हिन्दू धर्म विरोधीलाई ठेगान लगाउँछौ : कमल थापा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
इटहरी : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू धर्मविरुद्ध लाग्नेहरुलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

पश्चिमा मुलुकहरुको दवावमा सनातन हिन्दूधर्मको विरोध भैरहेको बताउँदै अध्यक्ष थापाले प्रायोजितरुपमा हिन्दू धर्मविरुद्ध केही समूह लागेकाले उनीहरुलाई आफूहरुले तह लाउने बताएका हुन् ।

राप्रपा नेपालले हिन्दूराष्ट्र घोषण गर्नुपर्ने माग गर्दै बुधवारदेखि झापाबाट थालेको मेची–महाकाली रथयात्रालाई बिहीबार सुनसरीको इटहरी, इनरुवा र लौकहीमा सम्बोधन गर्दै अध्यक्ष थापाले ९४ प्रतिशत बढी जनाता हिन्दू धर्म मान्ने भएकाले हिन्दूराष्ट्र सहितको संविधान जारी गर्नुपर्ने बताए ।

‘हिन्दू धर्मविरुद्ध लाग्नेहरुलाई हामी ठेगान लगाएर छाड्छौं’, अध्यक्ष थापाले भने, ‘पश्चिमा मुलुकहरुले पैसाको खोलो बगाएर केही नेपालीलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाइरहेका छन् । यस्तो कामले देशकै बद्नाम भएको छ । यो आपत्तिजनक कार्य तत्काल रोकिनुपर्छ ।’

अध्यक्ष थापाले माघ ८ भित्र हिन्दूराष्ट्र सहितको संविधान आउने पनि उल्लेख गरे । ठूला भनिएका दलहरुले सत्ताको लोभमा समयमै संविधान निर्माणमा अवरोध गरेको पनि थापाले बताए ।

‘९४ प्रतिशत हिन्दु धर्मालम्बी भएको मुलुकमा धर्मनिरपेक्षता कुनै हालतमा हुन सक्दैन’, उनले भने, ‘हिन्दूराष्ट्र बनाउने या धर्म निरपेक्षता बनाउने भन्ने विषयमा जनमत सग्रहमा जानुपर्छ ।’

रथयात्रामा राप्रपा नेपालका सह–अध्यक्ष केशरबहादुर विष्ट, पार्टीको संसदीय दलका उपनेता रामकुमार सुब्बा, केन्द्रीय सदस्यहरु सुरेश आचार्य र विराज विष्ट लगायतका नेताहरुको उपस्थिति थियो ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z