'अब प्रहरीमाथि पनि कारबाही'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- चालक लापरबाहीले सवारी दुर्घटना अचाक्लीसँग बढेपछि सरकारले प्रहरीमार्फत यातायात निगरानी कडा पार्ने निर्णय गर्यो-। जसअनुसार तीव्र गतिमा सवारी चलाइने राजमार्ग र अन्य सडकका सवारी निगरानी बढाउन प्रहरीले मातहत निकायलाई निर्देशन पनि दियो। नियन्त्रण प्रयास थालिए पनि प्रभावकारी हुन नसक्दा दुर्घटना झन्झन् बढिरहेका छन्।


पछिल्लो सुर्खेत दुर्घटना त्यसैको परिणाम थियो।
सुर्खेतमा १८ जनाको ज्यान जाने गरी भिरबाट खसेको बसमा क्षमताभन्दा दोब्बर यात्रु रहेको देख्दादेख्दै आँखा चिम्लने प्रहरीलाई पनि 'दुर्घटनाका दोषी' मान्दै कारबाही गरिने प्रहरी प्रवक्ता माधव जोशीले बताए।
'सुर्खेतको बस दुर्घटना भार धान्न नसकेर भएको भन्ने आइरहेको छ,' उनले सोमबार नागरिकसँग भने, 'घटनाको यथार्थ विवरण बुझ्न केन्द्रबाट टोली गइसकेकाले दोषी देखिएका सबैलाई कारबाही गर्छाैं।'
कालिकोटको जितेगडाबाट बढी यात्रु राखेर बस गुडिरहँदा पनि उक्त सडकमा पर्ने चौकीका प्रहरीले किन गाडी रोकेर कारबाही नगरेको भन्ने विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए। 'छानबिन टोलीले दिएको प्रतिवेदनका आधारमा ती क्षेत्रका प्रहरी कर्मचारीलाई निलम्बन वा विभागीय कारबाही हुनेछ,' उनले भने।
दसैंयता दुर्घटना दर बढ्दै गएको र दुर्घटनाका कारण क्षमताभन्दा बढी यात्रु बोक्नु तथा तीव्र गति रहेको पाइएपछि सरकारले सवारी निगरानी गर्न र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको थियो। सरकारकै निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले देशभरका कार्यालयलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाही गर्न परिपत्र गरेको थियो।
दसैंयता हालसम्म देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ३ सयभन्दा बढीको ज्यान गइसकेको छ।
बढ्दो दुर्घटना कम गर्न देशभरका प्रहरी कार्यालयलाई क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीमाथि निगरानी राखेर दोषी देखिएका सबैलाई कारबाही अघि बढाउन कात्तिक महिनामै भनिएको थियो। त्यसयता भएका सवारी दुर्घटनाको प्रकृति हेर्दा धेरैजसोमा भार क्षमता बढी हुनु नै मुख्य कारण पाइएको छ। 'केन्द्रबाट बढी यात्रु बोक्ने सवारीलाई कारबाही गर्नू' भन्ने आदेश हुँदा पनि पालना नगर्नेलाई कारबाही गर्न लागेको प्रवक्ता जोशीको भनाइ छ।
ओभरलोडका कारण हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले राजमार्गदेखि भित्री सडकमा समेत अनुगमन र जाँच तीव्र पारेको छ। बस छुट्ने ठाउँदेखि नै प्रहरी जाँच सुरु हुने जोशीले जनाए। 'बीचबीचमा यात्रु चढाउने र प्रहरी कार्यालय नजिक आएपछि ओराल्ने अवस्था नआओस् भनेर प्रहरीको मोबाइल टोलीसमेत ठाउँठाउँमा खटाइएको छ,' उनले भने।
मुख्य राजमार्गमा बढी यात्रु र सामान राख्ने समस्या कम भए पनि पहाडी तथा भित्री सडकमा यस्ता समस्या धेरै पाइएको छ। 'प्रहरीको उपस्थिति नभएका क्षेत्र र भित्री स्थानमा बढी यात्रु कोच्ने गरिएको छ,' उनले भने, 'कतिपय स्थानमा स्थानीयले नै व्यवसायीलाई सहयोग गरिरहेकाले बढी यात्रु राखेको अवस्था छ।' दुर्गम तथा ग्रामीण भेगमा अन्य विकल्प नभएका कारण पनि यात्रुहरू जोखिम मोलेर छतमा चढ्ने अवस्था रहेको उनले बताए।
सरकारले सार्वजनिक सवारीमा छतभरि यात्रु राखेर चलाउँदा दुर्घटना बढेको भन्दै छत क्यारियर निकाल्ने अभियानसमेत सुरु गरेको थियो। व्यवसायीको विरोधका कारण उक्त अभियान केही समयका लागि रोकिएको छ। यसले छतमा यात्रु राख्ने क्रम जस्ताका त्यस्तै छ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z