ग्यास नपाइए १०० मा टेलिफोन गर्नुहोस्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

ग्यास हुँदा पनि लुकाएर नदिने, महँगोमा भए बेच्ने, सिलिन्डरसहितमात्रै भए बेच्नेलगायतका कालोबजारी गर्ने व्यापारीमाथि कडा कारबाही गर्ने चेतावनी प्रमुख जिल्ला अधिकारी अर्यालले दिए।


रिपोटर्स् क्लब नेपालद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले त्यसका लागि प्रहरी परिचालित गर्ने जनाए। 'यसका लागि प्रहरी परिचालन गर्ने अधिकार कानुनत: मलाई छ', अर्यालले भने, 'यही अधिकारको प्रयोग गरी प्रहरी परिचालन गरी कारबाही थाल्छु।'

प्रमुख जिल्ला अधिकारी अर्यालले कहीँ कतै कालोबजारी भएको देखिए प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरे। 'नभए एक सयमा टेलिफोन गर्नुस्, हामी तुरुन्त ठाउँमा पुगेर कारबाही गर्छौं, प्रमुख जिल्ला अधिकारी अर्यालले थपे,'ग्यासमा भइरहेको कृत्रिम अभाव समाप्त पारी हामी सबैलाई ग्यास उपलब्ध गराउन प्रयास गर्नेछौं।'

वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले काठमाडौंमा उपत्यकामा सूचना पाएको दुई घन्टाभित्र अनुगमन टोली पुगेर कारबाही गर्ने प्रतिबद्वता जनाए। उनले भने, 'उपत्यकाको हकमा कालोबजारी भएको जानकारी आएको दुई घन्टाभित्र पुगेर कारबाही गर्न हामी प्रतिबद्ध छौं। हामी रातको समयमा पनि पुगेर कालोबजारीमाथि कारबाही गर्न तत्पर छौं।'

कार्यक्रममा ग्यास अभावको कारक तत्त्व सरकार, नेपाल आयल निगम, अनुगमनकारी निकायको भएको भन्दै उनीहरू एकअर्कामाथि दोष पन्छाउँदै पन्छिएका दिएका थिए।

उपभोक्तावादी संस्थाका पदाधिकारीले अभावको दोषी अनुगमनकारी संस्था भएको, अनुगमनकारी संस्थाले आयल निगम भएको र आयल निगमले सबैको दोष रहेको जनाएको थियो।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले वाणिज्य विभागले तदारुकताकासाथ अनुगमन नगरिदिँदा कालोबजारी भएको र यही कारण अभाव भएको दाबी गरे। वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्बासेले नेपाल आयल निगम लिमिटेडले आवश्यक मात्रामा ग्यास ल्याउन नसक्दा अभाव भएको भन्दै आयल निगमलाई दोषी देखाए।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले ग्यास अभाव भएको हल्लाले आवश्यकताभन्दा बढी ग्यास उपभोक्ताले राख्दा अभाव भएको स्पष्टीकरण दिए। साथै अबको एक दुई दिनभित्र अभाव सामान्य हुने भएकाले आवश्यकताभन्दा बढी ग्यास नलिन उपभोक्तासँग उनले अनुरोध गरे।

बजारमा झन्डै एक महिनादेखि ग्यास अभाव छ। ग्यास अभाव भए पनि बढी पैसा तिर्नेले सजिलैसँग ग्यास पाइरहेका छन्।

बजारमा ग्यासको मूल्य अहिले प्रतिसिलिन्डर एक हजार चार सय ७० छ। तर योभन्दा बढी पैसा तिर्न चाहे बजारमा ग्यास भेटिन्छन्। साथै सिलिन्डरसहित ग्यास खरिद गर्न चाहनेले पनि सजिलैसँग बजारमा ग्यास पाइरहेका छन्।

साथै यही मौका छोपेर कम तौलका ग्यास पनि बजारमा पाइन्छन्। वाणिज्य विभागले दैनिक गर्ने अनुगमनका क्रममा बजारमा कम तौलका ग्यास भेटिने गरेको जनाउँदै आएको छ।

ग्यासको प्रमुख भण्डारण बैरनी डिपो क्षेत्र सफाइमा रहेकोले भण्डारणको अभावमा समस्या देखिएको आयल निगमले जनाउँदै आएको छ। तर डिसेम्बर २५ देखि उक्त क्षेत्रमा सफाइको काम सम्पन्न भई आवश्यकताभन्दा बढी ग्यास पूर्ति गरिरहेको निगमले जनाएको छ।

यसो हुँदा केही दिनमै अभाव नहुने निमगको दाबी छ। अहिले दैनिक आवश्यकताभन्दा बढी ग्यासको पूर्ति भइरहेको निगमले जनाएको छ। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z