चीन नेपाल हुँदै रेल सञ्जाल भारत लान इच्छुक
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौँ: चीनले नेपालतर्फ विस्तार हुने छिङ्हाई—तिब्बत रेलसञ्जाललाई भारतसम्म लैजान आफू ब्यग्र रहेको जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र ओलीबीच छिङ्हाई—तिब्बत रेलसञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने बिषयमा छलफल भएको चिनियाँ एक विज्ञलाई उदृत गर्दै भारतीय दैनिक हिन्दुले समाचारमा उल्लेख गरेको छ ।


‘चिनियाँ र नेपाली प्रधानमन्त्रीबीच भएको छलफललाई आधार मान्ने हो भने चीन, नेपाल र भारतबीच रेलसञ्जाल जोडिनुपर्छ' चीनको इन्स्टिच्युट अफ हिस्ट्री स्टडिजका निर्देशक चाङ् युनले भारतीय पत्रकारसँग बेइजिङ्मा भएको भेटमा भनेका छन् ।

उनले छिङ्हाई तिब्बत रेललाई नेपाल—चीन रेल सीमासम्म विस्तार गर्ने काम सक्दो चाँडै सम्पन्न गर्न चीन लागिपरेको बताएका छन् । ‘चिनियाँ रेल नेपालतर्फ जोडिनुपर्छ भन्नेमा नेपालभित्र ब्यापक समर्थन छ ।

भारतमा पनि एउटा तप्का नेपाल हुंदै रेलमार्ग विस्तार भए द्विपक्षीय संबन्ध सुदृढ हुन्छ भन्ने विश्वास राख्छ । तर फेरी भारतभित्रै अर्को तप्का नेपाल आउने चिनियाँ रेल विस्तार भए भारतलाई घाटा हुने देख्छ ।'

निर्देशक चाङ् चिनियाँ सरकारलाई स्वशाषित क्षेत्र तिब्बतको मामिलामा सल्लाह दिने एक अनुसन्धान कार्यदलमा सदस्य रहेको हिन्दूले समाचारमा जनाएको छ । चीन, नेपाल र भारतबीच रेल विस्तार भए तिनै मुलुकले फाइदा लिने उनले बताए ।
चीनलाई सार्कको सदस्य बनाउनुपर्छ
विज्ञहरु कुटनीतिक मामिलाका जानकारहरुले चीन विश्को महाशक्ति बन्ने दिशामा अघि बढेकाले चीनको प्रगतिबाट लाभ लिन चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य बनाउनुपर्ने बताएका छन् ।

 ‘चीन र भारतका उच्च राजनीतिक नेतृत्वबीच एसिया क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण सहकार्य आवश्यक छ । यदी त्यसो भएको खण्डमा एक्काइसौँ सताब्दिमा एसियाले विश्वको नेतृत्व गर्न सक्छ' चीनको सिन्ह्वा न्यूज एजेन्सिले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा जापानका लागि पूर्व नेपाली राजदूत डा. बिष्णु हरि नेपालले भने ।

चीनले रेल, सडक तथा समुन्द्री मार्गबाट एसिया, युरोप र अफ्रिकासँग आर्थिक संबन्ध सुदृढ गर्न अघि बढाएको ‘वान बेल्ट वान रोड' रणनीतिमा सार्क सदस्य मुलुकहरुले सक्रियतापूर्वक सहभागि भए त्यसबाट एसिया क्षेत्रको समृद्दि र शान्तिमा महत्वपूर्ण सहयोग मिल्ने बताए ।

‘भारतले वान बेल्ट वान रोड रणनीतिप्रति सकारात्मक धारणा बनाउन आवश्यक छ । यदी भारत यसमा सकारात्मक हुन सक्यो भने सार्क देशहरुबीच रेल तथा सडक एवम् समुन्द्री कनेक्टिभिटी बढाएर आर्थिक विकास तथा राजनीतिक स्थायित्व हासिन गर्न सहज हुनेछ' उनले भने ।

कार्यक्रममा नेपाल—चीन संबन्धका जानकार तथा दि राइजिङ् नेपालका सम्पादक युवनाथ लम्सालले चीनले अघि बढाएको ‘वान रोड वान बेल्ट' रणनीति एसियाका लागि मात्रै नभएर विश्वकै पूर्वाधार विकासमा कोसेढुंगा रहेको बताए ।

‘यो विश्वको आर्थिक तथा पूर्वाधार विकासका लागि चीनले ल्याएको नयाँ मार्सल प्लान हो भन्न सकिन्छ । यसबाट नेपालजस्ता मुलुकले पर्याप्त लाभ लिन सक्छन्' उनले भने । हालसम्म सार्कको पर्यवेक्षक राष्ट्र मात्रै रहेको चीनलाई सदस्यका रुमा ल्याउन भारत सहित अन्य सार्क मुलुकले सोच्ने बेला आएको बताए । ‘सार्कमा चीनको उपस्थितीले यसलाई थप मजबुत पार्नेछ । त्यसतर्फ सार्क सदस्य देशहरु सहमत हुनुपर्छ' लम्सालले भने ।

कुटनीतिक मामिलाका जानकार प्राध्यापक श्रीधर गौतमले उत्तरी छिमेकी चीनले छिमेकी मुलुकहरु संगको सबन्धलाई प्राथमिकता दिएको बताए । ‘चीनले अघि बढाएको ‘वान रोड वान बेल्ट' अवधारणालाई चीनको रणनीति स्वार्थ पुरा गर्ने मुद्दाका रुपमा नहेरी एसिया र विश्वका बाँकी मुलुकले पारस्पारिक लाभ हुने बिषयमा रुपमा हेर्नुपर्छ' उनले भने ।

गौतमले छिमेकमा गरिबी र पछौटेपनि जारी रहेर विकास प्रक्रिया अबरुद्द भए आफ्नो पनि विकास हुन नसक्ने चीनको धारणा रहेको बताए । पूर्वराजदूत सुन्दरनाथ भट्टराईले ‘वान रोड वान बेल्ट' रणनीतिमा नेपालको ‘पोजिसन' के छ भनी प्रश्न गरे ।

‘वान रोड वान बेल्ट' रणनीती एसियाको मात्रै नभएर विश्वकै लागि नयाँ आयाम हो । अब त्यो रणनीति अघि बढाउन चीनले प्रस्तुत गरेको नक्सामा हामी कहाँ छौँ ? हामीले आफ्नो पोजिसन कहाँनेर के बनाउँदा यो रणनीतिबाट फाइदा हुन्छ भन्नेमा ध्यान दिनुपर्छ' उनले भने ।

कार्यक्रममा पूर्वराजदूत हिरन्यलाल श्रेष्ठले सार्क र चीनबीचको सहकार्य एसियाका लागि महत्वपूर्ण हुने बताए । उनले आर्थिक संगसंगै सांस्कृतिक क्षेत्रमा पनि दक्षिण एसीया र सार्कबीच महत्वपूर्ण सहकार्य हुनुपर्ने बताए ।

सो अवसरमा चीनको छोङ्सिङ् नर्मल युनिभर्सिटीका एसोसिएट प्रोफेसर हाउ वानचुनले नेपाल, चीन र भारतबीच आर्थिक तथा सांस्कृतिक मुद्दामा त्रिपक्षिय सहकार्य आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा चीन, भुटान, श्रीलंका र नेपालका परराष्ट्र मामिला जानकार सहभागि भए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z