पतनको पथमा कंग्रेस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी
नयाँदिल्ली, ९ जेठ
दुई वर्षअगाडि सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक हार भोगेको भारतीय कंग्रेसले विधानसभा निर्वाचनमा फेरि नमीठो हार चाखेको छ । भारतका पाँच राज्यमा सम्पन्न विधानसभा निर्वाचनले कांग्रेस निरन्तर पतनको मार्गमा हिँडेको देखाएको छ।
६ राज्यमा खुम्चियो
आसाम र केरलाजस्ता कंग्रेसको बलियो पकड भएका राज्यमा पार्टी बढारिएसँगै भारतमा कंग्रेस सखाप हुने लक्षण देखिएको छ । भारतका २९ राज्यमध्ये कंग्रेसको प्रभाव अब ६ राज्यमा सीमित भएको छ । यीमध्ये केही राज्यमा गठबन्धन घटकका रूपमा मात्र उसको अस्तित्व छ । तमिलनाडुमा कंग्रेसको उपस्थिति केबल साझेधार गठबन्धनका रूपमा देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई ‘कंग्रेस फ्री’ बनाउने उद्घोष गरेका छन् । तर, मोदीलाई गलत साबित गर्न कंग्रेसले थोरै मिहिनेत पनि गर्न सकेन । बिहीबारको विधानसभा निर्वाचन परिणामले यस्तै संकेत गरेको छ ।
निर्णयशक्तिको अभाव
सन् २००४ र २००९ को लोकसभा निर्वाचनमा लगातार विजय हासिल गरेपछि सुधारको गतिमा हिँडेको कंग्ेरेस अहिले भने पतनको बाटोमा छ । आखिर कंग्रेस किन ओरालो गतिमा लागिरहेको छ ? कंग्रेसलाई कसले कमजोर बनाउँदै छ ? कंग्रेस कार्यकर्ताले यी प्रश्नको जवाफ खोजिरहेका छन् । भ्रष्टाचार काण्डमा पार्टी मुछिनु र नेतृत्वमा निर्णयशक्तिको अभाव हुनुले कंग्रेस कमजोर भएको विश्लेषण हुन थालेको छ । ‘कंग्रेसको शृंखलाबद्ध पतनका कारणमध्ये नेतृत्वमा निर्णयशक्तिको कमी पनि एक हो,’ राजनीतिक विश्लेषक योगेन्द्र यादव भन्छन्, ‘कंग्रेस अब एउटा राष्ट्रिय पार्टीभन्दा पनि सानो हुँदै छ ।’
ठूलो धक्का
गान्धी वंशमाथि अन्ध समर्थन र निर्भरताले पनि कंग्रेस अधोगतिमा धकेलिएको केहीको टिप्पणी छ । परिवारवादको दलदलमा कंग्रेस फसेको छ । यस दलदलबाट उम्कन उसले ठूलै मिहिनेत गर्नुपर्ने देखिन्छ । निर्णय क्षमताको अभाव, सामन्तवादी राजनीतिक संस्कारको निरन्तरता, पार्टीभित्रै बढ्दो चाप्लुसीले पार्टीप्रति कार्यकर्ताकै वितृष्णा बढेको बताइन्छ । यसबाहेक प्रजातान्त्रिक संस्कारको अभावमा पनि पार्टीले धेरै मूल्य चुकाएको छ ।
जोस नभएको पार्टी
‘कंग्रेस पार्टीे गान्धी परिवारबाट अलग हुन पनि सक्दैन न त मिलेर नै बस्न सक्छ,’ थिंक ट्यांक प्रतापभानु मेहता भन्छन् । कंग्रेसमा भ्रष्टाचारको दाग लागेको उनी बताउँछन् र भन्छन्, ‘भ्रष्टाचार काण्डले पार्टीलाई शिथिल बनाएको छ ।’
एउटा जीवन्त इतिहास बोकेको पार्टी सजिलै पतन हुँदैन । तर, परिवर्तित भारतको बढ्दो महत्त्वाकांक्षालाई सम्बोधन गर्न र भाजपाको आक्रामक तथा उत्तेजक राजनीतिलाई सन्तुलनमा ल्याउन पार्टीले नयाँ आशा दिन सक्नुपर्ने मेहता बताउँछन् । भारतको एउटा हिस्सा भाजपाको विभाजनकारी राजनीतिबाट आक्रान्त भएकाले पनि धेरैले भाजपाको विकल्प खोजिरहेका छन् । पार्टीलाई नयाँ ढंगले हाँक्नुपर्ने र यसका लागि आवश्यक परे नयाँ नेतृत्व र सांगठनिक सुधारका लागि तयार हुनुपर्ने केही विश्लेषकको भनाइ छ ।
खरानीबाट उठ्नेछ कंग्रेस
पार्टीका नेता शशी थरुर अझै पनि कंग्रेस सबैभन्दा बढी विश्वसनीय राष्ट्रिय विकल्प भएको बताउँछन् । ‘पार्टी खरानीबाट उठ्नेछ,’ थरुर भन्छन् । कमजोरीका बाबजुद कंग्रेसको बहुलवादी चरित्र पार्टीको अनौठो विशेषता भएको राजनीतिक विश्लेषक हसन बताउँछन् । ‘यसका सम्पूर्ण गल्तीका बीच पार्टीले गैरसंकीर्ण विचारको प्रतिनिधित्व गर्छ ।’
पार्टीलाई पुन: ब्युँताउन अझै पनि ढिला भइसकेको छैन । राजनीतिक रूपमा महत्त्व राख्ने राज्यमा हुने निर्वाचनमा विजयी भएर पार्टीलाई पुन: जीवित गर्ने अवसर छन् । मोदीको गृहराज्य तथा भाजपाको लालकिल्ला गुजरातमा अर्को वर्ष निर्वाचन हुँदै छ । भाजपाभित्र गहिरो असन्तोषका बीच कंग्रेसलाई शक्तिमा आउने महत्त्वपूर्ण अवसर हुन सक्छ ।
पहुँच छैन राहुलको
केही महिनाअगाडि पार्टी उपाध्यक्ष राहुल गान्धीले पार्टीलाई गति दिन गरेका केही कार्य निश्चय नै सराहनीय थिए । तर, ती केवल क्षणिक रहे । गत वर्ष करिब दुई महिना राहुल गुपचुप रहे । पार्टीलाई पुनर्जीवन दिन उनी नवीन विचारसहित फर्किने कार्यकर्ताले अपेक्षा गरेका थिए । तर, राहुलले कार्यकर्ताको भावना बुझेनन् ।
राहुललाई पार्टीभित्रै शक्तिहीन र पहुँच नभएका नेताको आरोप लाग्ने गरेको छ । पार्टीका केही नेता र कार्यकर्ता आफ्नी वृद्ध आमा तथा पार्टी अध्यक्ष सोनिया गान्धीको उत्तराधिकारी बनी कंग्रेसलाई ब्युँताएको देख्न चाहन्छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z