तीन दलको प्रस्ताव मोर्चाले अस्वीकार गरेपछि बालुवाटार वार्ता विफल
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : मधेसी मोर्चाका नेता दिल्ली जानुअघि सहमति जुटाउने तीन दलको अन्तिम प्रयास पनि विफल भएको छ ।

शनिबार राति सत्तारुढ  एमाले, एमाओवादी र प्रमुख प्रतिपक्षी कांग्रेसले राखेको सहमतिको तीन बुँदे प्रस्ताव मधेसी मोर्चाले अस्वीकार गरेपछि वार्ता विफल भएको हो ।

तीन महिनादेखि जारी मधेस आन्दोलन टुंग्याउन तीन दलले राखेको तीन बुँदे साझा प्रस्ताव अमान्य भएको बताउँदै मधेसी मोर्चाले आफूहरुद्वारा राखिएको ११ बुँदे प्रस्तावमा छलफल गर्नुपर्ने अडान राखेपछि वार्तामा सहमति नजुटेको हो ।


तीन दलको प्रस्ताव अस्वीकार गर्दै मोर्चाले ११ बुँदे प्रस्तावमा बुँदागतरुपमा छलफल हुनुपर्ने अडान राखेपछि सहमति जुटाउने प्रयास सफल हुन सकेन

‘तीन दलको तीन बुँदे प्रस्तावले हाम्रो माग सम्बोधन गरेन । हामीले राखेका ११ बुँदे प्रस्तावबारे हामीले कुरा उठायौं’, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने, ‘आजको वार्तामा सामान्य छलफलबाहेक खासै केही उपलव्धी भए ।’

मोर्चाका नेताहरु मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवारलाई राहत दिने र घाइतेहरुलाई उपचार गर्ने काममा सरकार अझै उदाशीन भएको जनाउँदै वार्ताको वातावरण नबनेको धारणा राखेका थिए ।

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोर्चाले तीन दलको प्रस्ताव अस्विकार गरेको जानकारी दिए ।

‘मोर्चाले राखेका ११ बुँदे प्रस्तावबारे बैठकमा छलफल भयो’, उपाध्यक्ष श्रेष्ठले भने, ‘मोर्चाका नेताहरुले तीन दलको साझा प्रस्तावले आफ्ना मागहरु सम्बोधन हुन नसकेको भनेपछि वार्ता विनाकुनै सहमति टुंगियो ।’

मोर्चाका शीर्ष नेताहरु दिल्ली जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा त्रिपक्षीय वार्ता बोलाएका थिए ।

मोर्चाका दुई नेता राजेन्द्र महतो र महेन्द्र राय शनिबारै दिल्लीतर्फ लागिसकेका छन् भने उपेन्द्र यादव र महन्थ ठाकुर आइतबार त्यसतर्फ जाँदैछन् । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z