प्रेम सम्बन्ध विफल भएपछि को–पाइलटले विमान दुर्घटना गराएको खुलासा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र १३ । प्रेम सम्बन्ध विफल भएपछि निराश बनेका को–पाइलटले जर्मन विंग्सको विमान दुर्घटना गराएको खुलेको छ ।

२८ वर्षीय एन्ड्रियाज लुबिट्स व्यक्तिगत सम्बन्ध बिग्रिएपछि तनावमा रहेको तथ्य फेला परेको ‘डेलिमेल’ले जनाएको छ ।

यसअघि फ्रान्सेली अधिकारीहरुले पनि को पाइलटले नै जानीजानी विमान दुर्घटना गराएको दाबी गरेका थिए । दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’को अनुसन्धानबाट फ्रेन्च अधिकारीहरु यस्तो निश्कर्षमा पुगेका हुन् ।

लुबिट्सले विमान नष्ट गर्न चाहेको देखिएको फ्रान्सका अधिकारीहरुको दाबी थियो । ब्ल्याक बक्सको रेकर्ड भएको डाटाबाट ककपीटबाट बाहिर निस्केका पाइलटलाई को–पाइलटले पुनः ककपीटमा छिर्न नदिइ भित्रबाट ढोका बन्द गरेर आफूले एउटा बटन थिचेको र त्यसलगत्तै विमान दुर्घटनामा परेको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

'एभिएसन डाटा फलो' गर्ने वेबसाइटका अनुसार ३८ हजार फिटमा सेट गरेर 'अटोपाइलट'मा छाडिएको विमानलाई नियतवश एक सय फिटको उचाईमा ‘रिप्रोग्रामिङ’ गरेर छाडेको पाइएको छ ।

लुफ्थान्साका सीइओले सुनियोजित ढंगले विमान दुर्घटना गराएको घटनाबाट आफूहरु अवाक् भएको प्रतिक्रिया दिएका छन् । घटनाको छानबिनका लागि फ्रेन्च अधिकारीहरुले अमेरिकी संघीय जाँच ब्यूरोसँग सहायतासमेत मागेका छन् ।

सहचालक लुबिट्सको कतै आतंकवादसँग संलग्नता छ की भन्ने खोजी गरिएपनि त्यस्तो पुष्टि हुने तथ्य भने अहिलेसम्म नभेटिएको अधिकारीहरुले बताएका छन् ।

स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसलडर्फका लागि १ सय ५० यात्रु लिएर उडेको एयरबस ‘ए ३२०’ विमान फ्रान्सको दक्षिणी पर्वत एल्प्समा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी चालक दलका ६ सदस्य र १ सय ४४ यात्रु गरी १ सय ५० जनाको मृत्यु भएको थियो । (एजेन्सी)
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z