जेलमा मोदी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
इटहरी : 'आज हँसाउन कलाकार मनोज गजुरेल आउँदैछन्', झुम्काका कैदीबन्दीहरूलाई बुधबार यसरी नै जानकारी दिइयो। बिहान ९ बजे उनी आउने जानकारी दिइएको थियो। तर ११ बजे मनोज गजुरेल होइन, नरेन्द्र मोदी पो देखा परे।


कार्यक्रम उद्घोषकले जोडदार आवाजमा भने,'अब आउँदै हुनुहुन्छ भारतीय प्रधानमन्त्री मनोजेन्द्र मोदी।' सानदारसँगले मोदीको भेषमा मनोज देखा पर्दा कार्यक्रमस्थल ताली र सुसेलीले गुञ्जयमान बन्यो। सञ्चालकको निम्तो पाएर मक्ख देखिएका हास्य कलाकार गजुरेल मोदी भेषमा मञ्चको अगाडि अभिवादन गर्दै देखिएका मात्र के थिए दर्शक अचम्मित हुँदै पेट मिचिमिची हाँस्न थाले।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा देखिएका मनोज गजुरेललाई देख्नेबित्तिकै कारागारको सुरक्षामा खटिएका प्रहरी समेत पेट मिचिमिची हाँस्न थाले। 'होइन हौ साँच्चिकै नरेन्द्र मोदीजस्तै पो देखिए त मनोज गजुरेल' कारागारका प्रहरी राजेन्द्र पराजुलीले हाँस्दै भने,'एकछिन त मलगायत प्रहरीहरू झस्याङ्गै भयौं।'

प्रहरीलाई समेत चकित पार्दै मञ्चमा देखिएका गजुरेलले सुरुमा कैदीबन्दीलाई सम्बोधन गरे। एक स्थानीय सञ्चारकर्मीसहित मञ्चमा देखिएका गजुरेललाई ती सञ्चारकर्मीले सार्क शिखर सम्मेलनका बेला जनकपुर र लुम्बिनी भ्रमण रद्द गरेको कारण सोधेका थिए।

सञ्चारकर्मीको जिज्ञासामा मनोजले हिन्दीमा हाँसिहाँसी चिप्ला कुरा गरेर जवाफ फर्काउँदा हाँसोले कार्यक्रमस्थल गुञ्जयमान भएको थियो। आफ्नो प्रस्तुतिमा गजुरेलले संविधान नबन्नुमा ६०१ सभासद् दोषी रहेको र भाषामा विवाद भएको टिप्पणी गरे।

दुई घन्टा लामो प्रस्तुति पस्केका गजुरेलले बेलाबेलामा गीत गएका थिए भने एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईको समेत क्यारिकेचर गर्न भ्याएका थिए।

पछिल्लो समयमा ओशोको ध्यान र योगसँग जोडिएका कलाकार गजुरेलले झुम्का कारागारका कैदीबन्दी र प्रहरी प्रशासनलाई हास्यव्यंग्यमार्फत सकारात्मक सोचको सन्देश दिएका थिए।

कार्यक्रममा गायिका मिलन अमात्य, प्रश्ना शाक्य र अमित खड्काले पनि जोडदार गीत प्रस्तुत गरी कैदीबन्दीहरूलाई मनोरञ्जन दिएका थिए। 'मनोजजीलाई मोदीको भेषमा देख्दा साह्रै रमाइलो भयो', झुम्का कारागारका चौकीदार तारा नेपालले भने।

उनले कारागारको आन्तरिक जेल प्रशासनले कैदीबन्दीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको बताए। 
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z