कतारमा नेपाली लाशको थुप्रोः एक दिनको अन्तरमा अर्को मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
कतारमा विश्कप फुटवल आयोजना गर्नका लागि त्यहाँ कार्यरत नेपाली कामदारको मृत्यु बारे अर्को अन्तराष्ट्रिय पत्रिकाले पनि डरलाग्दो रिपोर्ट प्रकाशित गरेको छ । अमेरिकाको चर्चित टाइम पत्रिकाले बेलायती गार्डियन पत्रिकाको रिपोर्टलाई उद्धृत गर्दै अहिले कतारमा फुटवल आयोजनाका लागि संरचना निर्माणमा कार्यरत नेपाली कामदार मध्ये एक दिनको अन्तरमा एक नेपालीको मृत्यु भैरहेको रिपोर्ट प्रकाशित गरेको हो ।

टाइमले आफ्नो खेलकुद पृष्ठमा नेपाली कामदारको तस्विर सहित गार्डियनको रिपोर्टमा आधारित मुख्य समाचार प्रकाशित गरेको छ । टाइमले लेखेको छः 'कतार सरकारले कार्य वातावरण सुधार्ने बाचा गरेपनि ‘विश्व कप फुटबल २०२२’ को भौतिक पूर्वाधर निर्माणमा संलग्न नेपाली कामदारको सन् २०१४ मा एक दिनको अन्तरमा निधन हुने गरेको भेटिएको छ' ।

केही समय अघि मात्र इन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेसनले प्रकाशित गरेको विस्तृत अध्ययन प्रतिवेदनमा सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल आयोजनाका लागि संरचना निर्माण गर्दा ४ हजार आप्रबासी कामदारको मृत्यु भैसक्ने भविष्यवाणी गरेको थियो ।

यस अघि बेलायतको पत्रिका गार्डियनले पनि आप्रवासी कामदारको अवस्था बारेमा श्रृखलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि कतार सरकारले त्यसक्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाएको थियो । कतार सरकारले अनुसन्धानमा नियुक्त गरेको अन्तर्राष्ट्रिय ल फर्म डिएलए पिपरले मेमा प्रकाशित सो प्रतिवेदनको आधारमा सुधार गर्ने प्रतिवद्धता जनाएको थियो ।

अन्तर्राष्ट्रियरुपमा जतिसुकै आलोचना भएपनि कतारमा कामदारको काम गर्ने अवस्थामा कुनै सुधार नगरिएको बताइन्छ । हालकै काम गर्ने अवस्थामा काम गर्दा कम्तिमा पनि ४ हजार आप्रबासी कामदार मरिसक्ने उक्त प्रतिवेदनको अनुमान छ ।

नेपाल वैदेशिक रोजगारी प्रवर्द्धन बोर्डका अनुसार यस वर्षको जनवरीदेखि मध्य नोभेम्बरसम्म १ सय ५७ जना निधन भएको छ । उनीहरु मध्ये ६७ जनाको हार्ट अट्याक अर्थात हृदयघात र मुटु सम्बन्धी कारण र ३४ जनाको कार्यक्षेत्रमा भएको दुर्घटनामा निधन भएको छ । यो संख्या सन् २०१३ मा त्यसै अवधीमा १ सय ६८ थियो ।

‘लामो समयसम्म उच्च तापक्रममा काम गर्दा त्यसले गम्भीर प्रकारको समस्याको जोखिम हुन्छ । यो संख्या एकदमै चिन्ताजनक छ,’ ह्युमन राइट वाचका मध्यपूर्व क्षेत्र अनुसन्धानकर्ता निकोलस म्याकगिसानको भनाइ टाइमले उद्धृत गरेको छ ।

उनले ‘कार्य वातावरण र बसोबास सम्बन्धी समस्याको कारण मृत्यु भएको हो की होइन भन्ने अनुसन्धान गर्ने जिम्मा कतारको हो, तर कतारले डिएलए पिपरको मृत्युको कारण बारेमा तत्काल अनुसन्धान शुरु गर्न गरेको सिफारिसलाई कार्यान्वयन गर्न ठाडै अश्विकार गरेको छ' समेत भनेका छन् ।

गत १८ डिसेम्बरमा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर प्रवासी श्रमीकको पक्षमा आवाज उठाँउदै आएको संस्था विडब्लु आइले दैनिक नेपालमा दुईचार वटा लास भित्रिने गरेको बताउँदै यसवारेमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिएको थियो ।

 कतारमा अहिले १४ लाख विदेशी कामदार छन् । त्यस मध्ये आधा भारत र नेपालका छन् भने उनीहरु मध्ये अधिकाँश अहिले विश्वकप फुटबलका लागि संरचना बनाउनमा खटिएका छन् ।
कतारले विवादित छनौट प्रक्रियाबाट सन् २०१० मा २०२२ को विश्वकप फुटबल आयोजना गर्ने सम्झौता हात पारेको थियो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z