चीनको स्वार्थ एउटा मात्र छ, भारतका थुप्रै छन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अन्तर्वार्ता
चीनको सेफोमा जन्मेर ९ वर्षको उमेरमा अमेरिका पुगेकी जुलिया चाङ ब्लक अमेरिकी इतिहासमै पहिलो ‘एसियाली मूलकी’ अमेरिकी महिला राजदूत हुन्।
सन् १९८९ देखि १९९२ सम्म नेपालका लागि अमेरिकी राजदूतका रुपमा कार्यरत जुलिया चाङ २०४६ सालको प्रजातान्त्रिक आन्दोलनकी अमेरिकी साक्षी मानिन्छिन्। तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज एच डब्लु बुसले ९ जना राजदूत नियुक्ति गर्दा ६ जना महिला छानेका थिए। जसमध्ये जुलिया चाङलाई नेपाल पठाइएको थियो।
संसारभर ‘कम्युनिजम ढल्दै र प्रजातन्त्र उदाउँदै’ गरेका बेला दुई ठूला र महत्वपूर्ण मुलुकबीचको नेपालमा एसियाली मूलकी अमेरिकी महिलालाई राजदूतका रुपमा नियुक्तिलार्इ अर्थपूर्ण रुपमा हेरिएको थियो।
नेपालमा प्रजातन्त्रको उदय भएको झन्डै तीन दशक पुग्न लागेको छ। २०४६ सालको प्रजातन्त्रिक आन्दोलनकी एक मात्र अमेरिकी साक्षी मानिएकी जुलिया चाङ ब्लक नेपालको विकास, विवाद र राजनीतिबारे अहिले पनि निरन्तर ‘अपडेट’ राख्छिन्। र,  नेपालले चाहेजस्तो विकास गर्न नसकेकोमा चिन्ता व्यक्त गर्छिन्। ‘नेपालमा प्रजातन्त्र उदय भएको तीन दशक पुग्नै लाग्दा पनि जनताले चाहेजस्तो र राज्यले योजना बनाएजस्तो विकासमा फडको मार्न सकेको छैन,' जुलिया भन्छिन्।
वासिङ्टन डिसीस्थित अमेरिका-चीन एजुकेसन ट्रस्टको कार्यालयमा जुलिया चाङसँग सेतोपाटीका लागि ज्योति देवकोटा र डा. निर्मल पहाडीले गरेको विस्तृत कुराकानी।

नेपालका लागि पहिलो एसियाली मूलकी अमेरिकी महिला राजदूतका रुपमा भएको तपार्इंको नियुक्तिलाई कसरी सम्झनु हुन्छ?
पहिलो एसियाली मूलकी अमेरिकी महिलाका रुपमा मात्र मेरो नियुक्तिलाई सम्झिन चाहन्नँ। किनकि म अमेरिकी नै हुँ। रह्यो महिलाको विषय, मलाई महिला भएका कारण कमजोर हुन सक्छन् भन्ने पनि कहिल्यै लाग्दैन। महिला भएकै कारण एकैचोटि राजदूत बनाएको होइन। पिस कोर्पदेखि अन्य धेरै क्षेत्रमा म सक्रिय भएरै लागिरहेकी थिएँ। तत्कालीन राष्ट्रपति जर्ज एच डब्लु बुसको कार्यकालमा मलाई नेपालका लागि राजदूतमा नियुक्त गरिएपछि म नेपाल लागेँ। त्यो बेला प्रजातान्त्रिक आन्दोलनको लहर चलेको थियो नेपालमा। राजनीतिक परिवर्तनको साक्षी भएका कारण सम्झनलायक घटना धेरै छन्। मेरो पहिलो ‘डिप्लोम्याटिक’ करिअर नेपालबाटै सुरु भयो। सालिन मान्छे र सुन्दर मुलुकका नेपाललाई सम्झन्छु। नेपाल संसारमै राम्रो मुलुकमध्ये एक हो।
तर, दुर्भाग्य, सुन्दर हिमालजस्तै ठूलो मन भएका नेपालीसँग ‘ट्रयाजिडी’ हरु धेरै छन् र ती दोहोरिरहेका छन्। सन् १९९६ देखि २०१६ सम्मलाई मात्र सम्झने हो भने पनि धेरै ‘ट्रयाजिडी’ आँखा अगाडि घुम्छन्। दरबार हत्यकाण्डपछि भएको राजनीतिक परिवर्तन, माओवादी समस्याको उल्झन, भूकम्प, नाकाबन्दी। यी ‘ट्रयाजिडी’हरुले दु:खी बनाउँछ।

२०४६ सालमा प्रजातन्त्रको पक्षमा उठेको आन्दोलनलाई कसरी सम्झनु हुन्छ?
ओहो..‍ त्यो आन्दोलनको समय, म कसरी बिर्सन सक्छु? आन्दोलनको आसपासमा म नेपाल पुगेँ। नेपाल नपुगुन्जेल डर थियो। सन् १९६० देखि १९९० को दशकसम्म संसारमा भएका परिवर्तन र विकासका बारेमा नेपाल जानकारीविहीन थियो। पञ्चायतकालले नेपाललाई ‘थर्ड वल्ड’बाट टाढा राखेको थियो। जसरी नेपालका बारेमा अन्य मुलुकलाई चासो र जानकारी थिएन,  त्यसैगरी अन्य मुलुकका बारेमा नेपाललाई पनि खासै चासो र जानकारी थिएन।
बर्लिनको पर्खाल ढलेपछि राजनीतिक चेतनाको स्तरले पनि जताततै गति लिएको देखिन्थ्यो। ९० को दशकपछि मान्छेमा राजनीतिक चेतना बढ्दै थियो। सन् १९९० को फेब्रुअरी महिनाजस्तो लाग्छ,  नेपाली कांग्रेसले सहयोगी पार्टीसँग मिलेर संयुक्त आन्दोलन गर्ने निर्णय गर्यो। एक महिनाभित्र २ लाख मान्छे जम्मा गरेर काठमाडौंमा मार्चपास गराउने अभियानले नेपालको राजनीतिले पखेटा लगाउन खोजेको आभास हुन्थ्यो। राजनीति तातेको थियो।
त्यति छोटो समयमा आन्दोलनले निकास पाउला र राजा वीरेन्द्रले नेपाल प्रजातान्त्रिक मुलुक भएको घोषणा गर्लान् भन्ने कसैले सोचेकै थिएन। आन्दोलन घोषणा भएको करिब २ महिनाभित्रै अप्रिल महिनामा हो जस्तो लाग्छ, नेपाल प्रजातान्त्रिक मुलुक घोषणा भएको।

पञ्चायतको अन्त्य र प्रजातन्त्रको उदयका बेला तपाईं साक्षीका रुपमा नेपालमा हुनुहुन्थ्यो। शक्तिशाली मुलुकको राजदूत भएका नाताले यो ऐतिहासिक परिवर्तन सफल पार्न तपार्इंको सक्रिय भूमिका थियो भन्न मिल्छ कि, मिल्दैन?
मेरो व्यक्तिगत भूमिकाले कुनै अर्थ राख्दैन। तर,  संसारको शक्तिशाली मुलुकको उपस्थितिले पक्कै अर्थ राख्छ। त्यसैले राजदूतका हैसियतले मेरो भूमिका कतै थिएन भन्न सक्दिनँ।
संसारभर तानाशाहहरु ढल्दै गरेको र प्रजातन्त्र उदाउँदै गरेको जुग थियो त्यो। शक्तिशाली मुलुकको राजदूतका हैसियतले म नेपालमा थिएँ त्यो बेला। नेपालले विकासमा नयाँ फड्को मारोस् र नेपाललाई सुहाउँदो र नेपालीले चाहेको संविधान बनोस् भन्ने इच्छा अमेरिकीको पनि थियो। अमेरिकाले चाहेको त्यो परिवर्तनको म संवाहक थिए। ‘नेपालको विकास’ बाहेक नेपालमा अमेरिकाको कुनै अर्को ‘डिजाइन’ थिएन। इमान्दार ‘ब्रोकर’का रुपमा अमेरिकाले प्रजातन्त्रका पक्षमा आफ्नो भूमिका निभाएको थियो त्यो बेला।
फरेन कमिटीका ‘हाउस चेयर’ कंग्रेसम्यान स्टिभ सोलार नेपाल पुगेपछि गिरिजाप्रसाद कोइराला र गणेशमान सिहसँग मैले भेट गराएकी थिएँ। ‘अब आन्दोलन सफल पार्ने’ भन्ने कुराले हामी सबैलाई उत्साहित बनाएको थियो। तर,  त्यति छिट्टै प्रजातन्त्र घोषणा होला भन्ने कसैले सोचेका थिएनन्। आन्दोलन सफल भयो र राजा वीरेन्द्रले देशमा प्रजातान्त्र आएको घोषणा गरे। त्यसपछिका वर्ष नेपालले के प्राप्त गर्यो भन्ने पनि महत्वपूर्ण हो अहिले। नेपालले अहिलेको भन्दा राम्रो विकास ‘डिजर्भ’ गर्छ भन्ने लाग्छ मलाई।

नेपालका दुर्इवटा शक्तिशाली छिमेकी मुलुक भारत र चीनको उपस्थिति र भूमिका नेपालमा कस्तो पाउनुभयो?
पृथ्वीनारायण शाहले भनेकै छन्- ‘नेपाल दुर्इ ढुंगाबीचको तरूल हो।’
दुर्इ ढुंगाबीचको तरुल नै हो नेपाल। शक्तिशाली मुलुकका स्वार्थ त हुन्छन् नै। तर, चीनको एउटा मात्र स्वार्थ छ। भारतका धेरै स्वार्थ छन्। म नेपाल पुग्दा भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। भारतीय उपस्थिति र भूमिका नेपालमा कस्तो छ भन्ने कुरा थाहा पाउन मलाई नेपालमाथि त्यसबेला लगाइएको नाकाबन्दीले सजिलो बनाइदियो।
मलाई लाग्छ, नेपाल एउटा स्वतन्त्र मुलुक भए पनि भारतको उपस्थिति र भूमिका धेरै छ। सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक क्षेत्रमा भारतकै प्रभाव बढी भएपछि उपस्थिति र भूमिका पनि सोहीअनुसार हुने नै भयो। तर, राज्यका महत्वपूर्ण अंग र राजनीतिक नेतृत्वले भारतकै उपस्थिति र हस्तक्षेप सहजै स्वीकार्दा भारतले पनि आफ्नो भूमिका बढाउँदै लगेको हो कि भन्ने लाग्छ। राज्य र राष्ट्रियताप्रति राजनीतिक नेतृत्व बढी जिम्मेवार हुने हो भने भारतीय हस्तक्षेपको समस्या विस्तारै सल्टिँदै जान्छ। अहिले पनि भारतकै भूमिका र उपस्थिति बढी देखिएको हो भने राजनीतिक नेतृत्व राज्यप्रति इमान्दार नभएको मान्नुपर्छ।
नेपालको आफ्नो उत्पादन छैन। भारतमाथि आश्रित छ। भारतीय मानसिकता नेपाल भारतमाथि आश्रित भइरहोस् भन्ने नै हो। भारतीय पक्षमा फाइदा हुने विकासबाहेक अन्य क्षेत्रमा भारतले विकास होस् भन्ने चाहँदैन। यो अहिले मात्र देखिएको समस्या होइन।
चीनको उपस्थित र भूमिका भारतको भन्दा फरक छ।  चीनको प्राइमरी ‘इन्ट्रेस्ट’ नेपाल ‘बफर’ जोन रहिरहोस् भन्ने हो। चीनलाई नेपालको सामाजिक, आर्थिक विकासँग खासै लेनादेना छैन। चीनले भारतले जस्तै ‘नेपालमा विकास नहोस्’ भन्ने चाहँदैन। चीनको एउटै मात्र मुद्दा तिब्बत र तिब्बतिहरु मात्र हो। नेपालको हिमाली क्षेत्र हुँदै नेपाल आउने तिब्बतिहरु नै चाइनाका मुख्य एजेन्डा हुन्।

नेपालमा अमेरिकाको उपस्थिति कस्तो हो? बाहिर सुनिए झैं, अमेरिकाले नेपाललाई भारतीय आँखाबाटै हेर्ने हो?
नेपाल स्वतन्त्र मुलुक हो। जबसम्म नेपालको अर्को छेउमा चीन रहिरहन्छ तबसम्म नेपाल स्वतन्त्र नै रहन्छ। संसारका सबै स्वतन्त्र मुलुकमा अमेरिकाको उपस्थिति र भूमिका जस्तो छ, नेपालमा पनि त्यस्तै हो। मैले त्यस्तै भूमिका निर्वाह गरेर फर्किएँ। नेपालको विकास, समृद्धि अमेरिकाको एउटै एजेन्डा थियो र अहिले पनि त्यही छ। नेपालमा अमेरिकाको उपस्थितिले सार्थकता त्यतिखेर पाउँछ जब नेपाल सफल र विकसित मुलुक बन्छ।
नेपाललाई अमेरिकाले भारतीय आँखाबाट हेर्ने कुरा मैले पनि सुनेकी छु। के नेपाल स्वतन्त्र मुलुक होइन र? नेपाल एउटा स्वतन्त्र मुलुक हो। अमेरिकाले जसरी संसारका अन्य स्वतन्त्र मुलुकलाई व्यवहार गर्छ नेपाललाई पनि त्यसैगरी व्यवहार गर्ने हो। दूतावासमार्फत अमेरिकाको प्रत्यक्ष उपस्थिति नै नेपालमा छ भने फेरि नेपाललाई भारतीय आँखामार्फत किन हेर्नुपर्यो? सन् १९५९ मा नेपालमा अमेरिकी दूतावास स्थापित भयो। यति लामो कूटनीतिक सम्बन्ध भएको मुलुक (अमेरिका) ले भारतको आँखाबाट हेर्छ भन्ने कुराले माने राख्दैन।

गत वर्ष नेपालको जननिर्वाचित संविधानसभाले नयाँ संविधान जारी गरेको छ, यसलाई नेपालको राजनीतिक सफलतासँग जोड्न मिल्छ?
नेपालको यो पहिलो संविधान होइन। म नेपाल हुँदाताका, जनआन्दोलनपछि संविधान आएको थियो। पछिल्लोपटक नेपालको पहिलो सविधानसभाले संविधान जारी गरेको मैले पत्रिकामा पढ्ने मौका पाएँ। तर, विस्तृत रूपमा बुझेकी छैन। केही समूह खुसी छैन भन्ने सुनेकी छु। तरार्इका बासिन्दालाई समेटिएको छैन भन्ने सुनेकी छु। तर संविधान राज्यका लागि जरुरी थियो। संविधान जारी हुनु महत्वपूर्ण सफलता हो। संविधानविना राज्य कसरी अगाडि बढ्न सक्छ? तर, सबैलाई मिलाएर लैजान सकियो भने मात्र संविधानको विशेषता अझ झल्किन्छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z