाउने पटक पटक प्रयास गर्दा आन्दोलनकारीहरु उल्टै सुरक्षाकर्मीमाथि जाइ लागेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

स्थानीयबासीका अनुसार प्रहरीमाथि जाइलागेका आन्दोलनकारीले प्रहरीको भ्यानमा तोडफोड गर्दाको परिणामा आइतबार रातिको घटना हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भीम ढकाल फिल्डमा खटिएका सुरक्षाकर्मीले बेलैमा फायर नखोलेको भए टीकापुर घटना दोहोरिने निचोड सुनाउँछन् ।

‘सुरक्षाकर्मीले दिनभरदेखि संयमता अपनाएर प्रदर्शनकारीलाई शान्तिपूर्णरुपमा राजमार्गबाट हटाउन खोज्दा उनीहरु मानेनन । माइकिङ गरेर हट्न भन्दा पनि उल्दै सुरक्षाकर्मीमाथि धावा बोलियो’, उनले भने, ‘हवाई फायर गर्दा पनि उनीहरुले अटेर गरी घरेलु हतियार, बन्दुक र पेट्रोल बमले प्रहरी कार्यालयमै धावा बोलेपछि आत्मरक्षाका लागि गोली चलाएका हौं ।’

उनले भनेजस्तै प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान सदस्य रहने सुरक्षा समितिको बैठकको निचोड नै मोर्चाबाट टीकापुर घटना दोहोर्या‍उन खोजेको भन्ने थियो ।

मोर्चाले ट्रक र बसमा गाउँ गाउँबाट ल्याएका हजारौंको संख्याका कार्यकर्ताले दुवै प्रहरी कार्यालय र राजमार्गमा खटिएका सुरक्षाकर्मीमाथि सुनियोजितरुपमा धावा बोलेको निचोड जिल्लास्थित सुरक्षाअधिकारीले निकालेका छन् ।

‘सुरक्षाकर्मीबाट दमन गर्ने नियत थिए । हामीले पटक पटक सम्झाउने प्रयास गरेका थियौं’, एसपी ढकाल भन्छन्, ‘आन्दोलकारीले गोली चलाएपछि केही प्रदर्शनकारी क्रस फायरमा मारिएका हुनसक्छन्, तर दमन भएको होइन ।’

मोर्चाले जलाएको ट्राफिक बिट
प्रहरीले आन्दोलनकारीलाई हटाउन शुरुमा अश्रुग्यास हानेको थियो । अश्रुग्यासले केही समय राजमार्गबाट हटेका प्रदर्शनकारीहरुले घरेलु हतियार, बन्दुक र भालासहित राजमार्गका प्रहरी र प्रहरी कार्यालयमा पनि घेरा हालेपछि आत्मरक्षाका लागि गोली चलाएको ढकालको भनाइ छ । उनले आन्दोलनकारीको आक्रमणबाट करिब २५ जना प्रहरीहरु पनि घाइते भएको जानकारी दिए ।

मोर्चाको फरक दाबी
मधेसी मोर्चाले भने सप्तरीको रुपनी र भारदहमा प्रहरीले अन्धाधुन्धा गोली चलाएर तीन प्रदर्शनकारीको ज्यान लिएको दाबी गरेको छ ।

मोर्चाले पूर्वघोषित कार्यक्रम अनुसार हजारौंको संख्यामा कार्यकर्ताहरु शान्तिपूर्णरुपमा राजमार्ग अवरुद्द गर्न रुपनी र भारदह पुगेको दाबी गरेको छ ।

‘शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरी आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै अपशब्दसहित गालीगलौज गरी हामीलाई कुटपिट गर्न थाले’, सद्भावना निकाट विद्यार्थी मञ्चका अध्यक्ष किशोरकुमार केसीले भने, ‘मोदीका सन्तानहरु हो, मधेस लिन्छस भन्दै प्रहरीले गोली बर्साउँदा हताहती भएको हो ।’
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z