तलब र ज्यालाभन्दा मूल्यवृद्धि तीनगुणा बढी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं: मूल्य वृद्धिदर १२.१ प्रतिशतले बढ्दा तलब र ज्याला जम्मा ४.५ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको मुलुकको वार्षिक आर्थिकस्थिति अनुसार मूल्यवृद्धि १२.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पुस महिनामा यस्तो वृद्धिदर ६.८ प्रतिशतमा थियो।


मूल्यवृद्धि अनुसार तलब तथा ज्यालामा भने वृद्धि नभएको राष्ट्रबैंकको तथ्यांकमा देखिन्छ। तथ्यांक अनुसार सबैभन्दा बढी मूल्य वृद्धि दालजन्य पदार्थमा ४६.९ प्रतिशतले बढेको छ भने घिउ तथा तेलको ३१ प्रतिशतले बढेको छ।

राष्ट्रबैंकका अनुसार पुस मसान्तसम्ममा ज्याला तथा तलब सूचकांक ४.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो सूचकांक ७ प्रतिशतले बढेको थियो। जसमा तलब सूचांक ०.८ प्रतिशत र ज्याला सूचांक ५.४ प्रतिशतले बढेको छ।

जसमा बैंक तथा वित्तीय संस्थाको उपसमूहको तलब २.३ प्रतिशत, शिक्षाको १.५ तथा सार्वजनिक संस्थानको ०.७ प्रतिशतले बढेको छ । ज्याला अन्तर्गत निर्माण मजदुरको ९.३, कृषि मजदुरको ५.६ र औद्योगिक मजदुरको ३.६ प्रतिशतले बढेको छ।

राष्ट्रबैंकको तथ्यांकले निर्माण क्षेत्रमा काम गर्ने मजदुरको ज्याला सबैभन्दा बढीले बढेको देखिन्छ।भारतीय नाकाबन्दीको कारण दोहोरो अंकमा मूल्य वृद्धि पुगेको हो। तर,सबैभन्दा बढी महँगीको मार भने काठमाडौं उपत्यकामा बस्नेले भोग्नु परेको छ।

काठमाडौंमा १३.८ प्रतिशतले, पहाडमा १२.१ प्रतिशतले, तराईमा १०.७ प्रतिशतले र हिमालमा १० प्रतिशतले मूल्य वृद्धि भएको छ।पुस महिनासम्ममा नेपालको निर्यात व्यापार ३१ अर्ब ५९ करोडमा सीमित भएको छ।
पुस महिनासम्ममा नेपालको निर्यात व्यापार ३१ अर्ब ५९ करोडमा सीमित भएको छ।

भारतीय नाकाबन्दीका कारण निर्यात तथा आयात व्यापार घटेको हो । भारत तर्फको निर्यात ३५.९ प्रतिशतले,चीन तर्फको ६१.८ प्रतिशतले र अन्य मुलुकको व्यापार ७.३ प्रतिशतले कमी आएको छ।


यस्तै आयात व्यापार पनि अघिल्लो वर्षको तुलनामा २५.७ प्रतिशतले घटेर दुई खर्ब ७७ अर्बमा सीमित भएको छ। भारतले गरेको नाकाबन्दीको कारण भारतबाट आउने आयात ३३.८ प्रतिशतले, चीनबाट आउने आयात १४.४ प्रतिशतले र अन्य मुलुकबाट आउने आयात ९.९ प्रतिशतले घटेको छ।

भारतले लगाएको नाकाबन्दीले गर्दा नेपालको व्यापार घाटा २५.५ प्रतिशतले घटेर दुई खर्ब ४६ अर्बमा सीमित भएको छ। यद्यपि, नाकाबन्दीको कारण औपचारिक व्यापार घटे पनि त्यो व्यापार अनौपचारिक क्षेत्रमा गएको थियो।

नाकाबन्दीको प्रभाव सेवा व्यापारमा पनि परेको देखिएको छ । पुस मसान्तसम्मा खुद सेवा आय बचत तीन अर्ब दुई करोडमा रहेको छ। अघिल्लो वर्ष यस्तो बचत सात अर्ब ३६ करोड रुपैयाँमा रहेको थियो।

यस्तै विदेशबाट आउने रेमिटेन्स पुस मसान्तसम्मा तीन खर्ब २३ अर्ब रुपैयाँको आएको छ । अघिल्लो वर्षको तुलनामा यसमा १७.३ प्रतिशतले वृद्धि भएको छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z