एसएसपीहरुले अब डीआईजी हुने सपना नदेखे हुन्छ !
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
डीआईजी हुन कमाण्ड तथा स्टाफ तालिम अनिवार्य
लोकतान्त्रिकरण र व्यवसायीकरण नै जीवन्त सँस्थाको मूल मर्म हो । यसको अभावमा कुनै संगठनले आफ्नो उदेश्य हासिल गर्न सक्दैन यो भनाई सशस्त्र प्रहरी बलका कायममुकायम महानिरीक्षक दुर्जकुमार राईको हो ।
सशस्त्र प्रहरी ऐन २०५८ बमोजिम स्थापना भएको सशस्त्र प्रहरी बल आफ्नै गतिमा निरन्तर अगाडि बढिरहेको छ । ऐनमा तोकिएका जिम्मेवारी र जवाफदेहिताको स्पिरिट अनुसार जनताको सेवामा समर्पित सशस्त्र प्रहरी बलले आन्तरिक र बाह्य दुवै पक्षमा सुधारको नीति अख्तियार गरेको छ । यो नीतिलाई कठोरतापूर्वक लागू गर्ने पक्षमा सशस्त्र प्रहरी बलका कायममुकायम महानिरीक्षक दुर्जकुमार रहेका छन् ।
संगठनको आधुनिकीकरण र व्यवसायीकरणका लागि कुनै पनि सम्झौता नगर्ने कठोर नीति अख्तियार गरेका राईले संगठनमा दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्न कुनै कसर बाँकि नराख्ने बताउँछन् । व्यवसायिकता, पारदर्शिता, निष्पक्षता र जवाफदेहिता लोकतन्त्रको दूरदर्शिता र आधार स्तम्भ भएको र सशस्त्र प्रहरी बल लोकतन्त्रको पर्यायवाचीको रुपमा यसको संरक्षण र प्रवर्द्धनको पहरेदार भएकाले एपिएफको शुद्धीकरण, सुदृढिकरण र व्यावसायीकरणनै अहिले आवश्यकता र आफ्नो टास्क भएको राईको भनाइ रहेको छ ।
संगठनलाई मजबुत र प्रभावकारी बनाउनका लागि योग्य र क्षमतावान जनशक्तिको खाँचो हुने भएकाले यसमा निश्चित मापदण्ड बनाएर लागू गर्न लागिएको राईले बताए । यसका लागि ए।पि।एफ। कमाण्ड एण्ड स्टाफ कलेजको अवधारणा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका राईले यसको विकास र विस्तार नै आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै यसले सशस्त्र प्रहरी बलको प्रशासनिक र सांगठनिक ढाँचामा नै व्यापक सुधार आउने दावी गरेका छन् ।
मुलुकको सबैभन्दा कान्छो सुरक्षा निकाय सशस्त्र प्रहरी बल स्थापनाको छोटो समयमानै नयाँ उचाई निर्माण गर्न सफल भएको छ । सशस्त्र प्रहरी पारा मिलिटरी फोर्सको मूल्य र मान्यतालाई आत्मसात गर्दै एकेडेमिक सँस्थामा रुपमा विकास हुँदैछ । यसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर मानविकी संकाय अन्तर्गत मास्टर्स इन सेक्युरिटी, डेभलपमेन्ट एण्ड पिस स्टडिजको अध्ययन, अध्यापन सुरु गरेको छ ।
काठमाडौंको सानो गौचरनमा रहेको एपिएफ कमाण्ड एण्ड स्टाफ कलेजमा एपिएफका अधिकृतहरु अनुशासित भएर विद्यार्थीको रुपमा संगठनलाई व्यावसायिक, मर्यादित र एकेडेमिक बनाउन मेहनतका साथ अध्ययन गरिरहेका छन् । यो अध्ययनले संगठनको उद्देश्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने एकेडेमिक कोर्डिनेटर पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा दावी गर्छन ।

लेखक
एपिएफ कमाण्ड एण्ड स्टाफ कलेजको अवधारणा तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका दुर्जकुमार राई अहिले सशस्त्र प्रहरी बलको प्रमुख बनेका छन् । अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नायब महानिरीक्षक पुष्पराम केसी लगायतका एपिएफ अधिकृतहरु पनि अहिले संगठनको महत्वपूर्ण भूमिकामा रहेका छन् । उनीहरु सशस्त्र प्रहरीको प्रणाली निर्माण, यसको व्यवसायीकरण र संगठनलाई मर्यादित र व्यवस्थित बनाउनका लागि नीति निर्माण गर्ने र संगठन सुधार र व्यवस्थापनमा प्रतिवद्ध अधिकृतको रुपमा परिचित हुँदै आएका छन् ।
इच्छाशक्तिनै मानिसको सबैभन्दा ठूलो हतियार हो । यिनै इच्छाशक्ति भएका व्यक्तिहरुले जुन निकायको नेतृत्व गरे त्यसमा नयाँपन देखाएर नै गए । यिनै सशस्त्र प्रहरी अधिकृत हुन् जसले जुन निकायको नेतृत्व गरे त्यस निकायमा नियम र निर्देशिका बनाएर सुधार गरे । जसले भर्ना छनौट प्रक्रियालाई व्यवस्थित गरे, निष्पक्ष बनाए । संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागी हुन जाने सशस्त्र प्रहरीका सकल दर्जाका कर्मचारीहरुको छनौट प्रक्रियालाई पारदर्शी, निष्पक्ष, व्यवहारिक, सुदृढ र व्यवस्थित गर्नका लागि निर्देशिकाको खाका कोरेर गृह मन्त्रालयबाट स्वीकृत गराएर कार्यान्यवन गर्न सफल भए ।
सशस्त्र प्रहरीको बलको अर्को ऐतिहासिक उपलब्धी हो एपीएफ कमाण्ड एण्ड स्टाफ कलेजको स्थापना । यसको स्थापना गर्नका लागि यिनै उच्च अधिकृतहरुले एक बर्ष कडा मेहनत, अनुसन्धान, अध्ययन र अन्वेषण गरेर एउटा सँस्थालाई विधिवत रुपमा जन्म दिए ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ४८ ९२० को व्यवस्था बमोजिम आधारभूत तालिममा सफल नभएको कुनै पनि सशस्त्र प्रहरी कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेद्वार हुन् तथा व्यावसायिक तालिममा सहभागी हुन् नपाउने स्पष्ट रुपमा उल्लेख गरिएको छ । यसले पनि कमाण्ड एण्ड स्टाफ तालिम लिन अनिवार्य गराएको सशस्त्र प्रहरी नायब महानिरीक्षक पुष्पराम केसीको तर्क छ । संगठनलाई अनुशासित ,व्यवसायिक र समयानुकूल बनाउने उदेश्यका साथ यसैको आधारमा एपीएफ स्टाफ एण्ड कमाण्ड कलेजको स्थापना गरिएको केसीको दावी छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ४२ ९२० सशस्त्र प्रहरी बलको स्थापना भएपछि खुल्ला प्रतियोगिताबाट नियुक्त भई साधारण समूह अन्तरगत साधारण उपसमूहमा रहेका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा कार्यरत कर्मचारीले नियम ४८ उपनियम १ बमोजिमको एपीएफ कमाण्ड तथा स्टाफ तालिम नलिएसम्म सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवाको लागि उम्मेदवार हुन् योग्य हुने छैन भन्ने स्पष्ट व्यवस्था गरेको छ । यसको अर्थ अब सशस्त्र प्रहरी नायब महानिरीक्षक हुनका लागि एपिएफ कमाण्ड एण्ड स्टाफ तालिम सफलतापूर्वक सम्पन्न गर्न अनिवार्य रहेको छ ।
यसले संगठनलाई सशक्तीकरण, सबलीकरण र आधुनिकीकरण गर्ने केसी बताउँछन् । अर्ध सैन्य प्रकृतिको सशस्त्र प्रहरी बलको कतिपय बिशेषता नेपाली सेनासँग मिल्दोजुल्दो किसिमका छन् । भविष्यमा कमाण्ड एण्ड स्टाफ कलेज पास गरेका अधिकृतको नेतृत्वमा सशस्त्र प्रहरी बल पुग्ने निश्चित छ । यसलाई सशस्त्र प्रहरीको नियमावलीले स्वीकारेको मात्र छैन अनिवार्य शर्त समेत बनाएको छ ।
यसले सशस्त्र प्रहरी अधिकृतहरुको व्यक्तित्वको विकास गर्नुका साथै क्षमता अभिबृद्धि, व्यावसायिक दक्षता, विषय बस्तुमा गाम्भीर्यता, नेतृत्व क्षमतामा परिपक्वता, अनुशासित र मर्यादित कार्यशैली र सांगठनिक मूल्य र मान्यतालाई आत्मसात गर्न कमाण्ड एण्ड स्टाफ तालिमले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।
दक्ष जनशक्ति उत्पादन गरेर देश र जनताको सेवामा प्रभावकारी नीति अख्तियार गर्न सक्ने हैसियत प्रदान गर्नु यसको उदेश्य हो । यसको कोर्समा व्यवसायिक दक्षता र सुरक्षा रणनीतिसँग सम्बन्धित विषयहरुको अध्ययन अध्यापन हुने कलेजको प्रशासनिक नेतृत्व गरिरहेका सशस्त्र प्रहरी उपरीक्षक गणेश ठाडा मगर बताउँछन् । उनका अनुसार एपीएफ कमाण्ड एण्ड स्टाफ कलेजमा डाक्टर रामकृष्ण तिमिल्सिना डाक्टर निश्चलनाथ पाण्डे, रमेश कुँवर, दिपक प्रकाश भट्ट, शरदचन्द्र ठाकुर लगायतका प्रबुद्धबर्गको मानिसहरुले एकेडेमिक क्लास लिने गरेका छन् ।
एपिएफ कमाण्ड एण्ड स्टाफ कलेज कोर्स उम्मेदवार छनौट कार्यविधि २०७० अनुसार एपिएफ कमाण्ड एण्ड स्टाफ कलेजमा भर्ना हुनका लागि सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएर दश बर्ष पूरा भएको, कुनै पनि किसिमको विभागीय कारवाहीमा नपरेको, डिएसपी र एसपीहरु मध्ये सिनियर तथा इच्छुक व्यक्ति, कम्पनी कमाण्ड एण्ड स्टाफ कोर्स (सिसिएससी)पूरा गरेको, कम्तिमा स्नातक तह पास गरेको, बिगतमा सबै तालिममा राम्रो नतिजा हासिल गरेको र अनुशासित कार्यशैली भएको व्यक्ति मात्र योग्य हुनेछ ।
डीएसपी मध्येबाट भन्ने सब्दावाली प्रयोग गर्दा एसपीहरुले पनि यस्तो कमाण्ड एण्ड स्टाफ कोर्स लिने अवस्थाबाट बन्चित नहुन भनेर एसपीहरुलाई पनि समावेश गरिएको डीआईजी केसीले बताए । मास्टर्स डिग्रीको समान हैसियत (मान्यता) भएको कोर्स आफ्नै कार्य क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन गर्न पाउनु ठूलो अवसर हो । यसले संगठन निर्माण र सबलीकरणमा ठोस नीति अख्तियार गर्न मद्दत पुग्दछ । यसको मुख्य उदेश्य नै दक्ष र अनुभवी जनशक्ति उत्पादन गर्ने हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मानविकी संकाय अन्तर्गत एपिएफ कमाण्ड एण्ड स्टाफ कलेजमा मास्टर्स इन सेक्युरिटी, डेभलपमेन्ट एण्ड पिस स्टडिज (एमएसडिपिएस) कार्यक्रम अन्तर्गत चार सेमेस्टरमा कोर्स पूरा हुन्छ । यसमा बिसुद्ध शान्ति, नेतृत्व विकास र सुरक्षासँग सम्बन्धित विषयहरु रहेका छन् । जसमा सुरक्षा रणनीति, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, सुरक्षा व्यवस्थापन, राष्ट्रिय सुरक्षा, औधोगिक सुरक्षा, सुरक्षा कानून, द्वन्द्व व्यवस्थापन लगायतका विषयहरुको अध्यापन गराउने गरिएको छ ।
एउटा सेमेस्टर छ महिनाको हुन्छ । जस मध्ये इन्ट्रान्स परीक्षालाई पहिलो सेमेस्टरको अन्तिम परीक्षाको रुपमा लिई त्यसमा सफल उम्मेद्वारहरुलाई मात्र अन्य सेमेस्टरहरुमा सहभागी गराइन्छ । पहिलो सेमेस्टर पास भएन भने उसले यो कोर्स गर्न पाउदैन । अहिले कलेजमा जम्मा १२ जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरु विद्यार्थीको रुपमा अध्यनरत छन् । दोस्रो सेमेस्टरको क्लासहरु पनि नियमित रुपमा संचालनमा आइरहेको छ । यो कमाण्ड एण्ड स्टाफ कलेजको पहिलो व्याज समेत हो । कलेजको एकेडेमिक कक्षालाई फौजी भाषामा सिण्डिकेट रूम भन्ने गरिन्छ ।
अर्ध सैन्य संगठनमा कमाण्ड एण्ड स्टाफ कलेज मार्फत यस्तो कोर्स भारत चीन लगायतका थुप्रै देशले अध्ययन अध्यापन गराइरहेका छन् । यसलाई नेपालको अर्ध सैन्य प्रकृतिको सशस्त्र प्रहरी बलले पनि आत्मसात गरेर प्रयोगमा ल्याउनु गौरवको कुरा हो ।
कमाण्ड एण्ड स्टाफ कलेजमा अन्तर्राष्ट्रिय स्तरको फौजी तालिम पूरा गरेपछि स्टाफ कलेज पास गरेको मानिन्छ । यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिन्छ । जसलाई पिएससी अर्थात् पास अफ स्टाफ कलेज भनिन्छ । अहिले सशस्त्र प्रहरीमा नेपालबाट स्टाफ कलेज पास (पिएससी) गर्ने ११ जना र चीनबाट पिएससी गर्ने ५ जना रहेका छन् ।
पिएससी गर्ने सशस्त्र प्रहरीका उच्च अधिकृतमा डीआईजीहरुमा पुष्पराम केसी, शैलेन्द्र खनाल र नारायणबाबु थापा रहेका छन् । यिनीहरुले नेपाल आर्मीबाट स्टाफ कलेज पास गरेका हुन् । एसपी गणेश ठाडाले चीनबाट पिएससी गरेका हुन् । यस्तै स्टाफ कलेज पास गर्ने डिएसपीहरुमा अन्जनी पोख्रेल, माधव पौडेल, राजेन्द्र खड्का पूर्णचन्द्र भट्ट, पुरुषोतम थापा, दिपक अधिकारी लगायतका रहेका छन् ।
नेपाली सेनामा प्रमुख सेनानी हुन् कमाण्ड एण्ड स्टाफ तालिम गरेको हुनुपर्ने व्यवस्थालाई मध्यनजर राख्दै अर्ध सैन्य संगठन सशस्त्र प्रहरी बलको डीआईजी हुन् पनि कमाण्ड एण्ड स्टाफ तालिम पास गरेको हुनुपर्ने अनिवार्य व्यवस्था गर्न नियमावली मार्फत पिएससी गरेका अधिकृतहरु सफल भएका छन् । यसले सशस्त्र प्रहरी बललाई एकेडेमिक बनाएको छ ।
कमाण्ड एण्ड स्टाफ तालिम नगरेका एसएसपीहरुले अब डीआईजी हुने सपना नदेखे हुन्छ । फौजी जमातको रुपमा परिचित सशस्त्र प्रहरी बल निकट भविष्यमा नै बौद्धिक जमातको रुपमा समेत परिचित हुनेछ । यसले जनस्तरमा राम्रो प्रभाव पार्ने छ । पक्कै पनि यसले सशस्त्र प्रहरी बललाई सिस्टममा लान सहयोग प्रदान गर्ने छ । योग्यता र क्षमताको कदर हुने छ । पारदर्शितालाई आत्मसात गर्न र व्यावसायिकतालाई अंगिकार गर्न कमाण्ड एण्ड स्टाफ कोर्स कोसेढुंगा साबित हुनेछ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z