ईपीजी बैठकमा उठ्यो सीमामा तारबार र भिसा प्रणालीको कुरा, भारतले के भन्यो ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, २० असार । राजधानीमा सोमबारदेखि जारी नेपाल र भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पहिलो बैठकमा दुई देशबीच भिसा प्रणाली लागु गर्ने विषय उठेको छ ।भारतीय हस्तक्षेप र बेला बेला भारतीय सुरक्षाकर्मीको सीमा मिच्ने समस्याका कारण आम नेपालीले धेरै पहिलेदेखि नेपाल–भारत सीमामा तारबार गरी भिसा प्रणाली लागु गर्न माग गर्दै आएका थिए ।
अहिले आएर भारतले नै यो विषय उठाएको बुझिएको छ । काठमाडौंको होटल अन्नपूर्णमा जारी बैठकमा भारतले खुला सिमानाका कारण सुरक्षा खतरा बढेको भन्दै सीमा बन्द गरी भिसा प्रणालीको प्रस्ताव गरेको सहभागी एक नेताले बताए ।
अमेरिकाले समेत नेपाल आतंकवादीको क्रिडास्थल बन्न सक्ने चेतावनी दिइसकेका बेला भारतले खुला सीमा बन्दको प्रस्ताव अघि सारेको हो । यद्यपी खुला सीमा बन्द गराउने विषयमा नेपालले पहिला नै सार्कस्तरीय बैठकमा छलफल गराएको थियो, तर यसपटक भने भारतीय पक्ष आफै भिसा प्रणाली लागु गर्न इच्छुक देखिएको स्रोतको दाबी छ ।

नेपाल–भारत प्रबुद्ध समूहको बैठकमा दुई देशका अधिकारीहरु ।
यसविषयमा दुबै देशका विज्ञहरुले ठोस निष्कर्ष निकालेर खुला सीमा बन्द गर्नका लागि आ-आफ्ना देशको सरकारलाई सुझाव दिइने बुझिएको छ ।
नेपाल र भारतबीचका सबै खाले सन्धि र सम्झौता पुनरावलोकन गरी सुझाव दिन बनेको प्रबुद्ध समूहको बैठकमा सीमा बिवाद हल गर्नेदेखि लिएर आर्थिक साझेदारीसम्मको छलफल भएको छ । अति नै विवादित लिपुलेकको बारेमा समेत चर्चा भएको स्रोतले बतायो ।
प्रबुद्ध समूहमा को–को छन् ?
विज्ञहरुको प्रबुद्ध समूहमा भारतबाट भाजपा नेता भगतसिंह कोसियारीको संयोजकत्वमा प्रा. महेन्द्र पी. लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद छन् । यसैगरी नेपालबाट भेषबहादुर थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र राजन भट्टराई रहेका छन् ।

###


0 comments
Write Down Your Responses