हिउँमा पुरिएका दम्पत्तीको पाँच दिनपछि जीवितै उद्धार
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
गोरखा : गत हप्ताको हिमपातपछि हिमपहिरोले गुम्बामा पुरिएका दम्पत्तीको चार दिनपछि जीवितै  उद्धार गरिएको छ ।

छेकम्पार–९ निलेको धेरन गुम्बा कुर्न बसेका स्थानीय छिरिङ दोर्जे र छिरिङ याम्जोङ लामाको हिउँले पुरिएको गुम्बाबाट जीवितै उद्धार गरिएको छुलेनिले प्राविका शिक्षक कर्मा छेङ्दो लामाले जानकारी

दिए ।

‘गुम्बाका आनीहरु काठमाडौं गएका छन् । उनीहरु दुई जनालाई गुम्बा कुरुवा राखिएको थियो’ उनले टेलिफोनमा भने ‘गुम्बा हिउँपहिरोमा पुरियो । पाँच दिनपछि पति पत्नीलाई जिउँदै निकाल्न सकियो ।’

गुम्बाको भान्साचाहिँ हिमपहिरोमा क्षति भएको छ । उनीहरु अर्को साइडमा बसेकाले जीवितै रहेका हुन्  उनीहरुको भनाइ उद्धृत गर्दै उनले बताए ।

हिमपहिरोले क्षतिग्रस्त नीले लघु जलविद्युत आयोजना मर्मत नहुँदा निले गाउँका बासिन्दा विद्युत उपभोग गर्नबाट बञ्चित छन् ।

हिमहिरोले पावर हाउस पुरिएपछि तथा १५ वटा भन्दा धेरै विद्युतको पोल ढलेर गाउँ विद्युतविहीन भएको शिक्षक लामाले बताए ।

उनका अनुसार हिमपातपछि हराएका ५० भन्दा धेरै याक, चौंरी र झोंपाहरु अझै भेटिएका छैनन् । पाँचवटा मृत भेटिएको उनले बताए ।

हिमपात र हिमपहिरोका कारण गाउँको जनजीवन कष्टकर भए पनि राज्यले बेवास्ता गरेको उनले गुनासो गरे । ‘हाम्रो समस्या राज्यले सुनेन’ अर्का स्थानीय निमा लामाले भने ‘दैवी प्रकोपमा परेका अरु ठाउँका लाई राज्यले राहत दिन्छ । तर हाम्रो हिमाली भेगलाई वास्ता गरेन । हिमपात भएको एकहप्ता भन्दा बढि भइसक्यो । अहिलेसम्म मुचुल्का गर्न पनि कोही आएको छैन ।’
 
प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सेनाले घटनाबारे जानकारी नभएको बताए । ‘हिमपातको घटना जान्ने प्रयास गरिरहेका छौं’, उनले भने ‘तर यो घटना हाम्रो जानकारीमा आएन ।’मनास्लु क्षेत्रमा ४० वर्षयताकै बाक्लो साँढे पाँच फिट हिउँ परेको स्थानीयले बताए ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z