'पढेलेखेका डाक्टर भनेर के गर्नु, बाबुरामले नै संविधान ल्याउन दिएनन्'
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
विराटनगर : सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले एमाओवादीले चुनावमा हारेको तथ्य स्वीकार गर्नुको सट्टा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराइले संविधानमा व्यक्तिगत हठ लाद्न खोज्दा सबै प्रक्रिया अवरुद्ध हुन पुगेको आरोप लगाएका छन्।

रिजालले भने,‘जनताले जनमत नै दिएका छैनन् तर मनमा लागेको कुरा लाद्‍न दुबै नेता जर्बजस्ती गर्दैछन्।’जनमत र जनाधार गुमाएको सत्य स्वीकार नगरी जंगली प्रवृत्ति देखाएकै कारण माघ ८ मा संविधान नआएको दाबी गर्दै रिजालले भने,‘पढेलेखेका, सबैभन्दा धेरै जान्ने र डाक्टर भनेर के गर्नु तिनै बाबुरामले संवाद समितिले भदौमा पूरा गर्नुपर्ने काम पुससम्म गर्न दिएनन्।


'प्रचण्ड पनि आफ्नो मनमा लागेको कुरा संविधानमा आउनु पर्छ भन्ने अडानमा छन्।बाबुरामको सट्टा संवाद समितिमा अरु भएको भए संविधान आउने थियो,’रिजालले भने।

नेपाल महिला संघ मोरङ जिल्ला समितिको पद हस्तान्तरण कार्यक्रममा विराटनगरमा बुधबार बोल्दै मन्त्री रिजालले बाबुराम भट्टराई पढेलेखेको धेरै जान्ने डाक्टर भएपनि जनताको पक्षमा काम गर्ने नेता नभएको आरोप लगाए । उनले भने,‘समितिमा बसेर समय बिताउने र निहुँ खोज्नेबाहेक भट्टराईले अरु केही पनि गर्न सकेनन्।’

एमाओवादीसँग एकतिहाई बहुमत पनि नभएकोले संविधान निर्माण प्रक्रिया रोक्न नसक्ने बताउँदै रिजालले प्रक्रियाबाटै संविधान आउने बताए। तर, प्रक्रियामा गएपनि माओवादीका सबै एजेन्डा नभएर मिल्नसक्ने विषयलाई भने ल्याउन सकिने बताए।

रिजालले भने,‘प्रक्रियामा आउनु होस । तपाइँलाई मन परेका संविधानका धारामा तपाइँहरु मत हाल्नुहोस । हामीलाई मन परेकामा हामी हाल्छौं। तर जनतालाई संविधान दिने र गणतन्त्र संस्थागत गर्ने काममा अवरोध नगर्नुहोस ।’ संविधान रोक्ने ताकत जनताबाहेक अरु कोहीसँग नभएको पनि मन्त्री रिजालले बताए।जनताले दिएको म्याण्डेडलाई पूरा गराउन अब प्रक्रियामा गएरै संविधान लेखिने पनि रिजालले स्पष्ट गरे।

सभासद डिकबहादुर लिम्बूले संविधान आएमात्र गणतन्त्र संस्थागत हुने बताए। कार्यक्रममा बोल्दै नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष डिला संग्रौलाले राजनीतिक निकास र गणतन्त्र संस्थागत गर्नका लागि पनि संविधान चाहिएको बताए। 
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z