सद्भावना प्रवक्ता र केन्द्रीय सदस्यमाथि युवा संघद्धारा सांघातिक आक्रमण, खुकुरी र तरबार प्रहार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् केन्द्रीय सदस्य धाडेवा। तस्बिरः भोजराज
रंगेली घटनापछि सद्भावना पार्टीका केन्द्रीय सदस्य दिलीप धाडेवाले बिहीबार साँझ अस्पतालमा गएर घाइते र मृतकलाई हेरे। उक्त घटनापछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विराटनगरमा पनि प्रदर्शन गरिरहेका थिए।
जलजला चोकस्थित घरअगाडि उभिइरहेका थिए । त्यहीबेला एक्कासी प्रहरीसहित केही लावालस्कर गाडी आइरहेको देखे। त्यही लाइनमा युवा संघका नेता पर्शुराम बस्नेत पनि रहेछन् । पर्शुरामले गाडी रोके, झ्याल खोले । एकैछिन गफगाफ भयो । त्यसपछि पर्शुराम झ्याल लगाएर अघि बढे।
‘उनी अघि बढ्नेबित्तिकै ममाथि खुकुरी, दबिया, लाठी के–के हो के–के प्रहार हुन थालिहाल्यो,’ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् धाडेवाले सेतोपाटीसँग भने, ‘आफ्नै घरअगाडि त्यस्तो घटना भयो । यदि म घरनजिक नभएको भए मार्ने थिए ।’
धाडेवासँगै रहेका सद्भावनाका प्रवक्ता सन्तोष मेहतासमेत आक्रमणको शिकारमा परेका थिए । एक्लो रहेका दुबैलाई युवा संघका मोटरसाइकलमा आएकामध्ये ३० जनाजतिले आक्रमण गरेको पीडितले बताए। यो आक्रमण प्रहरीको स्कटिङ मै भएको थियो । अघिल्तिर र पछिल्तिरसमेत प्रहरीले स्कर्टिङ गरिरहेको थियो।
रंगेलीमा भएको घटनाको विरोधस्वरुप विराटनगरमासमेत बन्दको कार्यक्रम सुरू भयो । ठाउँ–ठाउँमा मोर्चाका कार्यकर्ताहरूले बन्द गर्दै हिँडिरहेका थिए । ‘त्यो बन्द गर्ने क्रममा कतिपय कार्यक्रममा हामीसमेत सामेल भएर आएका थियौं,’ प्रवक्ता मेहताले भने, ‘खासमा अस्पतालमा ल्याइएका मृतक र घाइतेलाई हेर्न हामी गोल्डेन अस्पताल र कोसी अस्पतालमा पुगेका थियौं । त्यही क्रममा गफ गरेर फर्कदै थियौं ।’
आफू केही पछाडि रहेको अवस्थामा प्रहरीको पछिल्तिर रहेको गाडीमा रहेका पर्शुराम बस्नेतसँग हाइहेल्लो भएर झ्याल लगाएर हिँडेपछि त्यसपछिका मोटरसाइकलमा आएका कार्यकर्ताहरूले आक्रमण गरेको प्रवक्ता मेहताले बताए । अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धाडेवा र मेहता उपचाररत् छन् । धाडेवालको टाउकोमा १८ टाँका लागेको छ । त्यस्तै बायाँ हात, दायाँ खुट्टाको घुडामा लाठी प्रहार भएको छ । आँखामा गम्भीर चोट लागेको छ । आँखाको भाग नै कालो भएको छ ।

धाडेवाकै शब्दमाः
मलाई गोल्डेन अस्पताल लगिएछ। त्यहाँ उपचार हुन नसक्ने बताएपछि सिधै सिलिगुडीको लागि रेफर भएछ । तर उर्लाबारीमा पुगेपछि सबैलाई बिपी लगिएको छ भन्ने थाहा पाएपछि मलाई पनि यतातिर ल्याइयो। घटना भएको बेला म र प्रवक्ता मेहताबाहेक कोही थिएनौं। पार्टीका अध्यक्ष राजेन्द्र महतोसँगको जोगवनी नाकामासमेत आन्दोलन गरेकाले मलाई प्रहरीले पनि टार्गेट गरेको हुनसक्छ।
तर मेरो चार दिनअघि दिदी बितेकाले कुनै पनि आन्दोलनमा सरिक भएको थिइनँ। रंगेलीमा त्यस्तो भएपछि आफ्ना कार्यकर्ता हेर्नको लागि मात्रै पुगेका थियौं र त्यही क्रममा फर्किदै थियौं । त्यही क्रममा अचानक आक्रमण भएको हो । टाउकोमा १८ वटा टाँका लागेको छ । हात, आँखा र घुँडाम समेत चोट लागेको छ ।
प्रहरीको स्कटिङकै क्रममा युवा संघका कार्यकर्ताले खुकुरी, लठ्ठीलगायत प्रहार गरे । मसँग केही क्षण युवा संघका नेता पर्शुराम बस्नेतसँग हाइहेल्लो भएपछि उनी झ्याल लगाएर अघि बढे। लगत्तै पछाडिबाट मोटरसाइकलमा आएका युवाहरूले आक्रमण गरिहाले ।
घटना यसरी भयोः सन्तोष
रंगेलीमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम राखेको छ भन्ने जानकारी थियो। हाम्रा कार्यकर्ताले पनि विरोधस्वरुप कालो झन्डा देखाउने, शान्तिपूर्ण धर्ना दिने कार्यक्रम थियो । त्यहाँ सकेसम्म जनताको प्रतिनिधित्व गराउने उद्देश्य हाम्रो थियो।
तर शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दोहोरो आन्दोलनको नाममा एकतर्फीबाट प्रहरीले गोली चलाएको विषयमा विराटनगरमा पनि आन्दोलन चलाएका थियौं । त्यसको विरूद्धमा विराटनगरमा पनि आन्दोलन चलिरहेको थियो । हामी पनि जलजला रोडमा गइरहेका थियौं । ठाउँ–ठाउँमा प्रदर्शन गर्ने साथीहरूसँग प्रदर्शनमा सहभागी भइरहेका थियौं ।
प्रहरीलाई थाहा भएको हुनुपर्छ घाइेतहरू गोल्डेन, कोसी अस्पतालमा ल्याइएको छ भनेर। र उनीहरू त्यही बाटो नै  रोजेका थिए होला। उहाँ (धाडेवाल) घर पनि त्यहीँ अगाडि नै हो । पर्शुरामले हात दिनुभयो । उहाँहरूले कुरा पनि गर्नुभयो । दुई जनाबीच के कुरा भयो थाहा भएन । तर कुरा सकिनेबित्तिकै पर्शुराम झ्याल लगाएर अगाडि बढेपछि मोटरसाइकलमा लठ्ठी कट्टी, र खुकुरीले एक्कासि आक्रमण भयो । म केही पछाडि थिए। टोपी लगाएको थिएँ । त्यो कारण मेरो जति चोट लाग्नुपर्ने त्यति लाग्न पाएनँ । तर, रगतपच्छे भइहालेछु । म पनि बेहोस भएँछु।
मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले जलजलाचोकमा घटना भएको तर कसरी घटना गराएको जानकारीमा नआएको बताए । ‘दोहोरो हानाहान भएको भन्ने कुरा आएको छ,’ उनले भने, ‘दुबैतर्फ घाइते हुनुभएको छ भन्ने सुन्नमा आएको छ ।’
धाडेवा र मेहेतामाथि सांघातिक आक्रमणपछि हेर्न पुगेका युवा संघका कार्यकर्ता मनोजसिंह राईलाई मोर्चा कार्यकर्ताले ढुंगा हानेका थिए । टाउकोमा चोट लागेका राईको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
‘धाडेवा र मेहेतामाथि आक्रमण हाम्रोतर्फबाट भएको हैन, वास्तवमा के भएको हो त्यो जानकारी आउला, त्यहाँबाट हामी हिँडिसकेपछि झैझगडा भएको सुनियो,’ युवा संघका मोरङ अध्यक्ष मुकेश बुढाथोकीले भने, ‘मनोजसिंह राई घटना हेर्न जाँदा उहाँमाथि प्रहार भयो भन्ने कुरा आएको छ ।’ 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z