२३ बर्षमा के–के भयो नेपाली फुटबलमा, कुनकुन खेलमा बेचियो देश ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, माघ ९ । ढाकामा नेपाल भाग्यशाली–नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार ढाकामा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बहराइनको यू–२३ टोलीलाई ३–० ले हराउँदै उपाधि हात पारेको हो । सन् १९९३ मा नेपालले ढाकामै छैटौँ दक्षिण एसियाली साफ खेलकुदअन्तर्गत फुटबलमा स्वर्णपदक जितेको थियो ।
नेपालका लागि विमल घर्तीमगर, नवयुग श्रेष्ठ र विशाल राईले एक–एक गोल गरेका थिए । खेलको चौथो मिनेटमै यू–१९ टोलीका कप्तान विमलले नेपाललाई १–० को अग्रता दिलाए । खेलको ८७औँ मिनेटमा विशालले २–० का लागि गोल गरे । अन्तिम इन्जुरी समयमा नवयुगले एक गोल गरी नेपालको ३–० को जित पक्का पारे ।
तेस्रोपटक नेपाल च्याम्पियन–नेपालले आफ्नो फुटबल इतिहासमा उपाधि भित्र्याएको यो तेस्रोपटक हो । सन् १९८७ मा नेपालले पहिलोपटक दक्षिण एसियाली गेमअन्तर्गत फुटबलमा स्वर्णपदक जितेको थियो ।
त्यसवेला रूपकराज शर्माको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । सन् १९९३ मा आयोजित छैटौँ साफमा नेपालले दोस्रो उपाधि हात पारेको थियो । कप्तान राजुकाजी शाक्यको कप्तानीमा रहेको नेपाली टोलीले भारतलाई फाइनलमा ४–३ ले स्तब्ध पारेको थियो ।
सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ साफको फुटबल इभेन्टमा नेपाल फाइनलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । यसपटक कप्तान विराज महर्जनले नेपाललाई तेस्रो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि दिलाए । संयोगले नेपाली प्रशिक्षक बालगोपाल महर्जन र गोलरक्षक प्रशिक्षक उपेन्द्रमान सिंहले २३ वर्षपछि नै बंगलादेशको भूमिमा उपाधिको खडेरी समाप्त पारेका छन् ।
२३ वर्षे दुःखद् इतिहासमा विराम–२३ वर्षयता विश्वकप छनोटमा सातपटक सहभागी नेपालले २३ वर्षमा सातपटक विश्वकप छनोटमा सहभागिता जनायो । र, एकपटक मात्रै सन् २०१० मा दोस्रो चरणसम्म पुग्यो । उत्तरी मारियानालाई दुवै लेगमा हराउँदै दोस्रो चरण पक्का गरेको नेपाल जोर्डनसँग भने १०–१ ले पराजित भयो । त्यसयता पहिलो चरणबाटै बाहिरिँदै आएको छ ।
एएफसी च्यालेन्ज कपमा एकपटक सेमिफाइनलमा–एसियन फुटबल महासंघ (एएफसी)ले फुटबलमा तेस्रो राष्ट्रको स्तर उकास्न सन् २००६ एएफसी च्यालेन्ज कपको अवधारणा ल्याएको थियो । बंगलादेशमा आयोजित पहिलो संस्करणमा नेपाल सेमिफाइनलमा पुग्यो । श्रीलंकासँग टाइब्रेकरमा ५–३ ले पराजित भएयता लगातार चारपटक पहिलो चरणमै सीमित भयो ।
साफमा नौपटक खेल्दा एकपटक पनि फाइनलमा पुगेन–नेपाल दक्षिण एसियाली फुटबल च्यम्पियनसिप (साफ)मा नौपटक सहभागी भयो । तर, एकपटक पनि फाइनलमा पुग्न सकेन । सन् १९९३, २०१० र ०१२ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।
साग गेममा एकपटक उपाधि, एकपटक फाइनलमा– सन् १९९३ को छैटौँ सागमा नेपालले एक मात्र स्वर्ण फुटबलबाटै भित्र्याएको थियो । त्यसयता २३ वर्षमा नेपालले एकपटक मात्र फाइनल खेलेको थियो । सन् १९९९ मा काठमाडौंमा भएको नवौँ साग (तत्कालीन साफ)मा नेपाल फाइनलमा बंगलादेशसँग १–० ले पराजित भयो । अरू सागमा नेपाल पहिलो चरणबाटै बाहिरिएको छ ।
वरीयतामा दुईपटक सार्क क्षेत्रमा नम्बर १–फिफा वरीयतामा अहिले नेपाल १९६औँ स्थान छ । यो नेपाली फुटबलकै अहिलेसम्मकै नराम्रो वरीयता हो । २३ वर्षको अवधिमा नेपाल दुईपटक मात्र दक्षिण एसियाकै नम्बर १ टोली बन्यो ।
सन् १९९३ मा नेपालले वरीयतामा छलाङ मारेको थियो । त्यसवेला नेपाल १२४औँ स्थानमा रहँदा सार्क क्षेत्रकै नम्बर एक टोली बन्यो । सन् २०१२ मा प्रशिक्षक ग्राहम रोबर्टस्ले नेपाललाई १३२औँ स्थानसम्म पुर्‍याएका थिए ।
नेपाललाई ४ अंक, श्रीलंका र बंगलादेशसँग मात्र गणना– प्रतियोगितामा अपराजित नेपालले श्रीलंका र बंगलादेशविरुद्धको खेलबाट मात्र अन्तर्राष्ट्रिय स्तरको अंक पाउनेछ । नेपालले श्रीलंकालाई १–० ले हराएको थियो भने बंगलादेशलाई बराबरीमा रोकेको थियो । नेपालसाग खेलेका ती दुई देशले मात्र राष्ट्रिय स्तरका टोली पठाएका थिए ।
सेमिफाइनलमा माल्दिभ्सको यू–२३ माथि ४–१ र फाइनलमा बहराइन यू–२३ विरुद्ध ३–० को नतिजाका बाबजुद नेपालले वरीयताका लागि अंक पाउनेछैन ।
 फिफाले राष्ट्रिय टोलीविरुद्ध खेलेको खेललाई मात्र मान्यता प्रदान गर्छ । फिफाका अनुसार ९० मिनेटमा जित निकाल्दा ३ अंक र बराबरीमा एक अंक प्राप्त हुन्छ । नेपालले बंगबन्धु गोल्डकपबाट चार अंक मात्र प्राप्त गरेको छ ।
यसअघि त हार्नकै लागि खेल्थ्यो नेपाल–अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशले हार्छ कि जित्छ भनेर दर्शकको मुटु ढुकढुक हुन्थ्यो । तर, अगुवा खेलाडी भने कतै जितिन्छ कि भनेर डराउँथे । किनकि, उनीहरूले हार्नका लागि सम्झौता गरिसकेका हुन्थे । पैसाका लागि देशको स्वाभिमान बेच्ने ती खेलाडीमाथि एएफसीले आजीवन प्रतिबन्ध लगाएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर खेलेको भन्दै सागर थापा, अञ्जन केसी, विकाससिंह क्षेत्री, सन्दीप राई र रितेश थापालाई प्रहरीले गिरफ्तार गरेको थियो । अहिले विशेष अदालतमा मुद्दा चलिरहेको छ । आरोपी धरौटीमा छुटेका छन् ।
कुनकुन खेलमा बेचियो देश ?–
६ वटा अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीका अगुवाले ‘फिक्सिङ’ गरेर अरूलाई जिताएको पुष्टि भएको छ ।
सन् २००८ मा भएको मोरडेका कपमा अफगानिस्तानसँग २–२ को बराबरी खेलेर प्रत्येक खेलाडीले पाँच हजार अमेरिकन डलरका दरले पैसा लिएका थिए ।
त्यस्तै, सन् २०१० मा नयाँदिल्लीमा भएको साफ च्याम्पियनसिपमा तीन हजार ६१ डलर लिएका थिए ।
सन् २०११ को मलेसियासँग भएको मैत्रीपूर्ण खेलमा २–० ले हारेर प्रतिखेलाडीले पाँच हजार डलर लिएका थिए ।
सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेलमा पनि नेपाली टोलीका अगुवाहरूले प्रतिखेलाडी पाँच हजार डलरकै दरले पैसा लिएका थिए । जुन खेलमा पहिले नै तय भएअनुसार नै नेपाल ४–० ले पराजित भएको थियो ।
सन् २०१२ को नेहरू कपमा नेपालले क्यामरुमसँग ४–० गोल अन्तरले हार्नेगरी फिक्सिङ भएकोमा गोलकिपर रितेश थापा परिवर्तन नभएपछि ५–० ले हारेको समेत अनुसन्धानमा खुलेको छ ।
गत वर्ष मात्र दक्षिण कोरियामा भएको एसियन गेमअन्तर्गतको २३ वर्षमुनिको फुटबल प्रतियोगितामा उनीहरूले प्रतिखेलाडी पाँच हजार डलरका दरले पैसा लिएको प्रहरी दाबी छ । नयाँ पत्रिका दैनिकबाट
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z