मधेसी मोर्चाले पेट्रोल छर्केर युवकलाई जिउँदै जलायो/पीडित युवा भन्छन्–नदीमा हामफालेर ज्यान बचाएँ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पीडित युवा भन्छन्–नदीमा हामफालेर ज्यान बचाएँ
परासी : कालोबजारीका लागि इन्धन ल्याएको विषयमा विवाद हुँदा नवलपरासीको सनई गाविस–९ पडरी गाउँमा मोर्चाका कार्यकर्ताहरुले एक युवालाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् ।

आगो लगाएर जिउँदै मार्ने प्रयास गरेको भन्दै घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक नलप्रसाद उपाध्यायले बताएका छन् ।


पेट्रोल छर्केर आगो लगाइएका यूवक १८ वर्षीय सन्दीप यादव हुन् । आगो लगाएपछि उनी नजिकै रहेको खोलामा कुदेर ज्यान जोगाउन सफल भएका छन् ।

रुपन्देहीको फर्साटिकर घर भइ लामो समयदेखि फुपुको घरमा बस्दै आएका यादवको अहिले पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ ।

आगोबाट उनको दुईवटा खुट्टा जलेको छ । यादवकी फुपु विन्द्रावतीले लामो समयदेखि हकुईको एक ग्रिल उद्योगमा काम सिक्न भतिजा आफ्नो घरमा बस्दै आएका बताइन् । काम गर्न जाने क्रममा उनीमाथि आगो लगाइएको विन्द्रावतीले बताइन् ।

सीमावर्ती नाकाबाट अन्य व्यक्तिले पेट्रोल ल्याइरहेको अवस्थामा मोर्चाका कार्यकर्ताहरुले बरामद गरेपछि विवाद उत्पन्न भएको थियो ।

‘रोक्ने भए सबैको इन्धन रोक होइन भने कसैलाई छाड्ने र सामात्ने नगर’ भन्ने बित्तिकै आठजनाको समूहमा रहेका मोर्चाका कार्यकर्ताहरुले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको अस्पतालको शैयाबाट पीडित यादवले बताए ।

मोर्चाले खोसेको पेट्रोल आफ्नो नभएको उनले बताए । मोटरसाइकल रोकेर विवाद भएको स्थानमा गएका यादवले आफ्नो मोटरसाइकल जलाइएको बताए ।

‘आगो लगाएपछि म आत्तिँदै चिच्चाउन पुगेँ,’ यादवले भने, ‘गाउँलेले नदीमा कुद भनेपछि पानीमा हाम फालेर ज्यान जोगाएँ ।’

घटनामा संलग्न भएको आरोपमा सनई–९ का शिवकुमार यादव, राजेश सैथवार र सनई–८ का सेरु यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उपाध्यायले बताए ।

घटनामा संलग्न अन्य पाँचजनाको खोजी भइरहेको र पक्राउ परेका सबैलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने प्रउ उपाध्यायले जानकारी दिए । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z