प्रमुख नाकामा खटियो नेपाली सेना, एक्कासी किन बढायो निगरानी ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, ४ साउन । विश्वका कतिपय शक्तिशाली राष्ट्रसमेत आतंकवादी आक्रमणको निसानामा परेपछि नेपाल प्रवेश गर्ने प्रमुख नाकामा नेपाली सेनाको ‘एन्टी टेरोरिस्ट युनिट’ ले निगरानी थालेको छ ।
नेपाली सेनाले आतंककारीले विमान अपहरण गरिहालेमा कसरी यात्रुलाई सुरक्षित अवतरण गराउन सकिन्छ भन्नेमा समेत विमानस्थल परिसरमा सैन्य अभ्यास गर्न लागेको स्रोतले बतायो ।
टर्कीको इस्तानबुल विमानस्थल र पछिल्लोपटक बंगलादेशमा भएको आतंकवादी सञ्जाल आईएसको आक्रमणपछि नेपाल प्रवेश गर्ने एकमात्र हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो । त्यसका लागि सेनाले नेपाल प्रहरीको विशेष ब्युरोको सहयोग लिएको छ ।
त्रिभुवन विमानस्थलको बाहिरी भाग (पेरिमिटर) को सुरक्षा गर्दै आएको सेनाले कतिपय ठूला मुलुकमा आतंकवादीले विमानस्थललाई निसाना बनाउन थालेपछि विमानस्थलको भित्री सुरक्षामा चासो राखेको स्रोतले बतायो । गृह मन्त्रालयले विमानस्थलको सुरक्षालाई ध्यान दिँदै नेपाल प्रहरीको ‘स्पेसल टास्क फोर्सु समेत परिचालन गरेको छ । यसका लागि सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीसँग समन्वय गरिएको गृह मन्त्रालय उच्च स्रोतले बतायो ।
छिमेकी मुलुक भारत र अमेरिकाले समेत त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएपछि गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाको समन्वयमा नेपाली सेनाको ‘एन्टी टेरोरिस्ट युनिट’ले विमानस्थललगायतका संवेदनशील नाकामा निगरानी बढाएको हो ।
सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले सम्भावित सुरक्षा खतराप्रति नेपाली सेना सजग रहेको बताए । ‘सम्भावित थ्रेटको सामना गर्न नेपाली सेना तयारी अवस्थामा छ, अन्य सुरक्षा निकायको समन्वयमा काम भइरहेको छु, कार्कीले भने, ‘जनशक्ति र प्राविधिक रूपले समेत सेनासहित अन्य नेपाली सुरक्षा निकाय सक्षम छन् ।
नेपाली सेनाको एन्टी टेरोरिस्ट युनिट र प्रहरीको विशेष ब्युरोले संयुक्त रूपमा विमानस्थल र नेपाल प्रवेश गर्ने मुख्य नाकामा काम गरिरहेका छन् । विमानस्थलमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
नेपालस्थित अमेरिकी दूतावासका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलको सुरक्षाबारे जिज्ञासा राखेपछि ओली स्वयं केही साताअघि सुरक्षा अवस्था बुझ्न विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीले समेत विमानस्थलको सुरक्षा अवस्था चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
दूतावासका अधिकारीले तत्कालीन गृहमन्त्री शक्ति बस्नेत र अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेसँग भेटेर अध्यागमन र विमानस्थलको सुरक्षामाथि गम्भीर चासो राखेका थिए । विभागले समेत अहिले विदेशी यात्रुको नेपाल भ्रमणमाथि निगरानी थालेको छ । अध्यागमन डेस्कका अधिकारीहरूले विदेशीहरूले नेपाल भ्रमणबारे स्पष्ट पारेपछि मात्र आगमन अनुमति दिन थालेका छन् ।
गृह मन्त्रालयले केही दिनअघि सुरक्षा अधिकारीहरूसँगको बैठकमा नेपालमा आतंकवादीको सम्भावित थ्रेट र सुरक्षा निकायको तयारीबारे छलफल गरेको थियो । छलफलमा सुरक्षा निकायले आआफ्नो रिपोर्टिङ गरेका थिए । बैठकपछि गृह मन्त्रालयले आतंकवादीको सम्भावित नेपाल प्रवेश रोक्न विशेष सुरक्षा योजना अवलम्बन गर्न निर्देशन दिएको थियो ।
गृह प्रवक्ता यादवप्रसाद कोइरालाले बंगलादेशमा भएको आक्रमणपछि आतंकवादीको सम्भावित नेपाल प्रवेशमा रोक लगाउन सबै प्रकारका सुरक्षा रणनीति अवलम्बन गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताए । कोइरालाले भने, ‘विशेष गरी अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकामा सुरक्षा कडा पारिएको छ ।
अन्नपूर्ण पोष्टमा समाचार छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z